• १३ मंसिर २०८१, बिहिबार

मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २३ गते । लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

राष्ट्र बैंकको परिवत्र्यसूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआइएमबी बैंक सिङ्गापुर पठाउनेगरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । 

दुवै पक्षवीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दान वापतको रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफुहरुको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । 

उहाँले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दान वापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्यसूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्नेगरी सम्झौता हुनु ठूलो उपलब्धी भएको बताउनुभयो । 

पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुसलगायतका २० देशका करिव ७४ लाख नेपाली रुपियाँ सटही हुने कोषले जनाएको छ । परिवत्र्य विदेशी मुद्रासूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताउनुभयो । 

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । अमेरिकी डलरमा सटही प्रदान गर्ने भए तापनि अमेरिकी डलर बराबरको नेपाली रुपियाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ ।