• ८ मंसिर २०८१, शनिबार

यात्रासंस्मरण

घाटखोला भएर घोडादाउन्या

blog

मुखैभरि माखैमाखा !

राति नि झिङा भन्केर मुखमा बस्थे । मुख छोपे सास फेर्न गाह्रो हुने– नछोपे मुखमा माखा बसेर हैरान । कत्ति गरे नि म सुत्नै सकिनँ ।

बिहान चैनपुरबाट आइपुगेथ्यौँ ।

दिउँसोबाट सुरु भएको धर्म, संस्कृति र कलाको सङ्गम चम्किरह्यो अबेर साँझसम्म । देउडाका चाल नरले नि चाले, नारीले चलाए । ती सुरिला, स्वादिला र सुनिरहँ लाग्ने देउडामा घण्टौँ नाचेँ मै पनि ।

राति सिस्नोको झोलसँग निउरो र भात खाइयो । लेकको निगुरो र सिस्नो साह्रै मीठो लागेथ्यो ।

हुनसम्म थुप्रेका थिए मान्छे ।

खप्तडको गङ्गा दशहरा मेलामा उर्लेको मान्छेको कुडुलो बेपत्तै थियो । हामीलाई बस्ने मेलोमेसो मिलाइएको थियो– ईश्वर निम्न माध्यमिक विद्यालय, घाटखोला, छान्नामा । बझाङको बेपत्तै कुनाको यो ठाउँ पहाड, नदी र लेकको लोभ्याउँदो सुन्दरताले मन भरिएको थियो ।

मान्छे घुर्ने र माखा भुनभुनाउने एकनासले भएपछि बिहानको तीन बजे नै उठेर म हातमुख धुन थालेँ । शशी, त्रिभुवन र लोकराज साथी थिए ।

‘तपाईं सुतिरहने हो भने हाम्रो भेट नहोला नि !’

कोल्टो फेरी–फेरी सुतिरहेका मोतीराज बमलाई उठाइछाडेँ मैले ।

त्यसपछि हामी खप्तड लाग्ने तयारीमा जुटेका थियौँ । अघिल्लै दिन शेरबहादुर रोकायले भारी बोक्ने भरिया खोजिदिउँला भनेकाले मन अडिलो भा’थियो । 

अनि रिमरिम उज्यालो खसेपछि माझी गाउँ झरेथ्यौँ हामी । नाम्लो र डोरी लिएर सिद्ध सेराला उभिइरहेका रहेछन् । धौलीगाड छेउको छाप्रोमा कालो चिया खाँदै सेरालासँग ज्याला दिने कुरा भयो ।

अनि उनी हाम्रा भारी बोकेर उकालो लागे । सेरालालाई पछ्याउँदै बाटो लाग्यौँ हामी ।

‘देवताले बनाएको बाटो हो । गुफा छन्, बनैबन छन् ।’

रोकायले भनेथे ।

अघिल्लो दिन नै शेरबहादुरले भनेथे– ‘खप्तड त देवभूमि हो । त्यहाँ पुग्न बनाएको बाटो कष्टकर छ । देवताले बनाएको बाटोमा मान्छेहरू हिँड्छन् ।’

‘देव आज्ञा मान्छेहरू मान्छन् । त्यसलाई नाघ्दैनन् । त्यै भएर बेलैमा बास बस्छन् ।’

सेराला बाटो लागे । सँगै हिँडौँ भनेको थिएँ । तर उनका लम्केका गोडामा हाम्रा ल¥याङत¥याङले काँ पो भेट्नु र !

पानी परे मेरो ओडा उनीसँगै थियो । त्यै भएर सँगसँगै लम्कौँ भनिरहेको थिएँ म । 

०००

खोला तरेपछि माझी गाउँ आयो । गहुँ काट्ने, चुट्ने, सुकाउने र थन्क्याउनेको चटारो देखिन्थ्यो । तीन–चार घर थिए गाउँमा ।

हामी बाटोमा भेटिएका चुत्रो खाँदै लम्किरहेका छौँ । घमाइलो छ दिन । वरिपरि डाँडा भएका र हरिया थुम्काले मनै चुलिएको छ ।

चौडा गाउँ पुगेपछि मैले लट्ठी नसमाई धरै पाइनँ । पानी कुलकुलाएका बारीका पाटाहरू । त्यही बारीको डिलमा कुदेको छ गोरेटो । उकालो, तेर्पे र दम्साइलो उकालीमा लम्किरहेको छु म । अरूहरू लम्की–लम्की उकालिएका छन् ।

‘मैले युद्ध जित्नु छैन !’

‘आफ्नो ज्यान नगलाई पु¥याउनु छ खप्तडको लेकमा !’

माथि पुगेर चाँडो आइज–आइज भन्नेहरूलाई उत्तर दिइरहेको छु म । चौडा गाउँमाथि पुगेर हेर्दा गहुँ काट्ने आइमाई र केटाकेटीहरू बगुन्दै्र भेटिन्थे ।

दुईवटा निगालाका लट्ठीले गहुँका बाला स्वाट्ट मास्तिर तान्यो । अनि कम्मरमा बाँधेर अड्काएको हँसियाले बालासँग आएको गहुँको नल चुटुक्क काट्यो ।

गहुँ काट्ने अनौठो तरिका देखिरहेको छु म ।

अडिई–अडिई हेर्छु म गहुँ काटेको । 

बिहानै भएर के गर्नु ? लगाएका लुगा कता फालुँ हुन थाल्यो । नाकका डाँडीमा उम्रिएका पसिना शरीरभरि बाक्लिन थाले ।

‘पानी छैन ?’

सोध्छु । सबै खोला देखाउँछन् । बोतलमा छ भन्दैनन् ।

बिहानको छ बजे हिँडेका हामी– पातलो घामले खुट्टाको शक्ति सोसेर ढलाउला गर्न थाल्यो । थकाइले होला– ढुङ्गा, आली, ढिस्को, पोथ्रा जे देखे नि अडेसिन मन लागिहाल्छ ।

वरिपरि पहाड छन् परीपरीका । बादल ओर्लिरहेका, बर्सिन खोजिरहेका र गज्मौरिएर परुँला–परुँला भइरहेका देखिरहेको छु म ।

सोते बस्ती छ पातलो । गहुँ बारीको पहेँलपुरमा ठाउँ–ठाउँ हरिया धानका ब्याड टुप्लुकिन्छन् ।

के विधि गजबको ठाउँ !

म कम्मरमा हात लगाएर उभिरहन्छु । उत्तरदेखि दक्षिणतिर सम्मिएर गएको खेतको तरेलीमा मग्न भइरहन्छु... भइरहन्छु... ।

खोल्सामा मुख गाडेर पानी खाएँ । साथीहरू कहिले अघि, कहिले पछि भइरहेथे । 

०००

बालुगाड पुग्नुअघि निकै खोल्सो तर्नुप¥यो । तेर्पे उकालो निकै लम्केपछि छङछङ खोलो भेटियो । बिहान नाघेको धौलीगाड नै रहेछ यो पनि ।

‘बेलैमा बाटो काट्नुपर्छ । भरे असिना–पानीले भेट्टाउला ।’

सेरालाले बिहान भनेका थिए । त्यो कुरालाई मनैमा राखेको छु । तर फटाफट हिँड्नै सक्दिनँ । हिँड्नु छ बिसाई–बिसाई ।

लट्ठीको झुस बिझेर बूढीऔंँलामा ठेला उठ्लाजस्तो भइसक्यो । कालो भएछ औँलो रगत पिल्लिएर ।

वनदेवीलाई पाती चढाउँदै हामी दक्षिणतिर लुइँलुइँ लागिरहेका छौँ । कलकल, छलछल, कुलुकुलु, अटुट छ खोलाको मीठो धुन । त्यै धुनमा मिसिएर पाइला लम्काइरहेको छु ।

लोकराज पात बजाउने, सुसेली हाल्ने, टुक्का जोड्ने गरेर लम्काइरहेछन् सबैलाई । उनकै तालमा साथीहरू गइरहेछन् । मै नि लम्किरहेछु एकसुरले ।

सेरालाको नाकमुख देख्दिनँ । बेगिएर काँ पुगे, कता पुगे– कुनै पत्तोफाँट छैन । खोलाभरि लुगा सुकाएका देखिए । अनौठा ढुङ्गाहरूमा रङ्गीचङ्गी सुकाइएका लुगाले– थप रमाइलो पारिरहेथ्यो आँखालाई ।

‘अब त आयो कि ?’

‘आउन त आयो– खाने ठाउँ हैन, पढ्ने ठाउँ !’

लोकराज अघि पुगेर भट्याइरहेथे हामीलाई ।

मेलतडी माध्यमिक विद्यालय लम्तडा, छान्ना लेखिएको पाटी देखियो । चौरमा पाँच–सात ससाना भुरा थिए । लोकराज त कक्षाभित्रै गएर पढाउनै पो थालेछन् । लौ हेर, तिनको पारा !

हामी दक्षिणतिरको दम्स्याइलो उकालो भएर बस्ती पस्यौँ ।

‘यो दारु गाउँ !’

मोतीराजले चिनाए ।

नाम दारु भए नि खान र खुवाउन पूरै रोक्का रहेछ । हामी बस्ती बीचमै पुग्यौँ । त्यहीँ रहेछ बिहानको खान्तेपिन्तेको व्यवस्था ।

बिहानको नौ बजे बल्ल खानेकुराको जोहो भयो । अघिल्लो दिन हराएका साथीहरू त्यहीँ टुप्लुकिए ।

चैनपुरमा अघिल्लो दिन बिहान सुर्मादेवीको आँगनमा सँगै पुरी खाँदा भेटिएकाहरू अहिले पनि पुरी थप्ने बेलामा भेटिए । हाँसो पनि उठ्यो । मैले उनीहरूलाई छोडेको, उनीहरूले मलाई छोडेको– रन्थमोल भएछ । जिन्दगीमा कहिलेकाहीँ बिना बित्थाको घनचक्करमा परिँदो रहेछ ।

‘त्यै पल्लो घर त हो नि । जीते खड्काको घर ।’

‘त्यहीँ बसेथे नि चालीस वर्षजस्तो, खप्तड स्वामी ।’

मोतीराजलाई बर्कबहादुर रोकायाले देखाए ।

अनि मोती र म घरको आँगनतिर गयौँ । नाकमा निकै ठूलो फुली र बुलाकी लाएकी बूढीआमैले केरसाको पूmल टिपेर हाम्रा हातमा थमाइन् । 

‘यीँ बस्या थे !’

मैले खप्तड बाबाबारे सोधीखोजी गर्दा उनको उत्तर आयो । सेतो रङको दुई तले घरमा काला छानाको सुन्दरता भव्य थियो ।

म फेरि भतेरको भीडमा मिसिएँ । मेला भर्न जानेहरूलाई यै गाउँमा भेला पारेर बिदा गर्ने चाँजोपाजो रहेछ ।

सेरालाको गनगन छ चर्कै ।

‘डोको नभई भारी बोक्न गाह्रो भयो । डोरी लामो चाहियो । प्लास्टिक नभई भरे पानीले भारी भिजाउला ।’ 

अनि यताउता बुझ्यौँ पनि– समस्या मेटाउन । 

खड्काको घर उत्तरको गोठमा डोको भेटियो । बाटामा भेटिएका बूढा मान्छेलाई हात जोडेँ मैले– ‘यो डोको भोलि जस्ताको तस्तै आइपुग्छ । आज हाम्रा झोला बोक्न लान्छौँ है ।’

‘भइजान्छ । लानु–लानु ।’

अनि हाम्रा झोला, ब्याग, उरुङखात पोका–पन्तुराले भारीमा कसिने मौका पाए । बोक्नेले नि खुसी भएर पाइला चाल्ने भए । 

०००

दारु गाउँबाट दक्षिणतिर पाइला चाल्दा घामले पगालुँला जस्तो गरेको थियो । अनि हामी पसिना पुस्दै–पुस्दै पैताला सार्न थालेका थियौँ ।

‘त्यो जयपृथ्वीबहादुर सिंहको दरबार ।’

पिँढीमा बसेर गहुँ कुटिरहेकी रावलनीले भनिन् ।

‘कता ?’

मैले सोधेँ ।

‘हपुर !’

उनले माथितिर देखाएकी थिइन् ।

बझाङको यो अनकन्टार गाउँमा भाषा बुझ्नै गाह्रो भइरहेको छ । तललाई तलै भने पनि मास्तिरलाई ‘हपुर’ भन्दा रहेछन् ।

दुमखेत गाउँ पुग्दा सातै जाने गरी गर्मी र तिर्खाले गल्यायो । मैले बिहानै पानी बोक्ने तुम्लेटको जोहो घाटखोलामा गरेको त थिएँ । हतारमा छुटेछ त्यो पनि । हेर, मेरो सुद्धि !

मेलतडी गाउँ निकै मलिलो र रसिलो लाग्यो । बाह्र–पन्ध्र घर थिए । ढुङ्गा छापेर निकै सिँगारिएको लाग्थ्यो ।

‘हामी कति बजे पुग्छौँ ?’

‘खप्तड पुग्न पाँच घण्टा लाग्ला ।’

बिहान घाटखोलामा सुनेको यो कुरा । तर अझै पाँच घण्टा लाग्ने छनक देखा प¥यो ।

म मिसिन्न साथीहरूसँग । आफ्नै तालमा लम्केको छु । अरूले छोड्छन् । फेरि म उनीहरूलाई भेट्छु । भेट–छोड भइरहन्छ पटक–पटक ।

‘माथि कुन गाउँ ?’

पानी खाँदा धाराबाटै सोधेँ मैले ।

‘हप लोखडो ।’

कन्पारो पखालिरहेकी बूढीले भनेकी थिइन् ।

मसँगैका मोतीराजले अथ्र्याए– ‘लोखडा गाउँ आउँछ रे !’ 

०००

त्यसपछि लेकाली उकाली सुरु भएथ्यो । हो, निकै नै उकाली । सासै फुल्ने उकाली । नौनाडी गलाउने उकाली । असिनपसिन गराउने उकाली ।

राम्रो के थियो भने ढुङ्गा छापेर बाटोलाई सजिलो पारिएको थियो । तर तिनै ढुङ्गेनी उकालीमा आइजाई गर्ने घोडाका बथानले बाटोका ढुङ्गा हुनसम्म हुत्याउने र बाङ्गाटिङ्गा पारेका रैछन् । जुत्ता ठेस लाग्थे घरी–घरी ।

वारिको चुचुरो हामी उक्लिइरहेथ्यौँ कनी–कनी । पारिपट्टि डाँडामा गोठहरू बादलमा देखिने र झुल्किने गरिरहेथे । बेला–बेलामा हावा कराएको सुनिन्थ्यो । कहाँ हो पर बादल गर्जेको सुनिन्थ्यो ।

त्यो सुनेपछि मन अत्तालिएर आउँथ्यो ।

गर्मीले जिउभरि खोला कुदेका छन् पसिनाका । निकै उकालोमा छौँ । हावा चल्दैन । वनमा रुखपात नि सासै नफेरेर बसेजस्ता ।

जात्रा र मेला भर्न मोटीघाटीहरू बोकेर उकालिएका घोडा पनि धकाएका छन् । घोडा बड्किँदा अत्तालिएका धम्मरधुस मोटीहरू पटक–पटक कराएको सुन्छु म ।

‘हत्तेरिका के यस्तो तिर्खा ?’

आँत हर्हराउँछ ।

उकाली, घना जङ्गल र एकलाससँग भेट भइरहन्छ । चकमन्नमा मन हराउँछ । बिलाएको मनलाई साथी बनाएर फेरि लम्कन्छु ।

बाटोमा जयदेव, ठाकुर र अश्विनीहरू भेटिन्छन् । हाँसो, खित्का, उदासी र पीडासँगै परिचय हुन्छ । 

बिसाउने र लम्कने गति भइरह्यो । मैले आफ्नो पारा छोडिनँ । आफ्नो गतिलाई एकैनास बनाएँ ।

उकाली, झ्याम्म वन कटेपछि तीनवटा ‘छाना’ भेटिए । गोठलाई ‘छाना’ भन्थे बझाङ्गीहरू । छाना भए ठाउँ खुल्ला, फाँटिलो र उज्यालो थियो । 

०००

लोखडामा पाँच सात घर थिए । यहाँ भरपेट पानी खाएँ मैले । एउटा पसल नि थियो । पसलमा बाटो कटनीलाई खत्राकखुत्रुक किनेँ ।

‘भात पाइन्न ?’

साथीहरू सोध्दै थिए ।

बिहानको पकवानले छोडेछ । फेरि धेरैलाई तातो भातै चाहिन्छ । उकालीले गलाएको, जाडोले च्यापेको र थकाइले पेलेको ज्यानले अन्न खोजेको होला । लोखडा मलाई निकै मन प¥यो ।

यहीँबाट खप्तडको खास उकाली टुप्लुकियो ।

निकुञ्जमा सेनाको श्री गुरु गोरख गुल्म बसेको रहेछ । सेनाका जवानहरूले हाम्रा झोला र ज्यान जाँचे ।

‘यसो पिउने जिनिस छ कि ?’

त्यसोभन्दा जवानका बूढी औँला ओठतिर तेर्सिएका थिए ।

‘छैन, काँ हुनु ? ज्यान त ल्याइपु¥याउन यति सकस छ ।’

मोतीराज बोले ।

‘परानै जालाजस्तो छ । त्यो बोतल झन् कसरी बोक्नु ?’

ठाकुरले थपथाप पारे ।

अनि हामी लागेथ्यौँ लेकतिर । खप्तडको अनकन्टार लेकतिर । 

यसो तेर्पे लम्केपछि उकालीमा अरू पनि बसेका थिए । मैले घडी हेरेँ– दिउँसोको दुई बजेछ । पाँच घण्टा दोब्रिएर कता पुग्यो कता । अझै त्यति नै समय लाग्ने छनक देखिँदैछ । 

०००

लोखडा माथिबाट झनै सुन्दर देखियो । चिसो हावा, शीतल दिन र हरियालीमा थपक्क तह–तह भई बसेको थियो– लोखडा ।

वन पस्ने बेलामा मैले अरूलाई छोडिदिएँ । एकनासले पारिका ‘छाना’ र लोखडाको सौन्दर्यमा मन फुकाइदिएँ ढुक्कले ।

सुरिला रुख भेटिए उकालीमा । चराका अनेक स्वरले वन भरिएको थियो । हाम्रा कान पनि रमाए ।

सेराला भेटिए बल्ल ।

‘तपाईंका पारामा हिँडे तीन दिनमा नि पुगिन्न । मैले त फर्कनुपर्छ । मेरा गाई र भुरा अर्काका जिम्मामा छन् ।’

सेराला फेरि लम्किहाले ।

जङ्गलमा राई सल्ला, कटुस, खस्रु थुप्रै बोट देखिए । ठाउँ–ठाउँमा ‘रुख बँधेरे’ गरेको भेटियो । सुकाउनलाई रुखमा पेटीजस्तो ताछेर काटेको देखिन्थ्यो जताततै ।

मेरो घाटीमा झ्याउको माला छँदै थियो । त्यसैलाई छामेर अकासतिर हेरेँ । किनभने गड्याङगुडुङ मज्जैले चर्कियो ।

‘परानी बचाउन मुस्किल छ !’

मोती पनि बझाङ्गी भाकामा बोल्थे । 

थाकियो । म त फाँट नकुरी ड्याम्मै बसेँ । साथीहरू रुखका फेद, ढुङ्गा, रुखका जरा, पतिङ्गर जतासुकै बसेका देखेँ ।

अकासे ‘गुडुर–गुडुर बाघ’ कराइरहेकै थियो । 

उकालो अनि तेर्पे । दम्स्याइलो उकाली अनि फेरि तेर्छो । हलुका ओराली अनि बाङ्गिएर गएको उकालो ।

लौ, यस्तै पो छ बाटो ।

बाटोमा झ्याउले घेरिएका सुरिला रुखले जून–घाम छुन कुदेजस्तो देखिन्थ्यो । बादल भेटेर कानमा सिउरिएर बसेजस्ता रुखहरू । तारासँग मुख जोडेरै ठिङ्गिएका हुन जस्तो अग्ला–अग्ला रुखहरू ।

‘लौन, सक्छौ भने यो पानी छेकिदेओ !’

‘लौन, यो बादल पर–पर धपाइदेओ !’

लम्किँदै बोलिरहेको छु म ।

मन अत्तालिएको छ । घनघोर बिजुली चम्किरहेको छ । गड्याङगुडुङ बढेकोबढेकै छ । मल्याकमिलिक चम्केकोचम्केकै छ । हावाको वेग, बिजुलीको वेग र पानीको वेग एक भएर हामीमाथि धावा बोलेकाबोलेकै छन् ।

यसो पूर्वतिर लागेपछि तलको लोखडा झुल्कियो । हरियो फाँटले मन शीतल पा¥यो । तर तिर्खा थपियो । किनभने पानी खान नपाएर प्याकप्याकी भएको छु म ।

निकै माथि पुगेपछि कुइराको मुस्लो बटारिएर आयो । अँध्यारो हुन्थ्यो रुखपात र सियालले । सबैका आँखामा डर उम्लिएको देखिरहेथेँ म ।   

०००

बाटबाटामा मसिना केटाकेटी ३०–४० केजीका भारी बोकेर उकालो खुरुर्र उक्लेका देखिन्थे । काँधमा, थाप्लामा, ढाडमा मात्र नपुगेर हत्केलामा नि तिनले झोलाझ्याम्टा बोकेका छन् ।

‘कतिकी भयौ ?’

‘एघारकी ।’

‘तिम्रो उमेर कति भो ?’

‘बाह्र टेकेँ ।’

अथवा पन्ध्र वर्ष तलका धेरै केटाकेटीले आफ्नो उमेरभन्दा दोब्बर भारी बोकेर उकालिरहेको देख्दा मन खिन्न हुन्थ्यो । आफ्नो त एक्लो ज्यान हिँडाउन नि हम्मे–हम्मे भइरहेथ्यो मलाई ।

दुःखले जुध्न सिकाउँदो रहेछ । दुःखले लड्न सिकाउँदो रहेछ । मैले लड्न र जुध्नलाई ज्यान अगाडि सारिनछु, पछाडि पारिछु । तर मसिना केटाकेटीले समयभन्दा चर्को पो जुध्न सिकेको हुन कि ! मनमा छटपटी पनि भइरहेको छ ।

यस्तै लागिरहेको छ यी मसिना केटाकेटी देख्दा । 

निकै माथि कुइनेटोमा गर्मीले गलेका भेटिए साथीहरू । तिनकै हुलमा म नि मिसिएर लम्पसार भएँ ।

उकालोले बोलाउन नछोडेपछि थाकेँ भनिरहनु भएन । उकालोले बोलाएको बोलाएकै गरेपछि भरे आउँछु भनेर बाटो छोट्टिने पनि होइन । अनि लागेँ म ।

निकै माथि ढुङ्गाको चेपमा अगाडि जानेले लेखेर टाँसेका रहेछन्– ‘यो प्वालमा एसी फिट छ । हावा एसीको मज्जा लिएर जानुस् ।’

मैले मुन्टो छिराएँ ढुङ्गा चिरिए ठाउँमा । हो, रैछ । चिसो न चिसो हावाले गाला, मुख, ओठ र टाउकोलाई चिस्यायो । मैले त हातलाई नि पालैपालो चेपमा सेकेँ । चिसिए हत्केला ।

अद्भुत आनन्दी आयो । 

०००

बाटो घुमेर पूर्वतिर लाग्यो ।

निकै उकालोपछि फेरि समथर टुप्लुकियो । हावा र गड्याङगुडुङले सबैका मनमा अत्याएको छ ।

जङ्गलमा न्याउली कराएको–कराएकै छ । हाम्रा मनमा गड्याङगुडुङले झम्टा मारेर सातो लिएको–लिएकै छ ।

निगालोघारी खुबै देखिन थाले ।

टाङ टिङ टाङ टिङ बजेको सुन्छु । यसो निहालेर हेरेको– घारीमा भैँसीका बथान र घोडा चर्दै रैछन् ।

‘यसबाट थाहा भो, अब पाटन नजिकै छ ।’

मोती बोले ।

उनको यत्ति बोलीले मलाई गतिलै भरथेग भो ।

गड्याम–गड्याम परपर गएको बादल वरवर आयो । आयो मात्र हैन सर्रसर्र बर्सियो पातलो पानी । हामी ओत लाग्यौँ । रातो माटो भ्यात्त–भ्यात्त भयो जुत्तामा ।

मैले २–४ वटा असिना ओठमा दलेँ ।

‘शीतल भो । अपारै शीतल भयो ।’

शशी थापालाई भनेँ ।

उनी सेराला भेट्न हुर्हुराइरहेकी थिइन् । सेरालासँग थियो हाम्रो ओढ्ने र छाता । 

००० 

ओरालोमा ३–४ जना तन्नेरी फर्किरहेका थिए । उनीहरूले हाम्रो हविगत देखेर भने– ‘अब पुग्नु भो । नआत्तिनुस् ।’

त्यसपछि तेर्छो केही हिँडेपछि हामी पुगेथ्यौँ घोडा दाउने पाटन ।

हो, पुगिएछ खप्तडको मूल लेक ।

अँध्यारोले घेरेथ्यो । थकाइले थिचेथ्यो । भोकले कसाएको थियो । तर यी सबै कुरा बिर्सेर म ओरालैओरालो झरेँ ।

अद्भुत डाँडा, थुम्का र भीरहरू देखिए । पूर्वतिर सेनाको ब्यारेक पनि टुप्लुकियो । 

तर ती सबै कुरा भोलिका लागि थाँती राख्दै म लम्केको–लम्केकै छु । ओरालो, तेर्छो, भीर र सुलुलु चिप्लिने तरेलीमा झरिरहेको छु ।

‘ती तीनवटा टहरा देख्नु भो नि । त्यहीँ हाम्रो बास छ । ती वीरेन्द्र राजाले बनाउन लगाएका रे !’

रेका कुरासँगै हिँड्ने ठाकुरले भनेको जस्तो लाग्छ ।

नभन्दै तेर्छो निकै हिँडेपछि गुराँसघारी भेटिए । अनि उकालोपछि हामी हुर्हुराउँदै माथ्लो टहरामा पस्यौँ ।

अनि सुरु भयो असिनापानी, आँधीबेरी, हुरीको अन्धमुस्टि नाच !

निरन्तर परेको असिनापानीले ढोका भित्रैसम्म एक मुठी बाक्लो धर्ती छोपेको छ । छानो उड्ला जस्तो, गारो भत्केला जस्तो, झ्याल फुट्ला जस्तो गरी बर्सिरहेको छ– गरङ... गरङ... असिनापानी ।

बीसजना पनि मुस्किलले नअट्ने टहरामा पचास जनाभन्दा बढ्ताको हुल छ यहाँ । एउटा बेग्लै अत्यास, एउटा भिन्नै सन्त्रास र एउटा भिन्नै कहाली छातीमा कुदेको–कुदेकै छ ।

३० वैशाख २०७५ ।

खप्तडको कहालिँदो रात चारैतिरबाट सोहोरिएर यो लेकमा आइरहेछ... आइरहेछ... ।