गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३० गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको व्यापार सहुलियतको म्याद थप गर्न आग्रह गर्नुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिने क्रममा वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री खनालले वाणिज्य प्रतिनिधिसँग नेपाल टे«ड प्रिफरेन्स कार्यक्रम (एनटिपिपी) को म्याद थप गर्न आग्रह गर्नुभएको हो ।
२०७२ सालको भूकम्पपछि नेपालको निर्यात बढाउन र रोजगारी सिर्जनामा सहयोग पु¥याउन अमेरिकाले सन् २०१६ देखि एनटिपी सुरु गरेको थियो । १० वर्षका लागि दिइएको उक्त सुविधा यसै वर्ष सकिँदै छ । अर्थमन्त्री खनालले यसै सन्दर्भमा म्याद थप गर्न आग्रह गर्नुभएको हो ।
एनटिपिपी अन्तर्गत नेपालले हस्तकला, पस्मिना, गलैँचा, कपडालगायतका ७७ वटा वस्तु निर्यात गर्दा अमेरिकामा भन्सार छुट सुविधा पाउँदै आएको छ । नेपालमै उत्पादन भएका वस्तुले मात्र यस किसिमको सुविधा पाउने सर्त थियो । यसले अमेरिकी बजारमा नेपाली वस्तुलाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पु¥याएको थियो ।
त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुट्टाछुट्टै भेट गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन पनि आग्रह गर्नुभयो ।
जाइकाका प्रतिनिधिसँग बिपी राजमार्ग पुनस्र्थापना, नागढुङ्गा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
बुधबार नै अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा अर्थमन्त्रीको छलफल भएको थियो । त्यस क्रममा नेपाल राष्ट्र बैङ्क ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैङ्कको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा पनि छलफल भएको थियो ।