• १३ मंसिर २०८१, बिहिबार

तेह्र प्रजातिका नयाँ चरा भेटिए

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन १० गते । गुल्मीमा १३ प्रजातिका नयाँ चरा भेटिएका छन् । चरा सर्वेक्षणका क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यी नयाँ प्रजातिका चरा भेटिएका नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । 

१९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन् । कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुँगा प्रजातिका नयाँ चरा छन् । 

१३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा आठ प्रजातिका नयाँ चरा भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सँुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् । यहाँ बर्सेनि चराको 

सङ्ख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चरा छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यसअघिको सर्वेक्षणमा ३०५ प्रजातिका चरा रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चरा यहाँ फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीले जनाएको छ । 

गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चरा पाइन्छन् । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डङ्गर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल छन् । यहाँ रहेका दुर्लभ चराको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, बासस्थान परिवर्तन, चोरीसिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडकजस्ता समस्या चरा संक्षरणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो । नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा चराहरूको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो ।