रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १२ गते। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर कात्तिक १५ गते शनिबार भव्य धार्मिक मेला लाग्ने भएको छ ।
प्रत्येक वर्ष कात्तिक महिनामा मनाइने हरिबोधनी (ठुलो) एकादशीका दिन रेसुङ्गा धाममा विशाल एकादशी मेला लाग्ने गर्दछ । यहाँ देशका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु भक्तजन स्नान, पूजा–पाठ, दर्शन तथा भजन–कीर्तनमा सहभागी हुन आउने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
मेलाको मुख्य आकर्षणमा महापोखरी स्नान, यज्ञशाला दर्शन, सिद्धस्थान (सानो रेसुङ्गा), विष्णुपादुका, रामकुवा, भ्यु–टावर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको दर्शन, भजन–कीर्तन र धार्मिक प्रवचनका कार्यक्रमहरु रहनेछन् । धार्मिक आस्थासँगै सांस्कृतिक समृद्धिको प्रतीकका रूपमा स्थापित रेसुङ्गाधामको यो मेला व्यवस्थित र सफल बनाउनका लागि समितिले सातवटा उपसमिति गठन गरेको उहाँले बताउनुभयो ।
मेलालाई सफल बनाउन तम्घासमा क्रियाशील विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । नेपालकै चार धाममध्येकै एक धाम पर्ने रेसुङ्गाको महापोखरीमा नुहाउँदा भूलवश भएका पाप नष्ट हुने धार्मिक मान्यता रहेको बताइएको छ । लक्ष्मीनारायणद्वारा निर्मित महापोखरीमा अयोध्याको सरयू नदी, प्रयागका गङ्गा, जमुना, सरस्वती, काशीकी भागीरथी, गया, कौशिकी, मुक्तिनाथ, कालीगण्डकी, मानसरोवरबाट ल्याइएको जल राखिएको महापोखरीको स्नान गर्नाले पनि ती सबै पवित्र नदीमा स्नान गरे बराबरको अनुभूति हुने र पुण्य प्राप्त हुने अध्यक्ष भुसालले बताउनुभयो ।
पवित्र मनले मागेको वर प्राप्त हुने ऐतिहासिक प्रमाण भएका कारणले पनि दैनिक रुपमा भक्तजन रेसुङ्गाधाममा रहेका मन्दिरहरुको दर्शनका लागि पुग्ने गर्छन् । यहाँ गुल्मीका विभिन्न स्थानका साथै अर्घाखाँची, पाल्पा, स्याङ्जा, र बागलुङजस्ता छिमेकी जिल्लाबाट समेत भक्तजहरु आउने गर्दछन् । पछिल्लो समय रेसुङ्गामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको उपस्थिति पनि बाक्लिएको छ । दैनिक रुपमा रेसुङ्गामा कुनै न कुनै स्थानबाट भक्तजन आउने क्रम बढेको देख्न सकिन्छ ।
रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको दूरीमा अवस्थित रेसुङ्गाधामसम्म अहिले पक्की सडक पुगेकाले यात्रा सहज र आरामदायी बनेको छ । प्राकृतिक सुन्दरताका साथ धार्मिक आस्थाको संगम बनेको रेसुङ्गा क्षेत्रलाई यस वर्षको हरिबोधनी एकादशीले झनै धार्मिक उत्साह र सांस्कृतिक रङले भरिदिने अपेक्षा गरिएको छ ।