गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३० गते । जलविद्युत् आयोजनाको साधारण सेयर जारी गर्न प्रक्रियामा लामो समयदेखि ढिलाइ गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले कडा आन्दोलन गर्ने १५ दिने अल्टिमेटम दिएको छ ।
मङ्गलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले ऊर्जा उद्यमीको धैर्यको बाँध टुट्ने अवस्थामा पुगेको भन्दै सरकार तथा नियामकीय निकायविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
धितोपत्र बोर्डले २८ महिनादेखि साधारण तथा हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको भन्दै इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका लगानीकर्ता गम्भीर रूपमा निरुत्साहित बनेको बताउनुभयो ।
“प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका अध्यक्षलगायत उच्च पदाधिकारीसँग निरन्तर भेटघाट र पत्राचार गर्दा पनि सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “अब आन्दोलनमा जानुपर्ने अन्तिम विकल्पमा आइपुगेका छौँ १५ दिनपछि भौतिक तथा भर्चुअल आन्दोलन गर्ने छौँ ।”
‘रियल नेटवर्थ’ को कारण देखाएर आइपिओ आवेदन अस्वीकृत गरिएको भन्दै इप्पानले धितोपत्र बोर्डका अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने पनि बताएको छ । सात दिनभन्दा बढी सेवा ढिलाइ अख्तियार दुरुपयोग मानिने भएकाले लगानीकर्ताले गुमाएको अनुमानित एक खर्ब आठ अर्ब ५० करोड बराबरको क्षतिपूर्ति माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने चेतावनी कार्कीको छ । त्यसै गरी कानुनी व्यवस्था नभएको निःशुल्क सेयरको मागका कारण निजी लगानीमा निराशा बढेको र आयोजनाको निर्माणमा अवरोध सिर्जना भइरहेको इप्पानको भनाइ छ ।