• ९ मंसिर २०८२, मङ्गलबार

बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

blog

दुर्घटनास्थलमा रहेका मोटरसाइकल र अटो। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ९ गते। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, सिमबजार नजिक भेरी काेरिडोरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मङ्गलबार दिउँसो चिसापानीबाट राडी बजारतर्फ जाँदै गरेको लु. १ ज. ४५७९ नम्बरको बोलेरो जिप र विपरित दिशाबाट जाँदै गरेको क.प्र. ०३–००१ प. ०९२० नम्बरको मोटरसाइकल ठोक्किएका थिए। 

अनियन्त्रित हुँदै उछिटिएको सो मोटरसाइकल धुर्सेनीबाट राडी बजार आउँदै रहेको लु.प्र.०२–०००१ ह. ०१९२ नम्बरको अटोसँग समेत ठोक्किएपछि दुर्घटना थप गम्भीर बनेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका ८ निवासी ३५ वर्षीय सिताराम चदाराको मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो।उहाँका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार नलगाड नगरपालिका ८ का १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ११ का १४ वर्षीय कमल सुनार घाइते भएका छन्।घाइतेलाई आठबिसकोट नगर अस्पतालमा लिइएको छ भने अटोमा सवार चार जनाको अवस्था सामान्य रहेको छ।

बोलेरोका चालक आठबिसकोट नगरपालिका १३ का २२ वर्षीय  टेकबहादुर खत्री र अटोका चालक आबिसकोट नगरपालिका ११ निवासी २८ वर्षीय रामबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।बोलेरो चालक खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।