• ७ वैशाख २०८१, शुक्रबार

क्रिकेट टिमलाई बधाई

blog

अन्य खेलमा पछाडि परे पनि विश्व क्रिकेटमा नेपालले राम्रै गरी चिनाउन थालेको छ। यताका दशकमा थुपै्र उपलब्धि हासिल गर्दै नेपालको नाम उँचो बनाउन थालेको हो। नेपाल विगतमा टेस्ट नखेल्ने राष्ट्रबीच शीर्ष स्थानमा पनि रहेको टिम हो। नेपालले विश्वकप टी–ट्वान्टी पनि खेलिसकेको छ। विश्वकपमा नेपालले पहिलो सहभागितामै तीनमध्ये दुई खेलमा दुर्लभ जित हासिल गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय टी–ट्वान्टीको मान्यता र एकदिवसीय मान्यता पनि प्राप्त ग-यो। सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नयाँ युगकै सुरुवात भएको मान्नुपर्छ।

नेपाली क्रिकेट टिमले दुई दिनअघि आइतबार अर्को खुसी दियो। एकदिवसीय मान्यता थप चार वर्षका लागि जोगाएर दिएको खुसी सामान्य होइन। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत भएको त्रिदेशीय शृङ्खलामा आइतबार संयुक्त अरब इमिरेट्सलाई १७७ रनले हराएपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो। सो पक्का जितसँगै अमेरिकालाई पछाडि धकेलेर नेपाल चौथो स्थानमा उक्लिएको छ। आईसीसीको नियमअनुसार यस प्रतियोगिताको शीर्ष पाँचमा रहने टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पक्का हुने प्रावधान रहेको छ। अझै दुई खेल खेल्न बाँकी रहेको अवस्थामा नेपालको कम्तीमा शीर्ष चार पक्का भएको छ। नेपालले दुई खेल खेल्न बाँकी छँदै सात राष्ट्र सामेल सो प्रतियोगितामा शीर्ष चार पक्का गरेपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको हो। यो जितसँगै खेलाडीहरूमा अझ अरू सफलताका निम्ति उत्साह बढेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आफ्नै खेल व्याकरणअनुसार क्रिकेट खेल्ने राष्ट्रलाई वर्गीकरणमा राखेको छ। त्यसअनुसार टेस्ट क्रिकेट खेल्ने १२ राष्ट्रलाई स्थायी एकदिवसीय मान्यता प्राप्त छ। अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, जिम्बाब्वे, बङ्गलादेश, अफगानिस्तान र आयरल्यान्ड स्थायी एकदिवसीय मान्यताप्राप्त टिम हुन्। यसैगरी एसोसिएट टिममध्ये उत्कृष्ट चार टिमलाई चार वर्षका निम्ति अस्थायी एकदिवसीय मान्यता दिने प्रावधान छ। 

विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाउनु सामान्य उपलब्धि मानिन्न। एकदिवसीय पाउने विश्व क्रिकेटको एक उत्कृष्ट टिम हो भन्ने सन्देश संसारभर जान्छ। हुन पनि एकदिवसीय मान्यता पाएको टिम एकदिवसीय वरीयतामा समेत पर्छ। त्यसैले यसबाट मिलेको प्रतिष्ठा, राम्रो छवि त छँदै छ साथै फाइदा पनि छन्। आईसीसी एकदिवसीय मान्यता पाउने राष्ट्रका लागि वार्षिक करोडौँको बजेट 

छुट्याइन्छ। नेपालजस्तो राष्ट्रका लागि यस्तो बजेट निकै आवश्यक छ। यस्तो रकमले खेल पूर्वाधारमा सहयोग पु¥याउँछ। प्राप्त राशिले नेपालको क्रिकेट विकासका लागि अत्यावश्यक स्तरीय प्रशिक्षक, अभ्यास, भ्रमण, खेलाडीको भत्ता, नियमित प्रशिक्षणजस्ता कार्य सहज हुनेछ। अब नेपालका लागि थप चार वर्ष अन्तर्राष्ट्रिय ख्यातिसमेत बढ्नेछ। भन्नै पर्छ, नेपाली क्रिकेट टिमले जस्तो खुसी अन्य खेलले दिन सकेको छैन। यद्यपि नेपाल सरकार तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को भन्दा प्रशिक्षक, खेलाडीको कठोर परिश्रमले क्रिकेटमा ठूलाठूला उपलब्धि प्राप्त भएको हो भन्नेहरू पनि छन्। आन्तरिक विवादले नेपाल समयसमयमा आईसीसीबाट प्रतिबन्धित भएको छ। त्यसो त आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण हटाएको पनि धेरै भएको छैन। 

 सुधारका धेरै पक्ष छन्। नेपाली क्रिकेटको प्रतिष्ठानलाई कायम राख्न क्यानले सर्वप्रथम आफ्नो व्यवस्थापन राम्रो पार्न जरुरी छ। केवल प्रशिक्षक र खेलाडीको उत्साह तथा प्रयासमा मिलेका सफलताले निरन्तरता पाउन सक्दैन। अहिले सफलतालाई जोगाइराख्ने र यसलाई अझ माथि लाने चुनौती भएकोले दीर्घकालीन योजनाबाट क्रिकेट विकास गर्नुपर्छ। यसकारण क्यानको भूमिका भनेको अब व्यवस्थापन पक्ष एकजुट बनी नेपाल क्रिकेटको विकासमा लाग्नु हो। नेपाल सरकारले क्रिकेट टिमको उपलब्धिमा हौसला प्रदान गरेको छ। बधाई कार्यक्रम तथा विभिन्न पुरस्कारको घोषणा गरी यस्तो हौसला दिने गरेको छ। यस्तो हौसला नराम्रो त होइन तर सरकारले क्रिकेटको साँच्चिकै प्रवद्र्धन गर्ने हो भने सरोकारवालासँग सहकार्य गरी भौतिक संरचना, लगानी, अनुकूल वातावरण र घरेलु क्रिकेट संरचना बलियो बनाउन सहयोग गर्नुपर्छ। नेपाल सरकार र क्यानले अब चुनौतीको पहाड अगाडि छ भन्ने बोध गर्नुपर्छ। सफलतालाई निरन्तर गर्ने काम पक्कै पनि सजिलो हुँदैन। अहिलेलाई क्रिकेट टिमलाई हार्दिक बधाई!