• १ पुस २०८२, मङ्गलबार

महोत्सवमा दुई लाख राशीको भलिबल प्रतियोगिता

blog

आठौं बागलुङ महोत्सवको लोगो ।

रामकृष्ण बोहरा

बागलुङ, मंसिर ८ गते । आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदानमा महोत्सव हुँदैछ ।  

महोत्सवको प्रमुख आर्कषणको रुपमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता रहेको छ । यसअघिका महोत्सवमा राष्ट्रियस्तरको भलिवल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगिता गरिएको हो । 

भलिबल प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेले नगद २ लाख १ हजार पाँचसय रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १ लाख २१ हजार ५ सय, ४४ हजार ५ सय र २२ हजार ५ प्राप्त गर्ने पुरुष भलिबल खेल संयोजक अकिलबहादुर क्षेत्री ‘ध्रुव’ ले जानकारी दिनुभयो । 

यस्तै, महिला भलिबलको विजेताले टोलीले नगद ८१ हजार ५ सय रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टोलीले ४१ हजार पाँचसय, तृतीय हुनेले २१ हजार ५ सय र सान्त्वना हुनेले ११ हजार ५ सय रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिला भलिबल संयोजक सृजना राजभण्डारीले जानकारी दिनुभयो । 

प्रतियोगिताको पुरुष भलिबलमा सर्वाेत्कृष्ट खेलाडिलाई दश हजार र अन्य विधागततर्फ जनही पाँच हजार प्रदान गरिनेछ । महिलातर्फ सर्वाेत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिलाई ५ हजार तथा विधागततर्फ जनही २ हजार ५ सय रुपियाँका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिनुभयो । 

भलिबल प्रतियोगिता पुस १२ गते बिहानबाट सुरु हुने आयोजकले जनाएको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनलमा पुग्ने टोलीलाई भत्ताको समेत व्यवस्था गरिएको छ । महोत्सवबाट हुने आम्दानीबाट खेलकुदका लागि कोष स्थापना गर्ने योजना बनाएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।