काठमाडौँ, चैत ७ गते । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय संसद् भवन परिसरमा शुक्रवार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै अर्थमन्त्री खनालले वन क्षेत्रले राष्ट्रिय आय र रोजगारी सिर्जनामा पुर्याउन सक्ने योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँले वन क्षेत्रको विकास र परिचालनका लागि सरकारले आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कदमहरू चालिसकेको जानकारी समेत दिनुभयो ।
नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने उल्लेख गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “नेपालका पदयात्रा मार्गमा विदेशी पर्यटक आउनुको मुख्य कारण यहाँको वन र प्राकृतिक सौन्दर्य नै हो । ‘वाइल्डलाइफ टुरिजम’ पूर्णतः वन क्षेत्रकै योगदानले सम्भव भएको हो, जसबाट हामीले ठूलो मात्रामा वैदेशिक मुद्रा र राजस्व प्राप्त गरिरहेका छौँ ।”
उहाँले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै सम्भावित क्षेत्रहरू रहेको र यसबारे वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको बताउनुभयो । वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित व्यवसायलाई बढावा दिने सहमति भइसकेको उहाँको भनाइ थियो ।
मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र सन्तोष नमानेर वनलाई क्षति नपुग्ने गरी कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयमा आगामी नीति र कार्यक्रम निर्देशित हुनुपर्नेमा जोड दिनुभयो ।