गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३० गते । तिहारमा नेपाली उपभोक्तालाई आवश्यक पर्ने चिनी पर्याप्त रहेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सामान्य अवस्थामा अरूबेला मासिक १८ देखि २० हजार मेट्रिक टन चिनी खपत हुने गरेकोमा दसैँ, तिहार र छठसम्म २५ देखि ३० हजार मेट्रिक टन खपत हुने अनुमान छ ।
विगतका वर्षमा साल्ट टे«डिङ कर्पोरसनमार्फत सरकारले भन्सार छुटको चिनी आयात गर्न नसकेका बेलामा व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य महँगो बनाउने गरेका थिए तर यस पटक बजारमा चिनीको कुनै समस्या नभएको सरोकारवाला निकाय बताउँछन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष तिहार र छठपर्वमा चिनी पर्याप्त भएकाले मूल्यवृद्धि नहुने दाबी गरेको छ । विभागका महानिर्देशक रोशन ज्ञवालीले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सुदृढ बनाइएको बताउनुभयो । स्वदेशी चिनी उत्पादक मिलसँग हाल ३० हजारदेखि ३५ हजार मेट्रिक टन चिनी मौज्दात रहेका हुँदा अभाव नहुने उहाँको भनाइ छ ।
किराना खाद्य तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले यस पटक बजारमा चिनी पर्याप्त भएकाले कुनै खालको समस्या नभएको बताउनुभयो । उहाँका अनुसार सामान्य बेलामा प्रतिकेजी १०५ रुपियाँमा बिक्री हुँदै आएकोमा अहिले त्यो मूल्य घटाएर खुद्रामा प्रतिकेजी ९८ रुपियाँदेखि १०२ रुपियाँसम्ममा किनबेच भएको छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले देशभर सञ्चालित १५३ बिक्री केन्द्रमार्फत चिनी बिक्री गर्दै आएको छ । खाद्य कम्पनीले प्रतिकेजी चिनीको ९७ रुपियाँ ५० पैसामा बिक्री गर्दै आएको छ भने कर्पोरेसनले प्रतिकेजी ९५ रुपियाँमा चिनी बिक्री गर्दै आएको छ । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले कम्पनीसँग करिब पाँच हजार क्विन्टल चिनी मौज्दात रहेको र थप आउने क्रम जारी छ । हाल भइरहेको खरिद नेपालभित्रकै उत्पादकबाट भइरहेको छ ।