• २४ असोज २०८२, शुक्रबार

प्रमको कूटनीतिक आयाम

blog

नेपाल नवीन राजनीतिक परिवेशबाट अगाडि बढ्दै छ । लोकतान्त्रिक मूल्य र मर्मको प्रवर्धन गर्न सुशासन र भ्रष्टाचारमुक्त शासन पहिलो सर्त हो । केही वर्षयता मुलुकमा सुशासनको अभाव खट्कँदै गएको आमगुनासो बढिरहेको थियो । कतिपय तथ्याङ्कले भ्रष्टाचार घट्न नसकेको लुकेको छैन । यो आमउकुसमुकुसलाई भदौ २३ र २४ गते नवपुस्ता अर्थात् जेनजीको अग्रसरतामा भएको विद्रोहले सतहमा ल्याइदियो । सरकार विस्थापित भयो । आगामी फागुन २१ गते नयाँ जनादेश लिने गरी मुलुकमा अन्तरिम सरकार बनेको छ । सरकारले आन्तरिक र बाह्य सहयोग, समर्थन र विश्वासका निम्ति निरन्तर क्रियाशीलता बढाइरहेको छ । यसै क्रममा प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरूलाई बुधबार भर्चुअल सम्बोधन गर्नुभयो । यो सम्बोधनले नेपालको कूटनीतिक आयाम फराकिलो पार्न सहयोग गरेको छ । जेनजी आन्दोलनबाट बदलिएको परिवेशबारे विदेशस्थित नेपाली दूतावास तथा नियोग प्रमुखहरू अब क्रियाशील हुने छन् । जेनजी प्रदर्शनपछिको नयाँ राजनीतिक परिवेश सुस्पष्ट भएको छ । दूतावास र नियोग प्रमुख अब नयाँ मार्गचित्रमा काम गर्न अग्रसर हुने छन् । प्रधानमन्त्रीले सुशासन, भ्रष्टाचारमुक्त समाजतर्फको अग्रसरता, आसन्न्न निर्वाचन, देशको अर्थराजनीतिक परिवेश सुस्पष्ट पार्नुभएको छ ।

देशको राजनीतिक निकासको वर्तमान महत्वपूर्ण लक्ष्य भनेको अब नयाँ जनादेश नै हो । लोकतन्त्रमा एक पटक लिएको जनादेश सधैँका निम्ति मान्य हुँदैन । आवधिक निर्वाचनले जनादेश अद्यावधिक भइरहेको हुन्छ तर निर्वाचित प्रतिनिधि तथा कार्यकारी संरचनाले देशवासीका निम्ति प्रभावकारी रूपमा कार्यसम्पादन गर्न नसक्दा आन्दोलन तथा विद्रोहको अवस्था बाध्यता हुन्छ । भदौ २३ र २४ गते जेनजी आन्दोलन बाध्यताको परिवेश हो । अब त्यसलाई संस्थागत गर्न प्रतिनिधि सभाको निर्वाचन अपरिहार्य राजनीतिक निकास हो । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको अन्तरिम सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको सुस्पष्ट पार्नुभयो । यो आन्दोलनले देशको पर्यटनमा केही कमी आएको छ । उहाँले आन्दोलनका कारण केही प्रभावित भएको पर्यटन क्षेत्र पुनः लयमा फर्किसकेको र नेपाल पर्यटनका निम्ति सुरक्षित गन्तव्य हुँदै गएको सन्देश प्रवाह गर्न निर्देश गर्नुभएको छ । प्रदर्शनका क्रममा भौतिक संरचनामा क्षति पनि पुगेको छ । त्यसका निम्ति पुनर्निर्माण गर्न सरकारले कोष स्थापना गरी स्रोतसाधन जुटाउन प्रयास गरिरहेको छ । त्यसबारे प्रचारप्रसार गरी कोषमा सहयोग जुटाउन पनि प्रमले आह्वान गर्नुभएको छ । वास्तवमै जेनजी पुस्ताको बलिदानले देशलाई नयाँ धरातलमा उभ्याएको छ । अब सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त नेपाल निर्माण मूल दायित्व भएको छ । यो दिशामा कूटनीतिक क्षेत्रको सहयोग अपरिहार्य छ । कूटनीतिक नियोगको यस दिशामा क्रियाशीलता अपरिहार्य छ ।

देशभित्र रोजगारीको अवस्था सिर्जना हुन नसकेपछि वैदेशिक रोजगारी बाध्यता बनेको छ । यताका दुई तीन दशकमा नेपाल बाहिर गएर काम गर्नेको ठुलो सङ्ख्या छ । रोजगारीका निम्ति मात्र होइन, अध्ययनका सिलसिलामा पनि धेरै नेपाली विश्वभर छरिएर रहेका छन् । औपचारिक तथ्याङ्क नभए पनि झन्डै ८० लाख नेपाली देशबाहिर रहेको अनुमान छ । विप्रेषणबाट देशको अर्थतन्त्रको ठुलो हिस्सा क्रियाशील र निर्भर छ । ढुकुटीमा विदेशी मुद्रा सञ्चय गर्न सघाउ पु¥याएको छ । नयाँ परिवेशमा विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा झन् ठुलो दायित्व भएको छ । प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको हकहित र सुरक्षामा सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नियोगहरूले विदेशमा रहेका नेपालीको सेवा प्रवाह अझ प्रविधिमैत्री तवरले चुस्त र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल अति कम विकसित राष्ट्रबाट आगामी वर्ष विकासशीलतर्फ स्तरोन्नति हुनेलगायत दिगो विकासका लक्ष्यमा सम्पादन भइरहेका कामबारेसमेत उहाँले जानकारी गराउनुभयो । विश्व अहिले अनेक खालका अस्थिरताबाट गुज्रिरहेको छ । जलवायु सङ्कट र भूराजनीतिक चलखेल विश्वव्यापी रूपमा बढेको छ । असंलग्नता र पञ्चशीलका मूलभूत परराष्ट्र नीतिका सिद्धान्त र आदर्शको अभ्यास र अवलम्बन गर्दै आएको नेपालले भूराजनीतिक अस्थिरताबाट चनाखो भई शान्ति, स्थिरता र विकासप्रति अटल प्रतिबद्धता व्यक्त गर्दै अगाडि बढ्नु जरुरी छ । विश्वशान्तिमा लामो र अटुट योगदान पु¥याउँदै आएको नेपालको छवि उच्च बनाई देशहितका पक्षमा कूटनीतिक क्रियाशीलता बढाउनु जरुरी छ । यी सबै विषयमा प्रधानमन्त्रीको सम्बोधन सार्थक देखिएको छ । यसबाट नेपालको कूटनीतिक आयाम फराकिलो बनाउन सहयोग पुगेको छ ।