नेत्र शाही
जुम्ला, माघ २३ गते । तीन वर्षदेखि टहरामा बास बस्दै आउनुभएकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले तत्काल एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास बन्ने आशा जागेको छ ।
गुठिचौर ५ निवासी ४० वर्षीय बीजमाया जैसीको ३ वर्षदेखि हिउँले घर भत्किदा परिवार टहरामा बसिरहेको छ । गाउँपालिकामा दिएको निवेदन अनुसार गाउँपालिकाले बजेट विनियोजन गरेकोले घर बन्ने केही आशा जागेको जैसीले बताउनुभयो । उहाँले सहयोगका लागि गाउँपालिकालाई धन्यवाद पनि दिनुभयो ।
जैसीको परिवारमा श्रीमान्, १५ वर्षीय छोरा र ११ वर्षीय छोरी हुनुहुन्छ । सबै जना त्यही टहरामा बस्न बाध्य हुनुहुन्छ । १२ वर्षअघि घर छोडेर गएका श्रीमान् घर फर्केको तर ज्यान मात्रै लिएर आएको जैसीले बताउनुभयो ।
गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरबास विहीन जैसीको घर निर्माणका लागि पालिकाले सुरुवात गरेको र थप सहयोगको प्रयास गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले थप सहयोगका लागि कानुन अनुसार मिल्ने केही बजेट भएमा पनि गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो । उहाँले आवासका लागि अन्य गैरसरकारी संस्था तथा निकायहरूले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गर्नुभयो ।
जैसीको पुरानो घर ठिकै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहनु भएको थियो । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्किएको हो ।
‘‘घर बनाएको जग्गा माइतीले दिएका हुन् । घर बनाउने पैसा थिएन । त्यही भत्केको घर नजिक काठको टहरा बनाएको हुँ । उहाँ भन्नुहुन्छ, अरू दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुख दुःख साट्छन् । मेरो त्यो बाटो पनि छैन । आफ्नो मात्रै मेहनतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको छ ।’’