• ११ मंसिर २०८१, मङ्गलबार

जितु र साम्राज्ञी ‘पर्फेक्ट’ कलाकार

blog

काठमाडौँ, माघ २४ गते । डा. कपिल रिजाल पेसाले दन्तचिकित्सक हुनुहुन्छ। डा. रिजाल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुनुहुन्छ। तीन दशकभन्दा बढी समयदेखि बेलायतमा कार्यरत डा. कपिल आफ्नो चिकित्सा पेसामा मात्र सीमित हुनुहुन्न। उहाँ निर्मातासँगै निर्देशक पनि हुनुहुन्छ। लन्डनमै बसेर चलचित्र निर्माणमा सक्रिय उहाँका सर्ट फिल्महरू ‘कर्मा : लाइफ इज अ बुम-याङ’, ‘यु गेट ह्वाट यु गिभ’ युट्युबमा हेर्न सकिन्छ। अहिले रिजालले निर्देशन गर्नुभएको चलचित्र ‘ह्यारीकी प्यारी’ देशभर प्रदर्शन भइरहेको छ। ‘ह्यारीकी प्यारी’ दुई फरक पात्रहरू प्रेममा पर्दा उनीहरूबीच आउने उतार–चढावको कथा भएको डा. रिजाल बताउनुहुन्छ।

चलचित्रका लागि मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी शाह नै किन त भन्ने प्रश्नमा डा. रिजालले भन्नुभयो, “मलाई बिल्कुलै नयाँ तथा फरक देखिने पात्र चाहिएको थियो। जुन मैले जितु र साम्राज्ञीमा पाएँ।” चलचित्रमा काम गर्न तपाईंलाई शारीरिक फिटनेस र राम्रो लुक्सको आवश्यकता त अवश्य नै पर्छ तर सबैमा यही लागू हुन्छ भन्ने हुँदैन भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “मैले दुवैलाई मेरो चलचित्रमा मुख्य भूमिकामा फिट हुने देखेँ र उनीहरूलाई अभिनयमा उतारेँ। म चलचित्रमा बिल्कुलै फरक चरित्र देखाउन चाहन्थेँ। मलाई पात्रलाई न्याय दिन सक्ने कोही चाहियो। जितु नेपाल उत्कृष्ट कलाकारमध्ये एक हुन्, जसले विगत २७ वर्षदेखि यो क्षेत्रमा दर्शकलाई हँसाउने कमेडी गरिरहनुभएको छ। उहाँ गम्भीर चरित्रका लागि उपयुक्त हुनुहुन्छ। चलचित्रका लागि साम्राज्ञी सधैँ मेरो पहिलो रोजाइ हुन्। म चलचित्रमा धनी, प्रसिद्ध र जिद्दी भएको चरित्र हेर्न चाहन्थेँ र चलचित्रमा यो भूमिकाका लागि मैले साम्राज्ञीलाई पर्फेक्ट पाएँ।”

निर्देशकका हिसाबले सर्ट या फिचर फिल्म जस्तो भए पनि दुवैमा काम उत्ति नै गर्नुपर्ने हुन्छ। सर्ट फिल्महरूमा हरेक दृश्यका सटहरू लिनुपर्छ। जसमा सानो–सानो सटहरू जोडेर चलचित्र बनाइन्छ तर फिचर फिल्महरूमा अलिक बढी जिम्मेवारी हुन्छ। फिचर्ड फिल्ममा धेरै कलाकार, टेक्निसियन हुन्छन्। म आफूलाई यो कुरामा एकदमै भाग्यमानी ठान्छु, किनभने मैले यो चलचित्रमा काम गर्दा कलाकार र टेक्निसियनहरूको निकै राम्रो साथ पाएको छु।

“म अहिले बुवाको बीआर प्रोडक्सनलाई अगाडि बढाउने योजनामा छु। चलचित्र ‘ह्यारीकी प्यारी’ मात्र नभई म अहिले दुई/तीनवटा चलचित्रको स्क्रिप्टमा काम गर्दै छु। हाम्रो टिम अर्को चलचित्र पनि बनाउने योजनामा ​​छ। चलचित्र निर्माण मेरो नयाँ पेसा हो र अब म चलचित्र निर्देशकका रूपमा चिनिन चाहन्छु। त्यसमाथि रगतमै डक्टरी पेसा र चलचित्र छ, त्यसैले पनि म यी दुवै क्षेत्रमा रमाइरहेको छु,” रिजाल भन्नुहुन्छ। डा. रिजालले नेपाल र लन्डनमा गरी हालसम्म करिब एक दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसक्नुभएको छ।