• १६ चैत २०८०, शुक्रबार

‘हामीले टिकटकलाई प्रतिभा उजागर गर्ने माध्यम बनायौँ’

blog

सन्तोष पौडेल ‘बटुकजी र उहाँकी श्रीमती बटुकनी’

काठमाडौं, फागुन २० गते । केही वर्षयता सामाजिक सञ्जाल टिकटक अचेल भने हरेक उमेर समूहमा लोकप्रिय बन्दैछ ।  

टिकटकमा मनोरञ्जनात्मक सँगसँगै सामाजिक विषयवस्तुमा आधारित विषयको भिडियोसमेत राख्ने चलन बढेको छ । 

नेपाली फिल्म क्षेत्रमा एसोसिएट डिरेक्टरको रूपमा चिनिने सन्तोष पौडेल अचेल टिकटकमा ‘बटुकजी र उहाँका श्रीमती बटुकनी’ को नामले चर्चित हुनुहुन्छ । 

टिकटकलाई आफ्नो अभिनयको प्लेटफर्मको रूपमा प्रयोग गर्नुभएका यी जोडीलाई दर्शकहरूको रोजाइमा पर्नुभएको छ । उहाँले बद्री पङ्गेनीको म्युजिक भिडियोमा काम गर्नुभएको छ । 

‘टिकटकमा कि जिरो हुन्छु कि त हिरो बन्छु ।’

कलाकारितामा रुचि राख्ने बटुकजीलाई सुरुवातमा धेरै मिहिनेत लाग्यो । आफूसँगसँगै श्रीमतीलाई पनि यस क्षेत्रमा ल्याउन उहाँले अनेकौँ तरिका अपनाएको उहाँ सम्झिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “मैलै अम्रितालाई कलाकारितामा जबरजस्ती ल्याएको हो किनभने मैले कला क्षेत्रमा नाम कमाउने प्रतिबद्धता गरेर भिडियो बनाउन सुरु गरेको थिएँ, जसमा मेरो श्रीमतीको ठूलो भूमिका रहन्छ ।” 

अचेल टिकटक कतिपयको एक्लोपनको साथी भएको छ भने कसैका लागि लुकेको प्रतिभा देखाउने माध्यमसमेत बनेको छ ।

आजसम्म करिब तीन सयभन्दा बढी भिडियोमा अभिनय गर्नुभएका यी जोडीले समाजमा भएका घटनामा आधारित रहेर भिडियो बनाउने गर्नुहुन्छ । 

“हामीले आफ्नो वरपर देखे–सुनेका घटनालाई थप मनोरञ्जनात्मक बनाएर भिडियोको अवधारणा तयार पार्छौँ, जसमा सिनेमेटिक बनाउन अलि धेरै मिहिनेत लाग्छ,” कलाकार पौडेलले भन्नुभयो । 

दैनिक जीवनमा देखिने घटनाक्रमलाई दृश्यात्मक बनाउने विषयमा उहाँ भन्नुहुन्छ, “दैनिक जीवनमा आफूले देखेका र भोगेका घटनालाई आधार बनाएर म भिडियोको केन्सेप्ट तयार गर्ने गर्छु, मैले आफैँले देखेको छु, कतिपय बिहेको पार्टीमा जाँदा साथीभाइले थोरै खाउनभन्दा श्रीमती वरपर छ कि छैन र श्रीमतीले नखानु भनेपछि नखाने साथीहरू छन् । यस्तै, विषयमा आधारित रहेर हामी मनोरञ्जनात्मक भिडियोमा अभिनय मिसाउँछौँ ।”

यस्तै, श्रीमानको प्रेरणाबाट कलकारिता सुरु गर्नुभएका अम्रिताका अनुसार आफूले बनाएको यस्ता भिडियोले समाजका प्रायः महिला र पुरुषको कथा भन्ने गर्छ, जसले समाज रूपान्तरणमा केही हदसम्म मद्दत गरेको हो कि जस्तो पनि उहाँलाई लाग्छ । 

आफूले अभिनय गरेको भिडियोको अवधारणा घरघरको कथा भएको अम्रिताको भनाइ छ । 

“नेपाली समाजमा महिलाको तुलनामा पुरुषले आफूलाई परेका समस्या खुलेर व्यक्त गर्न सक्दैनन् । तर महिलाका लागि विभिन्न सङ्घ संस्था र आयोग छन् जसको मद्दतले उनीहरूले आफ्नो हक र अधिकारको लडाइ लड्न सक्छन्”, अम्रिता भन्नुहुन्छ, “तर पुरुष पीडित भएमा उनीहरूका लागि कुनै पनि आयोग छैनन्, विशेष गरी हामीले यस विषयलाई भिडियोमार्फत उठाउन खोजेका हौँ ।”

टिकटक भिडियोमार्फत अधिकांश महिला र पुरुषले व्यक्त गर्न नसकेका विषय खुल्न सजिलो बनाउनेमा यी जोडी विश्वस्त छन् । 

श्रव्य–दृश्य माध्यम समाजमा सन्देशमूलक दिने खालका हुनुपर्ने पौडेल जोडीको भनाइ छ । समाजका गलत प्रचारप्रसार गर्ने तथा श्रीमानले श्रीमतीको कुटाइ खानुपर्छ भन्ने गलत सन्देश दिन यस प्रकारका अवधारणा तयार नगर्ने र यो मनोरञ्जनका लागि मात्रै बनाएको उहाँहरू बताउनुहुन्छ ।

“हरेक कुराको राम्रो र नराम्रो दुईवटा पाटो भएजस्तै टिकटकको पनि सकारात्मकसँगै नकारात्मक पाटो पनि छन् । हामीले सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्रतिभा उजागर गर्ने माध्यम बनाएका छौँ,” कलाकार पौडेल भन्नुहुन्छ, धेरै व्यक्तिले टिकटकमा पूरै दिन बिताएर समय नष्ट गरिरहेका हुन्छन् ।”

कलाकार सन्तोष पौडेल र अम्रिता पौडेलसँग उहाँहरुको कलाकारिता यात्राका बारेमा गरिएको भिडियो संवाद । 

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ