सन्तोष राउत
सोलुखुम्बु, कात्तिक १२ गते । हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा हिमपात भएको छ । देशभर मौसममा आएको परिवर्तनसँगै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।
पर्यटकीय सिजनमै खुम्बु क्षेत्रमा हिमपात भएपछि पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटक होटेलमै सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकको सुरक्षा र आवश्यक सुविधाका लागि सुरक्षित रहन आग्रह गरेका छन् ।
सगरमाथा आधार शिविर, तेङ्बोचे, लबुचेलगायत स्थानमा हिमपात भइरहेको जनाइएको छ । हिमपात भएको माथिल्लो क्षेत्रमा करिब एक हजार विदेशी पर्यटक तथा तिनका सहयोगी पुगेका छन् । यस सिजनमा घुम्न आएका पर्यटकलाई हिमपातका कारण असहज बनाएको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले चिसो बढेपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । धान भित्र्याउने समयमा पानी परेकाले तल्लो क्षेत्रका कृषक मारमा परेका छन् ।