• ३० असोज २०८२, बिहिबार

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । ललितपुरको जाउलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । यो प्रतियोगिताको अठारौँ संस्करण हो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बुधबारदेखि मेला सुरु भएको हो । 

तिहारलक्षित पुष्प व्यवसायको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले प्रदर्शनी सुरु भएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले निजी क्षेत्रको प्रयासमा अगाडि बढिरहेको पुष्प व्यवसायलाई प्रवर्धन गर्न नीतिगत तवरबाट सहजीकरण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । आत्मनिर्भर बन्दै गएको पुष्प व्यवसायलाई विस्तार गर्न सरकारी तवरबाट पहल भइरहेको उहाँको भनाइ छ ।

सरकारले लागु गरेको बिउबिजन नियमावलीका आधारमा आलङ्कारिक बिरुवालाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै उहाँले नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

“कृषि विधेयक तयार भएर पनि संसद् नभएका कारणले अल्झिएर रहेको छ, कृषिक्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ । मन्त्रीपरिषद्मा पठाउने तयारी भइरहेको छ । पुष्प व्यवसायीको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ,” सचिव शर्माले भन्नुभयो ।

प्लास्टिकका फूलको उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीलाई प्रोत्साहन दिएर तथा देशबाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणमा ध्यान दिएर नियन्त्रणमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्धनका लागि बिउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्ने बताउनुभयो । पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्धनका साथै रोजगारीमा समेत महत्वपूर्ण योगदान दिएको बताउनुभयो । 

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्धनका लागि हरेक वर्ष लगातार प्रतियोगितात्मक प्रदर्शनी गर्दै आएको जानकारी दिनुभयो । 

प्रदर्शनीमा गोदावरी फूलका प्रजातिका फूल तथा बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिने जनाइएको छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै आलङ्कारिक बोटबिरुवासमेत प्रदर्शनीमा बिक्री हुने गर्छ । 

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् ।