• १३ साउन २०८१, आइतबार

देशको राजनीति सकारात्मक दिशामा छ : नेता निधि

blog

नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता विमलेन्द्र निधि । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, फागुन १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मधेश प्रदेशका नवनिर्वाचित पदाअधिकारीको पदस्थापन कार्यक्रममा मङ्गलबार यहाँ उहाँले सो कुरा बताउनुभएको हो ।

चुनावअघि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक दलहरु बीचमा बनेको गठबन्धनलाई मत दिएर जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको उहाँले बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर कोर्स करेक्सन गरेको र यसले परिणाम सकारात्मक आइरहेको बताउनुभयो ।  राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आठ वटा दलको स्वीकारोक्तिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको बताउनुभयो ।

नेकपा (एमाले) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिए पनि सरकार समस्यामा नरहेको उहाँले बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग भनिए पनि राज्यबाट दर्जा नदिएको भन्दै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाजस्तै राज्यले पत्रकारलाई पनि सुविधा दिनुपर्ने बताउनुभयो ।