• ९ मंसिर २०८२, मङ्गलबार

दाङमा यस वर्ष धानको उत्पादन बढ्यो

blog

दाङ, मङ्सिर ९ गते । दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिलो वर्षा भए पनि लगातार वर्षा हुनु र पछिल्लो समयमा धानबाली स्याहार गर्ने बेला परेको पानीले खासै धान खेतीमा असर नगरेकाले उत्पादन बढेको हो । 

विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मलको उपलब्धतामा सहजता, हाइब्रिड र उन्नत जातको बीउको प्रयोग धैरै भएकाले उत्पादन बढेको हो । कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष हाइब्रिड बीउ ६५ प्रतिशत, ३५ प्रतिशत उन्नत र पाँच प्रतिशत स्थानीय रैथाने जातको धान रोपिएको थियो । सबैभन्दा धेरै युएस ३१२, एआरआई ६४४४, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, उपज, राजा, क्याम्पियन जातको हाइब्रिड धान रोपिएको थियो । 

त्यस्तै, उन्नततर्फ सावाँ मन्सुली, हर्दिनाथ ६, रामधान, राधा-४, सुक्खा-१, २, ३, ४, गङ्गोत्री, सावित्रीलगायतका जातका धान लगाएको थियो । दाङको स्थानीय रैथाने धानमा तिल्की र सिम्ठारो धान पनि खेती गरिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष देउखुरी क्षेत्रका लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद सुरु गरेको छ । कार्यालयका प्रमुख तुलमायाँ लोवाले जिल्लाका स्थानीय तहबाट ५०० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । रासस