• १६ चैत २०८०, शुक्रबार

म्युजिक भिडियोमा कलाकारको आकर्षण बढ्दो

blog

काठमाडौँ, फागुन २६ गते । केही वर्षयता नेपाली कलाकारका लागि राम्रो आम्दानीको बाटो बनेको छ, म्युजिक भिडियो । महानायक राजेश हमालदेखि अहिलेका चल्तीका नायक दयाहाङ राईसम्मलाई म्युजिक भिडियोको स्वादले छोइसकेको छ । 

केही वर्षअघि महानायक हमालले पत्नी मधु भट्टराईसँग ‘जिन्दगी’ बोलको गीतमा पहिलो पटक मोडलिङ गर्नुभएको थियो । उक्त म्युजिक भिडियो चल्यो चलेन, त्यो आफ्नो ठाउँमा छ तर महानायक र पत्नी भट्टराईको भिडियोले चर्चा भने राम्रै कमाएको थियो । त्यसपछि महानायकले गायक भीम चापागाईंको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा अभिनय गर्नुभयो । उहाँलाई उक्त म्युजिक भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले साथ दिनुभएको थियो। यसरी चलचित्रमा एकदमै कम काम गर्छु भन्ने महानायक अहिले म्युजिक भिडियोमा धमाधम देखिन थाल्नुभएको छ । 

नेपाली चलचित्र क्षेत्रमा व्यस्त नायकका रूपमा चिनिने कलाकार हुनुहुन्छ, दयाहाङ राई । चलचित्रमा भ्याइनभ्याइ हुँदासमेत कलाकार राईले म्युजिक भिडियोमा समेत काम गर्न भ्याइरहनुभएको छ । ‘परानै दिन्छु’, ‘हुरुक्कै भएँ म’लगायत थुप्रै म्युजिक भिडियोमा उहाँले अभिनय गर्नुभएको छ । उहाँ आफूलाई मन परेको र सुहाउने गीतमा मात्रै अभिनय गर्ने गरेको बताउनुहुन्छ। अहिले नेपाली चलचित्रका अधिकांश कलाकार म्युजिक भिडियोमा आकर्षित हुन थालेका छन् । यसको एउटै कारण हो, काम गर्न सजिलो र राम्रो आम्दानी । 

राजेश हमाल, दयाहाङ राई, बेनिशा हमाल, आँचल शर्मा, वर्षा राउत, वर्षा शिवाकोटी, पुष्प खड्का, सागर लम्साल, धीरेन शाक्य, दिलीप रायमाझी, मरिष्का पोखरेल, केकी अधिकारी, प्रियङ्का कार्की, सृष्टि श्रेष्ठ, माला लिम्बू, ज्योत्स्ना योगी, आकाश श्रेष्ठ, जेविका कार्कीलगायत दर्जनौँ कलाकार अहिले म्युजिक भिडियोमा देखिन थाल्नुभएको छ। चलचित्रमा स्थापित यी कलाकारले अहिले म्युजिक भिडियोबाटै राम्रो कमाइ गरिरहनुभएको छ । कुनै समय यस्तो थियो, एउटा म्युजिक भिडियो निर्माण गर्न ४०/५० हजार रुपियाँ भए पुग्थ्यो। अहिले भने त्यो समयले डाँडो काटिसक्यो । अहिले एउटा गीतको भिडियो निर्माण गर्न पाँचदेखि १० लाख रुपियाँसम्म खर्च हुने गरेको निर्माताहरूको ठम्याइ छ ।  

म्युजिक भिडियोमा चाहेजति लगानी बढेपछि चलचित्रका कलाकारको यसमा आकर्षण बढेको निर्देशक रामजी लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले कलाकारलाई उहाँहरूको प्रचारमा पनि फाइदै गर्छ।” म्युजिक भिडियोमा समय कम लाग्ने भएकाले पनि यसप्रति कलाकारको रुचि बढेको लामिछानेको भनाइ छ । “म्युजिक भिडियो भनेको एक दिनको काम हो । रेकर्डिङमा पनि जानु नपर्ने, चलचित्रको जस्तो प्रमोसनमा पनि हिँडिराख्नु नपर्र्ने। यस्तो सजिलो काम पाएपछि कसले गर्दैन?,” उहाँले भन्नु्भयो । अहिले कलाकार मात्र नभई चलचित्र निर्माण गर्नेहरू पनि म्युजिक भिडियोप्रति आकर्षित हुँदै गएका अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शान थापा बताउनुहुन्छ । “भिडियोमा चाहेजति लगानी बढेपछि नै यसमा कलाकारको प्रवेश ह्वात्तै बढेको हो,” निर्देशक थापा भन्नुहुन्छ, “यसले कलाकारलाई पनि सजिलै पैसा कमाउने हिसाबले फाइदा भएको छ। कलाकारका कारण गीतको प्रचारमा पनि फाइदै भएको छ।”

अहिलेको समयमा म्युजिक भिडियो हप्तामै दर्जनौँ सार्वजनिक भइरहेका छन् । म्युजिक भिडियोका कारण कलाकारको जीवनशैली परिवर्तन भएको छ । सङ्गीत र म्युजिक भिडियोसँग जोडिएका सबै पक्षको वातावरण राम्रो छ । विशेष गरी स्टार सेलिब्रेटीहरूलाई लिएर निर्माण गरिएका भिडियोहरू युट्युबको ट्रेन्डिङमा पनि आइरहेका छन् । नाम चलेका गायक तथा गायिका पनि लाखौँ रुपियाँ खर्च गरेर आफ्नै लगानीमा म्युजिक भिडियो निर्माणमा लागिरहेका छन् ।