• १२ कात्तिक २०८२, बुधबार

आन्दोलनको निसानामा सिसिटिभी, अपराध अनुसन्धान जटिल

blog

नवराज कट्टेल

विराटनगर, कात्तिक १२ गते । गत कात्तिक ५ गते विराटनगर–१, पोखरिया शङ्कर टोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग टिभिएस सोरुमअगाडि सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर सख्त घाइते उहाँको आँखामा गहिरो चोट छ, शरीरको दाहिने पाटो चल्दैन, कम्मरमुनिको भागमा चोटैचोट छ । घाइते १७ वर्षीय खनालकी काकी प्रेमु सापकोटा खनालका अनुसार कम्मरको शल्यक्रिया बुधबार हुने तयारी गरिएको छ । 

गत असोज २७ गते विराटनगरको जलजला मोडमा कारले मोटरसाइकललाई ठक्कर दिएर दुई जना घाइते भएको घटनामा समेत कारधनी वा चालक अहिलेसम्म फेला पार्न सकिएको छैन । राति ११ बजे प्रदेश १–०४–००१ प. ८५८० नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएर भागेको थियो । दुर्घटनामा मोरङ धनपालथान–४ का ५२ वर्षीय मोजिम अन्सारी र २८ वर्षीय सिन्धु साह घाइते भएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । 

सेतो रङको ओमोदा ब्रान्डको कारले ठक्कर दिएको देखिए पनि नम्बर यकिन हुन कठिन भयो । यी दुवै घटना साँझ परिसकेपछिका हुन् । कोशी राजमार्गको टिभिएस सोरुमअगाडि भएको दुर्घटनामा सवारीको पहिचान नै हुन सकेको छैन । असोज २७ गते भएको दुर्घटनामा पनि सवारीको ब्रान्ड र रङ थाहा भए पनि नम्बर यकिन हुन सकेको छैन । 

मोरङ प्रहरी प्रवक्ता कोपिला चुडालका अनुसार प्रविधिले अपराधका घटना अनुसन्धानमा सहयोग गर्दै आएको थियो । सहरका सडकमा हुने दुर्घटनामा पीडित र पीडक छुट्याउन पनि सहज थियो तर पछिल्लो समय सहर प्रविधिविहीन भएको छ । जसका कारण सवारी दुर्घटनादेखि अपराधका घटना अनुसन्धानमा समेत प्रहरीलाई हम्मे हम्मे परिरहेको हो । 

प्रवक्ता चुडालका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसिटिभीमध्ये ११८ स्थानका सिसिटिभीमा क्षति पुगेको छ । त्यसमा पनि मुख्य सहर विराटनगरमा महत्त्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसिटिभी फुटाइएका छन् । 

मोरङको लेटाङ नगरपालिकामा गत असोज २१ देखि बेपत्ता भएकी १३ वर्षीय अंशु गौतमको उद्धारमा समेत प्रहरीलाई प्रविधि अभाव खड्किएको थियो । गौतमको शव १८ दिनपछि बीभत्स हत्या भएको अवस्थामा लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वनक्षेत्रमा टुक्राटुक्रा पारिएको अवस्थामा फेला परेको छ । घरबाट पिङ खेल्न निस्केकी बालिकाको अपहरणपछि बलात्कार गरेर हत्या भएको प्रारम्भिक अवस्थामा देखिएको छ । 

प्रवक्ता चुँडालका अनुसार उक्त घटनामा अहिलेसम्म एउटा क्लुबाहेक अन्य कहीँ केही फेला पार्न सकिएको छैन । बचेको एउटा सिसिटिभीमा उनी एक्लै देखिएबाहेक अन्य कुनै पनि सुराक नपाउँदा शव फेला परेपछि पनि संलग्नको पहिचान हुन नसकेको हो । घटना अनुसन्धानमा अहिले जिल्ला, प्रदेश र केन्द्रको टोली केन्द्रीय भएको प्रवक्ता चुँडालले जानकारी दिनुभयो ।  

सिसिटिभीमा पुगेको क्षतिले अहिले अपराधबाट हुने क्षति पनि बढ्दै छ । विराटनगरमा भएका पछिल्ला दुई दुर्घटनामा संलग्नको पहिचानमा भएको असहज अवस्था वा लेटाङमा भएको जघन्य अपराधमा संलग्नको पहिचानमा भएको समस्या यसैको कारण रहेको प्रहरीको भनाइ छ । 

प्रवक्ता चुँडालले तत्काल सिसिटिभी लगाउन प्रहरीसँग स्रोत छैन । यसअगाडि पनि निजी क्षेत्रलगायत दातासँगको सहकार्यमा जडान गरिएका सिसिटिभी आन्दोलनको निसानामा परेपछि समस्यामा अपराध अनुसन्धान गर्ने पाटो परेको हो । सहयोगको अपेक्षा राखिए पनि प्रस्ताव लिएर प्रहरी पुग्न सहज मानिरहेको छैन किनकि सरकारी संरचनामा पुगेको क्षति र त्यसको मर्मतमा अहिले निजी क्षेत्रले सहयोग गरिरहेको छ । यस्तो बेला सडकका सिसिटिभीका लागि सहयोग माग्न प्रहरीलाई मन छैन ।