गोरखापत्र अनलाइन्
काठमाडौं, चैत २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निराश भएर र आत्तिएर देश नबन्ने भन्दै संयमित भएरै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । ‘कानुनका विद्यार्थीसँग केपी ओली’ विषयक आज बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
“हाम्रा पुर्खाले लडेर, आफ्नो ज्यानको कुर्बानी गरेर नेपाल देश बनाएका थिए, अब देशलाई समृद्ध र सम्पन्न बनाउने जिम्मेवारी हाम्रो हो, त्यसैले कोही निराश भएर होइन, संयमित भएर देश बनाउनुपर्छ” उहाँले भन्नुभयो । देशमा पटक पटक महाभूकम्प आउँदा देशको भौतिक संरचना ध्वस्त हुँदा पनि नेपाल र नेपाली नआत्तिएको बरु संयमित र सङ्गठित भएर भौतिक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
कानुनका विद्यार्थीले देशको अवस्था देखेर रुन मन लाग्नेखालको रहेको भन्दै अध्यक्ष ओलीलाई देश बनाउन योगदान दिन र भूमिका खेल्न आग्रह गर्नुभएको थियो । देश बनाउने विषय जोक नभएको तर गम्भीरता, दृढता र अथक प्रयासले सम्भव रहेको उहाँले चर्चा गर्नुभयो । देश बनाउने सङ्कल्प बोकेर आफूहरू राजनीतिमा होमिएकाले आशावादी हुन उहाँले विद्यार्थीसँग आग्रह गर्नुभयो ।
विकासको नाममा जनतालाई अलमल्याउने कुनै राजनीतिज्ञ र सरकारलाई छुट नरहेको भन्नुहुँदै अध्यक्ष ओलीले इमानदारितापूर्वक नेतृत्वले काम गरेमा नेपाल समृद्ध बन्ने बताउनुभयो । आफू सरकारमा रहँदा इमानदारितापूर्वक काम गरेको उहाँले दाबी गर्नुभयो । अझै देशको पक्षमा काम गर्ने चाहना रहेको उहाँले चर्चा गर्नुभयो ।
अनेरास्ववियु नेपाल ल क्याम्पसको आयोजनामा भएको कार्यक्रममा कानुनका विद्यार्थीले अध्यक्ष ओलीलाई देशको वर्तमान अवस्था, राजनीतिक समस्या, कानुनी व्यवस्था र समाधानको उपायबारेमा केन्द्रित भएर जिज्ञासा राखेका थिए ।