• ९ मंसिर २०८२, मङ्गलबार

११ औं उद्योग दिवसमा उत्कृष्ट उद्यमी सम्मानित

blog

सम्मानित हुने गुल्मेली उद्यमीहरु । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा (गुल्मी), मंसिर ९ गते। ११ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीले कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

पुरस्कृत हुनेहरुमा १६ आवेदकमध्ये आठ जनालाई नगदसहित पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । रेसुङ्गा नगरपालिका –८ स्थित भलामी कृषि फर्म र मुसिकोट नगरपालिका –१ स्थित रचेबाजियाल ड्रागन, प्यासन फलफूल विकास परियोजना फर्म प्रथम भएको छ। त्यस्तै, रेसुङ्गा नगरपालिका –६ स्थित समिर कृषि तथा पशुपंक्षी फर्म र रेसुङ्गा नगरपालिका –८ स्थित न्यू पोखरेल बेकरी तथा चाउमिन उद्योग द्वितीय भएका छन्।

मुसिकोट नगरपालिका –४ को सालिमे किबी तथा पशुपंक्षी फर्म, रेसुङ्गा नगरपालिका –४ को शैलेस सिलाइकटाइ प्रशिक्षण केन्द्र, मालिका गाउँपालिका –६ को पार्वता अर्गानिक कफी नर्सरी र रेसुङ्गा नगरपालिका –१२ को गोपाल तरकारी घुम्ती फर्म तृतिय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने कृषि फर्महरुलाई क्रमशः २० हजार, १० हजार र पाँच हजारका साथै खादा र सम्मानपत्रले सम्मान गरिएको कार्यालय प्रमुख राजिव अर्यालले जानकारी दिनुभयो। 

उहाँले व्यवसायमा उत्साह भर्न बर्सेनी दिवसको अवसरमा सम्मान गर्दैआएको बताउनुभयो । उहाँले सीप, प्रविधि लगायतका क्षेत्रमा उद्यमीलाई सहयोग गर्दैआएको बताउनुभयो।

त्यस्तै, दिवसको अवसरमा प्रत्येक पालिकाबाट दुई–दुई जना उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको छ । सम्बन्धित पालिकाको सिफारिस, कार्यालयको अनुगमन एवं कार्यविधिअनुसार सम्मानित गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका जिल्ला समन्वय अधिकारी होमनाथ काफ्लेले उद्योगका नीतिगत समस्या, इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले स्थानीय उद्योगको समस्याका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले व्यवसायलाई माथि उठाउन स्वयम् किसान पनि उत्साहित र आशावादी भएर आउने चुनौतीको सामना गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा हरेक क्षेत्रमा परिवर्तनको खाँचो आवश्यक भएकाले यथास्थितिका व्यवस्थाहरु संशोधन गरेर अघि बढे मात्र किसानहरुको आशा र चाहाना पूरा हुने बताउनुभयो । 

कार्यक्रममा विभिन्न पेशा व्यवसायमा सक्रिय उद्यमीहरुले आफ्नो क्षेत्रगत समस्या बारेमा जिज्ञासा राखेका थिए । कर्जा समस्या, बजार, मूल्य, माटो सुहाउने कार्यक्रमको आवश्यकता, अनुदान, उपकरण लगायतका बिषयमा उद्यमीहरुका माग र गुनासा रहेका थिए । कार्यक्रमका बिषयमा घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण कार्यालयकै नायव सुब्बा सपना पाण्डेयले गर्नुभएको थियो ।