• १२ पुस २०८१, शुक्रबार

देश बनाउन जागे महावीर पुन

blog

देशप्रेम महत्त्वपूर्ण कुरा हो । सबैले देशलाई माया गर्नुपर्छ । यो माया भनेको देशको विकास र समृद्धिमा योगदान गर्ने साझा कर्तव्य हो । देशलाई समृद्ध बनाउन पद र सत्ता नै चाहिन्न । सङ्कल्प, अठोट, इमानदारिता, लगनशीलता, कर्तव्यपरायणता र प्रतिबद्धता बोकेर देश विकासका क्षेत्रमा होमिने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व, हुनुहुन्छ, महावीर पुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सञ्चालक । 

वर्तमान नेपालमा रोजगारीका अवसर नभएका कारण लाखौँका सङ्ख्यामा नेपाली युवाहरू विदेश जाने लर्को लागेको देखेर महावीर पुनः धेरै चिन्तित हुनुभयो । त्यसपछि उहाँले एउटा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने अठोट गर्नुभयो । यो केन्द्रका माध्यमबाट अनुसन्धान, आविष्कार, विकास र प्रवद्र्धन सम्भव हुने र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ महावीर पुनले वि.स. २०६९ कात्तिकमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गर्नुभयो । त्यहाँ करिब ६० जना प्रतिभाको सहभागिता रहेको छ । 

महावीर पुन भन्नुहुन्छ, “अनुसन्धान र आविष्कारको कार्य गरेर देशको प्रतिभा स्वदेशमै राख्न सकिन्छ । स्वदेशमा अवसर नभएकाले प्रतिभा विदेश पलायन हुने हुँदा अर्थतन्त्रमा टेवा पु¥याउन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्नु परेको हो । नेपालमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर अनुसन्धान, आविष्कार, विकास र प्रवद्र्धनतर्फ ध्यान दिएको हुँ । यसैबाट उत्पादन र वितरणका कार्य प्रारम्भ गर्न सकिन्छ, जसले गर्दा रोजगारी सिर्जना हुन्छ ।” पिता कृष्ण पुन र माता पूर्वी पुनका कोखबाट वि.सं. २०११ माघ ५ गते म्याग्दीको नाङ्गी गाउँमा जन्मनुभएका महावीर पुनको बाल्यकाल भेडा चराउने, घाँस काट्ने र दाउरा चिर्ने कार्यमै बित्यो । उहाँले अक्षर चिन्नुअघिसम्म त्यस गाउँमा स्कुल थिएन । वि.सं. २०२० मा स्कुल स्थापना भएपछि बडो कष्टले प्रारम्भिक शिक्षा प्राप्त गर्ने कार्य भयो । गाउँमा स्वास्थ्य, शिक्षा र यातायातका पूर्वाधारको विकास भइसकेको थिएन । कपी, किताब र कलम पाइन्नथ्यो । पाटीमा खरीले लेखेर पढ्नु पथ्र्यो । पाठ्यसामग्रीका अभावमा शिक्षकहरूले कथा सुनाएर र खेल खेलाएर त्यस कालको शैक्षिक सत्र पूरा गरिन्थ्यो । गाउँमा थोरै जान्ने सुन्ने व्यक्तिले सिकाएका भरमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गर्ने कार्य भएको थियो । यिनै कठिनाइका बीच उहाँले वि.स.. २०२७ मा चितवनको खैरहनी मा.वि.बाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । 

बिर्सन नसकिने प्रसङ्ग 

मैले मोटर देखेको थिइनँ । १४ वर्षको उमेरमा चितवन आएपछि मात्र देखेको हुँ । पहाडमा हामीले जुत्ता चप्पल लगाउन पाउँदैनथ्यौं । ९ कक्षामा पुगेपछि मात्र चप्पल लगाएको हुँ । सानो छँदा जङ्गल चहार्थें । चरा र बाँदरहरू खुवै लखेँट्थें । भलिबल खेल मन पथ्र्यो । साथीहरूले मजस्ता गरिबलाई टिममा राख्तैनथे । 

गाउँमा रेडियो थिएन । कसै कसैले ल्याएको रेडियो सुनेर छक्क पर्थें । अरूले ल्याएको रेडियोबाट गीत सुनेर आनन्दित हुन्थेँ । तीनभाइ तीन दिदीबहिनीमध्येको म जेठो हुँ । घरको आर्थिक स्थिति दयनीय थियो । पिताजीलाई मैले नै 

सघाउनु पथ्र्यो । अमृत साइन्सबाट वि.सं. २०३० मा आई एस सी गरी सकेपछि बीएससी पढ्न आर्थिक समस्या भयो । चितवनमा गाउँकै विद्यालयमा शिक्षकको कार्य गरेँ । पछि सरकारी प्लान पाएर उच्च शिक्षाका लागि यूएसए गएँ । सात वर्षको उच्च शिक्षा हासिल गरिसकेपछि गाउँमै फर्किएँ । 

गाउँमा विकासको प्रारम्भ र उपलब्धि 

उच्च शिक्षा हासिल गरेर घर फर्कंदा गाउँ सुनसान थियो । विकासको गति अघि बढेको थिएन । नेपालका केही प्रमुख सहरमा इन्टरनेट प्रचलनमा आउन थाल्दा । गाउँका दूरदराजसम्म सूचना सञ्चारबाट वञ्चित थियौँ हामी । वायरलेसलगायतका माध्यमबाट इन्टरनेट पु¥याउने कार्य गरेँ । बीस वर्षसम्म गाउँमै बसेर ‘कम्युनिटी लिडरसिप’का माध्यमबाट सूचना, सञ्चार र शैक्षिक चेतना जागरण गराउने कार्य गरेँ । यसबापत सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनिने ‘म्यागासेसे पुरस्कार’ प्राप्त गरेँ । 

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना 

चार वर्षअघिदेखि सञ्चालित यो केन्द्रले सरकारी नीति र कानुनका अधीनमा रहेर धेरै उपलब्धिमूलक कार्य गरिसकेको छ । यो सेवामूलक संस्था हो । प्रतिभासम्पन्न व्यक्तिहरू ‘इन्नोभेसन र रिसर्च’ मा कार्यरत छन् । हार्डवेयर, सफ्टवेयर, स्वास्थ्य र कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा क्रियाशील छन् । उद्यमी नभई देश विकास नहुने हुँदा नेपालका सबै प्रतिभा र बौद्धिक श्रमशक्तिको उपयोग गर्न यो आविष्कार केन्द्रले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । यो केन्द्रको छातामुनि रहेर आफ्नो उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हो भने कसैले विदेश धाउनु पर्दैन । नयाँ–नयाँ सम्भावनाका ढोकाहरू खोल्दै आफ्ना रुचिबमोजिम देशका सवै क्षेत्रमा अनुसन्धान आविष्कारका माध्यमबाट उत्पादनमूलक कार्य गर्न सकिन्छ । 

उपलब्धि र सन्देश 

विश्वका छत्तीसवटा राष्ट्रको अध्ययन भ्रमणको अुनभव सँगाल्नु भएका महावीर पुनले यूएसएको नेव्रास्का युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि प्राप्त गर्नुभएको छ । दर्जनौँ अन्तर्राष्ट्रिय सम्मान पुरस्कारबाट सम्मानित महावीर पुन सबै बालबालिकालाई उनीहरूको पढाइ सँगसँगै सिर्जनशील र इन्नोभेटिभ हुन आग्रह गर्नुहुन्छ । सानैदेखि सबैले अनुसन्धान गर्ने बानी बसाल्न विशेष जोड दिनुहुन्छ । समाजलाई सन्देश दिने क्रममा उहाँ भन्नुहुन्छ, “छोराछोरीलाई सिर्जनशील बनाउन आविष्कार, अनुसन्धानतर्फ आकर्षित तुल्याउने प्रेरणा दिनुपर्छ ।” सरकारलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नको एक उत्तरमा उहाँ भन्नुहुन्छ, “धेरै भनिसकेँ । भनेर थाकिसकेँ । अब केही भन्दिन । गण्डकी प्रदेश सरकारले यस केन्द्रलाई दस करोड रुपियाँ सहयोग गर्छु भनेको थियो अहिलेसम्म गरेको छैन ।”

सांस्कृतिक समृद्धि संस्कारबाट हुन्छ र आर्थिक समृद्धि अनुसन्धानबाट हुन्छ भन्ने मान्यतामा रहनुभएका महावीर पुन सबैको जरो अर्थतन्त्र हो भन्ने स्वीकारोक्तिमा रहनुभएको छ । तसर्थ उहाँ अर्थतन्त्र सुधार गर्न आविष्कार, अनुसन्धान र उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुहुन्छ ।