• ९ मंसिर २०८१, आइतबार

धाप बाँध निर्माणले बागमती स्वच्छ

blog

धाप (काठमाडौँ), फागुन ५ गते । बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दुरीमा अवस्थित छ ।

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले बिहीबार शिला अनावरण तथा ढोका खोलेर सो बाँधको उद्घाटन गर्नुभयो । प्रतिसेकेण्ड चार सय लिटरको दरले पानी छोडिएसँगै महाशिवरात्रिको अवसरमा बागमती नदीमा जलप्रवाह बढ्नुका साथै पानी थप सफा हुने विश्वास गरिएको छ ।

चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर बाँकी समयमा आवश्यकताअनुसार क्रमशः छाड्ने र बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको आठ लाख ५० हजार घन मिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।

त्यसैगरी, यस बाँधमा मुख्य ड्याम एउटा, सहायक ड्याम तीन वटा, ड्यामको उचाइ २४ मिटर, ड्यामको माथिको लम्बाई १७५ मिटर र तालको कुल क्षेत्रफल १२ हेक्टरमा फैलिएको छ । यस ड्यामको निर्माण गोन्जाउ/रमन/लामा (संयुक्त) निर्माण कम्पनीले गरेको हो । 

यो ड्याम निर्माणको लागि २०७१ पुस ३ गते बोलपत्र आह्वान र ठेक्का सम्झौता २०७२ असोज २२ गते गरिएको थियो । यस ड्याम निर्माणको लागि ५१ करोड सात लाख ५२ हजार रुपियाँमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म यस ठेक्काअन्तर्गत कुल ४९ करोड १० लाख रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।

बागमती नदीमा जल व्यवस्थापन गर्न शिवपुरी निकुञ्ज क्षेत्रमा वर्षातको पानी जम्मा गरी हिउँदमा बगाउने प्रयोजनको लागि धाप र नागमती बाँध निर्माण गर्ने सोच विसं.२०६६ मा निर्मित बागमती कार्ययोजनामा नै उल्लेख गरिएको छ । 

बागमती नदीको जल व्यवस्थापनका साथै वर्षा याममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खा याममा प्रवाह गर्ने, जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनर्भरणमा समेत यस बाँधले ठूलो मद्दत पुग्ने विश्वास गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।

स्वच्छता बचाउन मद्दत 

बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन बाँधको निर्माण एउटा सद्कार्य भएको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो । यस बाँध निर्माणले यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

शिवपुरी निकुञ्ज क्षेत्रमै प्रस्तावित नागमती बाँधको निर्माण पनि छिट्टै सुरु हुने बताउँदै उहाँले त्यसको लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्बाट समेत निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बागमती नदीलाई सफा, स्वच्छ र सुन्दर बनाउन भइरहेका विभिन्न प्रयासमध्ये यी महत्त्वपूर्ण प्रयासहरू हुन ।’’

सहरी विकास मन्त्री विक्रम पाण्डेले नदी तथा पर्यावरणको संरक्षणको लागि मुलुकभरि नै यस्ता थुप्रै बाँध निर्माणको आवश्यकता रहेको बताउँदै यस प्रकारको ड्यामजस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यो बाँध निर्माणसँगै राजधानी नजिकै एउटा नयाँ पर्यटकीय गन्तव्य थपिएको र मुलुकको अन्य निकुञ्ज क्षेत्रमा पनि बाँध निर्माणका लागि वातावरण बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

धाप बाँधको वरिपरि बायो इन्जिनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । निर्माण हुन लागेको नागमती बाँधलाई एसियाली विकास बैङ्कले पनि विश्वकै आठौँ नम्बरको परामर्शदाता खटाएर सहयोग गरेको उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री पाण्डेले परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको तथा लागत बढ्ने गरेको बताउँदै आफू यस पदमा रहुन्जेल गलत डिजाइन गर्ने र समयमा निर्माण कार्य सम्पन्न नगर्नेलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले यस बाँधको निर्माणले बागमती नदीको पवित्रता र स्वच्छतालाई बचाइराख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जैविक विविधतालाई नचलाई यस क्षेत्रको पूर्वाधार विकासमा अवरोध नपुर्‍याउनसमेत उहाँले सम्बन्धित निकायहरूसँग आग्रह गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आफ्नो नगर क्षेत्रबाट कुनै पनि किसिमको फोहोर बागमती नदीमा विसर्जन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।