• ११ मंसिर २०८१, मङ्गलबार

चिकित्सकले छ महिना देखि तलब पाएनन्

blog

सदरमुकाम दमौली स्थित दमौली अस्पताल । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २७ गते । तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले ६ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । लामो समय देखि तलब नपाउँदा ऋण खोजेर दैनिक खर्च टार्नु परेको चिकित्सकले बताएका छन् ।

अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि हाल सम्म तलब भत्ता पाउन नसकेका हुन् । पटक पटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि तलब भत्ता भुक्तानी हुन नसकेको चिकित्सकले बताएका छन् । नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलब भत्ता भुक्तानी हुन नसकेको दमौली अस्पतालले जनाएको छ ।

अर्थ  मन्त्रालयले तलब निकासी नगरिदिएको र अस्पतालको आन्तरिक कोषमा पनि रकम नभएकोले तलब खुवाउन नसकिएका दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । चालु आर्थिक वर्षको साउन देखि नै तलबको रकम निकासी नभएको समस्या भएको  थापाले जानकारी दिनुभयो । आन्तरिक कोषबाट साउन र भदौ गरी दुई महिनाको तलब प्रदान गरिएको भए पनि त्यसपछि दिन नसकिएको उहाँले जानकारी दिनुभयो । ‘‘अस्पतालले तलब भत्ता रकमको लागि माग गरी पठाए पनि निकासी नआएकाले तलब भत्ता बापतको रकम भुक्तानी दिन सकिएको छैन, समितिका अध्यक्ष थापाले भन्नुभयो, आन्तरिक कोषमा रकम नभएकोले तलब खुवाउन सक्ने अवस्था छैन’’। दुई महिनाको तलब पनि अर्थ मन्त्रालयबाट आए पछि भुक्तानी लिने गरी सापटी दिइएको समितिले जनाएको छ ।

नर्सिङ अधिकृत सिर्जना आले तलब नपाउँदा दैनिक जीवन यापन गर्न असहज भएको बताउनुभयो । ‘‘जागिर खाएकाले घर परिवारलाई पैसा  दिनु पर्ने हो तर उल्टो माग्नु पर्ने अवस्था आएका छ ’’ आलेले भन्नुभयो । तलब नपाउँदा कार्यरत सबैलाई बिजुली, पानी, खाद्य सामग्रीको भुक्तानी दिन कठिन भएकोले सापटी तथा ऋण खोज्नु पर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । मेडिकल अधिकृत तथा नर्सिङ अधिकृत लगायतको गरी १५ जनाको तलब भुक्तानी दिन नसकिएको समितिले जनाएको छ ।