• १२ साउन २०८१, शनिबार

सुपरस्टार प्रशंसकको कथा चलचित्र ‘सेल्फी’

blog

काठमाडौँ, फागुन १७ गते । अक्षय कुमारको गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षाबन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ले सिनेमाघरहरूमा खासै तहल्का मच्चाउन सकेनन् ।  यीमध्ये दुई चलचित्र ‘बच्चन पाण्डे’ र ‘कठपुतली’ साउथ फिल्मको रिमेक थिए । यति हुँदाहुँदै पनि अक्षयले लगातार रिमेक चलचित्रमा काम गरिरहेका छन् । अक्षयकुमार र इमरान हास्मी अभिनीत चलचित्र ‘सेल्फी’ पनि २०१९ को मलयालम चलचित्र ‘ड्राइभिङ लाइसेन्स’को रिमेक हो । कस्तो देखिन्छ भने बलिउडमा अहिले चलचित्रमा आफ्नो मौलिक कथा पस्कन नसकेर साउथ सिनेमाको रिमेक बनाउनमा रमाइरहेका छन् ।

आरटीओका प्रहरी निरीक्षक ओमप्रकाश अग्रवाल (इमरान हास्मी) सुपरस्टार विजयकुमार (अक्षयकुमार)को धेरै प्रशंसक हुन्छन् । आफ्नो एउटा चलचित्रको सुटिङको क्रममा विजयकुमार ओमप्रकाश बस्ने ठाउँ भोपाल पुग्छन् । विजय कुमारले चलचित्रको छायाङ्कनका लागि अनुमति लिनका लागि आफ्नो ड्राइभिङ लाइसेन्सको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ तर अन्तिम समयमा आएर मात्र उनले आफ्नो लाइसेन्स हराएको थाहा पाउँछन् । विजयको कट्टर प्रशंसक भएकाले ओमप्रकाशले उनलाई चाँडै लाइसेन्स प्राप्त गर्न मद्दत गर्छन् । विजय लाइसेन्स लिन आरटीओ कार्यालय पुग्छन्, त्यहाँ सञ्चारकर्मीको भीड देखेर उनलाई रिस उठ्छ र आफ्नो छोराकै अगाडि ओमप्रकाशलाई गाली गर्न थाल्छन् । चलत्रिचको कथाले यहीँबाट नयाँ मोड लिन्छ र विजयको सबैभन्दा ठूलो फ्यान ओमप्रकाश अब उनको सबैभन्दा ठूलो शत्रु बन्न पुग्छन् । 

यसैबीच ओमप्रकाशको घरमा केही गुन्डाहरूले ढुङ्गा हान्ने काम पनि गर्छन् र ओमप्रकाशको मनमा यो सबै काम विजयले गराएका हुन् भन्ने बस्छ । ओमप्रकाशले विजयलाई यदि ड्राइभिङ लाइसेन्स चाहिने हो भने सामान्य मानिसहरू जस्तै आरटीओमा आएर सबै परीक्षा दिनुपर्ने बताउँछन् । विजय र ओमप्रकाश बीचको युद्धमा के 

हुन्छ ? भन्ने कुराको जवाफ नै चलचित्रको मुख्य कथा हो । चलचित्र ‘सेल्फी’ हेरेर सन् २०१६ मा प्रदर्शनमा आएको शाहरुख खानको अभिनीत चलचित्र ‘फ्यान’को याद आउनेछ । जसमा शाहरुखको सबैभन्दा ठूलो फ्यान नै उनको सबैभन्दा ठूलो शत्रु बनेको देखाइएको थियो । 

यद्यपि चलचित्र ‘सेल्फी’ धेरै हिसाबले फरक छ । चलचित्रको पहिलो हाफ निकै रोचक छ भने दोस्रो हाफमा चलचित्रको कथामा खासै नयाँ कुरा पाइँदैन ।

चलचित्रमा अक्षयकुमारलाई सुपरस्टारको भूमिका सुहाएको छ । उनले राम्रो काम गरेका छन् । त्यस्तै इमरान हास्मीले सोचेजस्तो अभिनय गरेको देखिँदैन । उनको अभिनय फिक्का छ । नुसरत भरुचा र डायनाको चलचित्रमा केवल नायकसँग नृत्य गर्नका लागि मात्र राखिएको हो कि जस्तो लाग्छ । चलचित्रको सुरु र अन्त्यमा रहेका दुईवटा आइटम गीतले भने पक्कै पनि दर्शकलाई आकर्षित बनाउँछ ।