टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज ३० गते । गुल्मीको बम्घा बहुउद्देश्यीय सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका–५ बम्घाले गाईभैँसीको दाना स्थानीय स्तरमै उत्पादनको तयारी गरेको छ । किसानहरुबाट सङ्कलन गरेर दैनिक १४ सय दुध बिक्री गर्ने बम्घाका सहकारीले गाउँमै दाना उत्पादन गरेर गुणस्तरीय दाना पशुचौपायलाई खुवाउने र खर्च कम गर्ने अभियान थालेको हो ।
दाना बनाउन धानको भुस, गहुँको छोक्रा, मकै, तोरी र भटमासको पिना आवश्यक पर्ने गर्छ । दाना उत्पादन गर्न आवश्यक धेरै कच्चा पदार्थ गाउँमै हुने र आफैँले उत्पादन गर्नसके बजारको अखाद्य वस्तु मिसावटबाट बनेको गुणस्तरहिन दानाको खपत कम हुने अपेक्षा लिएको बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव मेघराज गिरीले बताउनुभयो । सहकारीसँग मेसिन छ । जिल्लामा अहिलेसम्म दाना उत्पादन नहुने भएकाले लागत र उत्पादन मेल खाएमा गाउँपालिका र हेफेर प्रोजेक्ट नेपालको सहयोगमा दाना उत्पादन सुरु गरिने गिरीले बताउनुभयो ।
अहिले बम्घा गाउँले दैनिक १४ सय लिटर बढि दुध बिक्री गर्दै आएको छ । बम्घा बहुउद्देश्यीय सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका–५ बम्घामा अहिले १८८ जना सेयर सदस्य छन् । भने सहकारी मार्फत जोडिएर ११९ जनाले व्यावसायीक रुपमा दुधको कारोवार गर्दै आएका छन् । ईश्वर डेरीमार्फत जिल्लाका विभिन्न ठाउँमा दुध बिक्री वितरण हुने सहकारीले जनाएको छ । सहकारी मार्फत किसानले प्रतिलिटर न्यूनतम ६५ देखि १२० रुपियाँसम्म मुल्य पाउँछन् ।
संस्थाले मासिक रुपमा ३० लाख रुपियाँ बराबरको दुधको कारोबार गर्दै आएको बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुलचन्द्र पुरीले जानकारी दिनुभयो । सहकारी मार्फत दैनिक तीन जनाले रोजगारी पाएका छन् । बम्घामा अहिल करिव १६० गाई र २० वटा भैँसी छन् । अहिले पाँच वटा व्यावसायीक फर्म बाँकी ८५ प्रतिशत व्यक्तिहरुकै दुध आफुहरुले सङ्कलन गरिरहेको छ । उहाँका अनुसार बम्घामा दैनिक न्यूनतम एकदेखि अधिकतम करिव सय लिटरसम्म दुध उत्पादन गर्ने किसानहरु रहेका छन् ।
२०८० सालमा लम्पीस्किन रोगबाट सहकारीमा आवद्ध किसानका ३४ वटा गाईहरु मरेपछि सहकारीमा सङ्कलन हुँदै आएको एक हजार लिटर दुध घटेर ३०० लिटरमा झर्यो । तत्कालीन अवस्थामा किसानहरु निराश भएर पेसाबाटै विस्थापित हुने अवस्था थियो । तर गाईको बिमा भएकाले कम्पनीले सहज भुक्तानी गर्यो । गाउँपालिकाको प्रति गाई १० हजार सहयोग, रुरु कृषि परियोजनाले दुई वर्ष ७८ गाई खरिद गरेर किसानलाई ४० हजार अनुदानमा वितरण गरेकाले आफुहरु पुरानो अवस्थाभन्दा पनि माथि उठेको किसानहरुको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले सहकारी मार्फत दाना आधिकारिक रुपमा उत्पादन गर्ने र बिक्री वितरण गर्ने लक्ष्य रहेको छ । जसले गर्दा रुरुक्षेत्र गाउँपालिका र आसपासमा गाईपालक कृषकहरूलाई सहज हुने अपेक्षा राखिएको ज्ञवालीले बताउनुभयो । उहाँले आफैँ उत्पादन गर्दा स्थानीय कच्चा पदार्थको प्रयोग हुने र बाहिरबाट ल्याउँदा भन्दा कम मूल्यमा उत्पादन गर्न सकिने भएकोले यसको दिगो उत्पादन गर्न सकिने आधारहरु रहेको बताउनुभयो ।
रुरु गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालसँगैको साझेदारीमा कृषि र पशुपालनको एकीकृत विकास गर्ने उद्देश्यले रुरु कृषि परियोजना कार्यान्वयमा रहेको छ । परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेका अनुसार बम्घा सहकारीले मासिक १० टन दाना बुटवल लगायतका स्थानबाट खरिद गर्ने गरेको थियो । अहिले परीक्षण भइरहेको र यसको लागि प्राविधिक सहयोग रुरु कृषि परियोजनाबाट भएको चालिसेले जानकारी दिनुभयो ।