सोलुखुम्बु, कात्तिक १२ गते । हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सल्लाहकार एवम् अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ ।
सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयवासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । दुवै महान महिलाको नाममा पासाङल्हामु निकोल निक्की अस्पताल स्थापना भएको अहिले २० वर्ष पूरा गरेको छ ।
फोनिजका सल्लाहकार एवम् अस्पतालका निर्देशक पासाङकाजी शेर्पाले अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आपत्कालीन उपचारदेखि हड्डी र आँखासम्बन्धी स्वास्थ्य शिविरसम्म निरन्तर सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार, हिमाल आरोहण र ट्रेकिङका क्रममा घाइते हुने पर्यटकहरूलाई तत्काल रेस्क्यु गरी उपचार गर्ने व्यवस्था गरिएको छ । सोलुखुम्बुका चौंरीखर्क, लुक्ला, सेर्कु र नाम्चेसम्मका बासिन्दाले पनि यसै अस्पतालबाट उपचार लिँदै आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले उक्त अस्पताललाई स्विस–नेपाली मित्रताको प्रतीक भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो ।’’
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीय तथा पर्यटक दुवैका लागि जीवनरक्षक भूमिका खेलेको बताउनुभयो । “यो अस्पतालले प्रसूति सेवा, गर्भाशय उपचार, निःशुल्क औषधी वितरण र हिमाली स्वास्थ्य सचेतनामा अमूल्य योगदान पुर्याएको छ,’’ उहाँले भन्नुभयो । स्विजरल्याण्डबाट आउनुभएको अस्पतालका संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विस दाताद्वय रब र राल्फको सहयोगमा स्थापना भएको ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ले अस्पतालमा जन्मिएका प्रत्येक बालबालिकालाई कक्षा १० सम्म वार्षिक २२० स्विस फ्राङ्क छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष मात्रै २६१ बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
२५ शय्या क्षमताको यो अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन् । अस्पतालले आफ्नो २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् उत्पादन गरी स्वावलम्बी रूपमा सञ्चालन गरिरहेको छ । आर्थिक अभाव भएका बिरामीहरूको निःशुल्क उपचार गर्ने तथा काठमाडैँ रिफर गर्नुपर्ने अवस्थामा समेत आर्थिक सहयोग गर्ने परम्परा अस्पतालले निरन्तरता दिएको छ ।

कार्यक्रममा पासाङल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, पासाङल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, स्विसका पूर्वराजदूतसहित तीन दर्जनभन्दा बढी स्विस नागरिक उपस्थिति थियो ।
पासाङल्हामु निकोल निक्की अस्पताल आज केवल सोलुखुम्बुको गौरव मात्र होइन, सारा देशका लागि एक नमुना सामुदायिक अस्पतालका रूपमा स्थापित भइसकेको छ, जसले स्वास्थ्य, सहयोग र समर्पणको उज्यालो हिमालमा फैलाइरहेको छ ।
