• ११ मंसिर २०८१, मङ्गलबार

प्रवासमा मिडिया

blog

नेपाली पत्रकारिताको विकासमा प्रवासको भूमिका महत्त्वपूर्ण छ । नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा प्रवासबाट सञ्चालित आमसञ्चारका माध्यमले ठूलो भूमिका निर्वाह गरेका दृष्टान्त छन् । विश्वमा नेपालको पहिचानका लागि प्रवासी मिडिया र पत्रकारको भूमिका तारिफयोग्य छ । नेपाली भाषा, साहित्य, संस्कृति, नेपालको पर्यटन प्रवद्र्धन साथै आर्थिक सामाजिक विकासमा प्रवासबाट सञ्चालिन मिडियाले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।

विश्वका विभिन्न देशमा नेपाली भाषा साहित्यको विकास हुँदै गएपछि पत्रकारिताको पनि प्रभाव बढेको पाइन्छ । करिब एक सय वर्षअघि भारतको काशी नेपाली साहित्यको उर्वर भूमि मानिन्थ्यो । त्यसपछि भारतका विभिन्न ठाउँमा नेपाली भाषा साहित्यको विस्तार हुँदै गएको र सिक्किम, दार्जिलिङ, देहरादुन, नयाँदिल्ली, आसाम, पन्जाबलागयतका स्थानमा नेपाली भाषा साहित्यले प्रभाव जमाउँदै गएको पाइन्छ । भारतमा नेपाली भाषा साहित्यको लेखन, प्रकाशन तथा पठपाठन हुँदै भारतको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई सरकारी भाषासरह मान्यता पाएपछि भने यसको प्रभाव आमसञ्चार माध्यममा देखिन थालेको इतिहास छ । त्यसपछि अल इन्डिया रेडियोमा नेपाली भाषाको कार्यक्रम प्रसारण हुनुलाई विदेशी भूमिमा नेपाली पत्रकारिताले स्थान पाएको बुझ्न सकिन्छ । 

भारत, बेलायतका विश्वविद्यालयमा नेपाली भाषाको पठनपाठन हुनुले पनि आमसञ्चारको क्षेत्रमा प्रभाव राखेको बुझ्न सकिन्छ । जसको उदाहरण बीबीसीमा प्रसारण हुने नेपाली भाषाको समाचारलाई पनि लिन सकिन्छ । सन् १९६९ मै सुरु भएको बीबीसी नेपाली सेवाले नेपालको मात्र नभई विश्वमा छरिएर रहेका नेपाली समुदायको आवाजलाई प्रतिनिधित्व गर्दथ्यो । चीनमा चिनियाँ रेडियो इन्टरनेसन(सीआरआइ) ले नेपाली भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको छ । सन् २०११ देखि नेपाली समाचार प्रसारण गरिरहेको बीएफबीएस गोर्खा रेडियोले विश्वभर छरिएका नेपाली साथै गोर्खाहरूको आवाजलाई अनलाइनमार्फत प्रसारण गरिरहेको छ । 

सिक्किम, दार्जिलिङमा अझै पनि नेपाली भाषाका अखबार प्रकाशित भइरहेका छन् । जापान, हङकङ, अस्ट्रेलियालगायतका देशमा पनि नेपाली भाषाका अखबार प्रकाशित भएको पाइन्छ । रोजगारीका क्रममा खाडी मुलुक र मलेसिया पुगेका नेपालीलाई लक्षित गरेर कतारमा कान्तिपुर दैनिकले ‘कतार संस्करण’ र हिमालय टाइम्सले ‘मलेसिया संस्करण’ प्रकाशित गर्ने गरेको थियो । राजधानी दैनिकले पनि खाडी देशबाट बेग्लै संस्करण प्रकाशित गर्ने गरेको पाइन्छ । अहिले इन्टरनेटको बढ्दो प्रभावले अनलाइन संस्करण चलिरहेका छन् ।

विश्वभर छरिएका नेपालीले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेलेको भूमिका जस्तै पत्रकारिता क्षेत्रमा पनि भिन्न योगदान रहेको पाउन सकिन्छ । भारतमा नेपाली पत्रकारिताको सुरुवात गर्ने युवाकवि मोतीराम भट्ट र उनको प्रेरणाबाट रामकृष्ण बर्माको सक्रियतामा वि.सं. १९४३ मा भारतको बनारसमा प्रकाशित भएको ‘गोरखा भारत जीवन’बाट नै प्रवासमा नेपाली पत्रकारिताको जग थियो भनेर भन्ने गरिन्छ । किनकि पत्रकारिताको इतिहासमा हामीले पढेको र बुझेको यही नै हो । त्यस्तै वि.सं.१९५५ तिर प्रकाशित भएको ‘सुधासागर’ सम्म आइपुग्दा भारतमा धेरै अखबार नेपाली भाषामा प्रकाशित हुने गरेको इतिहास छ ।

गोरखापत्रको सुरुवात अघि भारतमा पढ्न जानेहरू, तीर्थस्थलको दर्शनमा जानेहरू साथै राजनीतिक कारणले भारत निर्वासन हुनेहरूले नेपाली भाषामा छापिएका अखबार लिएर आउने गरेको प्रमाण भेटाइन्छ । दार्जिलिङ, आसाम, बनारस, कलकत्ता, देहरादूनजस्ता सहरमा नेपाली भाषाका अखबार वा पुस्तक प्रकाशित हुने गरेको हामीले इतिहासमा पढेका हौँ र देखेका हौँ । त्यति मात्र होइन जहानियाँ राणाशासनको विरोधका लागि प्रवासमा प्रशस्त विचारमूलक अखबार साथै साहित्यिक पत्रिकाहरू प्रकाशित भएको र पत्रकारिताको प्रारम्भ भएको इतिहास पाउँछौँ । त्यसपछि प्रजातन्त्र प्राप्तिको आन्दोलन, पञ्चायत विरोधी गतिविधि, २०४६ सालको जनआन्दोलन हुँदै २०६२÷०६३ को दोस्रो जनआन्दोलनसम्म आइपुग्दा प्रवासी वा डायस्पोराबाट सञ्चालित मिडियाहरूको भूमिका ‘मिसन पत्रकारिता’का रूपमा निकै गहन रहेको बुझ्न सकिन्छ । 

दक्षिण एसियाली मुलुक र सार्क स्तरमा नेपाली पत्रकारिताको विकास र शुभारम्भको बेग्लै कहानी छ । त्यसबाहेक युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, मध्यपूर्व एसियामा भने सीमित सङ्ख्यामा मात्र अखवार वा म्यागेजिन प्रकाशित भएको भेट्टाइन्छ । ‘एभरेष्ट साप्ताहिक’ हङकङ ‘द नेपाली टाइम्स’ अस्ट्रेलिया, ‘इथ्निक भ्वाइस’ हङकङ, ‘नेपाली समाचार’ जापान, ‘श्रम साप्ताहिक’, मलेसिया, अस्ट्रेलिया क्यानवेराको नेपाली रेडियो, नेपाल दर्पण टीभी, अस्ट्रेलिया, अमेरिकाको टीभी सन्डे, अमेरिकाकै खसोखास डटकमले प्रकाशित गर्ने ‘खसोखास’ म्यागेजिनलगायत अन्य छापा तथा विद्युतीय माध्यम सञ्चालनमा थिए र छन् । तर जब इन्टरनेटको विकास हुँदै गयो तब विस्तारै अनलाइन माध्यम खुल्ने क्रम बढ्दो छ । छापा माध्यम कम हुँदै गएको छ । सन् १९९२ मै अमेरिकामा सुरु भएको ‘द नेपाल डाइजेष्ट’ देखि १९९९ मा आएको ‘नेपाल न्यूज डटकम’को सुरुवातलाई डायस्पोरामा समाचारमूलक अनलाइन पोर्टलको शुभारम्भ थियो भनेर बुझ्ने गरिन्छ । तर अब विश्वका विभिन्न देशमा नेपालीहरूको बसोवास बाक्लिँदै गएका कारण डायस्पोरामा नेपाली मिडिया आवश्यकता खड्किएको छ र समाचारमूलक अनलाइन पोर्टल सञ्चालनमा आउनुले पनि प्रवासमा नेपाली मिडिया अपरिहार्य रहेको बुझ्न सकिन्छ । यद्यपि, डायस्पोरामा सञ्चार उपभोक्ता भने दुई थरी रहेको पाइन्छ ।

तथ्याङ्क यकिन नभए पनि विश्वका एक सय मुलुकमा नेपाली बसोवास गर्छन् र करिब ८३ देशमा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को स्थापना भइसकेको छ । जातीय र क्षेत्रीय सङ्घसंस्था अनगिन्ती छन् । नेपालीहरूको उद्योग, व्यापार र व्यवसाय विश्वमा फैलिँदै गएको छ । अध्ययनका क्रममा युरोप, अमेरिका, अस्ट्रेलिया, युकेलगायतका देशमा नेपाली विद्यार्थीको उपस्थिति बाक्लिएको छ । नेपालीहरूको जनघनत्व बढेसँगै नेपाली पत्रकारिता वा नेपाली भाषाका सञ्चारमाध्यमको भूमिका र आवश्यकता खड्किएको पाइन्छ । तर डायस्पोराबाट सञ्चालिन मिडियालाई संस्थागत गर्न, व्यावसायिक बनाउन साथै निष्पक्ष, स्वतन्त्र र तटस्थ बनाउन भने ठूलो चुनौती देखिएको छ ।

सकारात्मक पक्ष

नेपालबाट सञ्चालिन आमसञ्चारका माध्यमले विश्वभर छरिएर रहेका नेपालीको आवाजलाई प्रतिनिधित्व गर्न सक्ने अवस्था छैन । उनीहरूको आवाज वा एनआरएनको सबैखाले मुद्दालाई नेपालबाट सञ्चालित सञ्चारमाध्यमले पर्याप्त सम्बोधन गरेको पाइँदैन । त्यसकारण डायस्पोरमा नेपाली भाषाका सञ्चारमाध्यमको उपस्थिति निकै अर्थपूर्ण छ । यद्यपि, डायस्पोराका मिडियालाई संस्थागत बन्न भने ठूलो चुनौती छ । यसको मूलकारण विज्ञापनको बजार र दक्ष जनशक्तिको अभाव हो । साथै प्रवासबाट सञ्चालित मिडियाको लक्षित वर्गको हुन भन्ने विषयमा भिन्न बहस आवश्यक देखिन्छ । नेपालमै व्यावसायिक पत्रकारिता गरिरहेको जनशक्ति विदेशी भूमिमा पुगेपछि डायस्पोरामा नेपाली भाषाका मिडियाको सङ्ख्या बढ्नुलाई पक्कै पनि सकारात्मक मान्न सकिन्छ । सोही जनशक्तिका कारण मुद्दा उठान, मुद्दाको पहिचान, विषयवस्तुको विश्लेषण र अध्ययनमा केही सकारात्मक सुधार भइरहेको पाउन सकिन्छ । 

मिडिया अध्येताद्वय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गर्नुभएको ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ पुस्तकका लागि पत्रकार भगीरथ योगी र डा.जगन कार्कीले ‘विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दिगोपना र व्यावसायिक विकास’ एक अनुसन्धानले पनि प्रवासमा खुलेका मिडियाले नेपाली समुदायको मुद्दा उठान गर्न, पहिचान स्थापित गर्न सकरात्मक भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ ।

समीक्षा गर्नुपर्ने विषय

प्रवासका मिडिया र भइरहेको पत्रकारिताका विषयमा दर्जनौँ प्रश्न उठ्ने गरेका छन् । विशेषगरी पत्रकारिताको विश्वव्यापी मान्यता, आचारसंहिता, पत्रकारिताको धर्म, मर्म र उत्तरदायित्वका विषयमा आमनागरिकले प्रश्न उठाउने गरेका छन् ‘विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दिगोपना र व्यावसायिक विकास’ एक अनुसन्धानमा पनि योगी र डा.कार्कीले पेसागत मापदण्ड हासिल गर्न नसक्नु र संस्थागत रूपम मिडिया चल्न नसकेको विषयलाई गम्भीर रूपमा उठान गर्नुभएको छ । विशेषगरी नेपालमा व्यावसायिक पत्रकारिता गरिरहेका व्यक्तिहरू अध्ययन वा रोजगारीका क्रममा विदेश पुगेपछि ‘फुर्सदकारिता’मा रूपान्तरित हुनुपर्ने बाध्यताले पनि समस्या सिर्जना गरिरहेको छ । पेसा छाड्न पनि नसक्ने र पूर्णकालीन रूपमा अँगाल्न पनि नसक्ने भएका कारण संस्थागत वा व्यावसायिक विकासमा धक्का पुगिरहेको छ । 

छापा, रेडियो र टेलिभिजनभन्दा पनि अनलाइन पोर्टलहरू डायस्पोका भरपर्दो सूचनाका स्रोत हुन् । इन्टरनेटमा सहज पहुँच भएका कारण हातेफोनबाटै सूचना ग्रहण गर्न सहज भएको छ । जसका कारण अनलाइन न्यूजपोर्टल सबै महादेशका करिब ७० प्रतिशत देशमा नेपाली पोर्टल सञ्चालनमा छन् । औँलामा गन्न सकिने त्यस्ता केही पोर्टलले सूचना सम्प्रेषण र आर्थिक आम्दानीका हिसाबले सफल देखिएका छन् भने बहुसङ्ख्यक अनलाइन फुर्सदमा वा रहरमा सञ्चालित छन् । कानुनी रूपमा दर्ता नभएकाहरूको सङ्ख्या अधिक छ । दर्ता भएका वा नभएका दुवैखाले मिडियाले सञ्चारको मापदण्ड वा आचारसंहिता पालना गर्न भने चुकिरहेका छन् । मुख्य गरी डायस्पोराका मिडिया र मिडियाकर्मी गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को प्रभावबाट मुक्त हुन सकेको पाइँदैन । राजनीतिक दलका प्रवासमा रहेका जनवर्गीय सङ्गठन वा भातृ सङ्गठनको प्रभाव डायस्पोराका मिडियामा डरलाग्दो रूपमा फैलिएको छ । जसका कारण विश्वसनीयतामाथि जहिल्यै प्रश्न उठ्ने गरेको छ । व्यावसायिक विज्ञापनमार्फत मिडियाको संस्थागत विकासमा लाग्नुको साटो अन्तर्वार्ता र समाचार लेखेको आधारमा ‘बक्सिस’ लिने परम्पराको विकास भइरहेकाले मिडियाप्रति औँला उठाउने गरिएको छ । दबाब, प्रभाव र अभावमा भइरहेको पत्रकारिताले विश्वास गुम्ने खतरामा पुगेको छ । 

बेलायत, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका देशमा नेपाली पत्रकारको सङ्ख्या धेरै छ । तर उनीहरू पेसागत जिम्मेवारीबाट विमुख छन् । अमेरिकामा पत्रकारिता गरिरहेका नेप्लिज डायस्पोरा डटकमका प्रधानसम्पादक सतिस चापागाइँ प्रवासमा पत्रकारिता संस्थागत बन्न नसक्नुको बेग्लै पीडा रहेको स्वीकार्नु हुन्छ । सञ्चारकर्मीले पकेटकै पैसाले मिडिया सञ्चालन गर्नु, विज्ञापनको बजार कमजोर रहनु, समाजका जिम्मेवार व्यक्ति मिडिया बचाउन सक्रिय नहुनु तर पाठकको अपेक्षा बढ्दै जानुले डायस्पोराका नेपाली मिडियाप्रति सरोकारवालाले सोच्नुपर्ने बताउनुहुन्छ । क्यानाडाबाट सञ्चालिन नेपाल टच डटकमका संस्थापकमध्येका एक बेनुपराज भट्टराईको बुझाइमा पनि उस्तै छ । प्रमुख कुरो आर्थिक स्रोत, दोस्रो सूचनाको पहुँच र समयको व्यवस्थापन आवश्यक रहने गरेको छ । किनकि पूर्णकालीन पत्रकारिता गर्ने अवस्था छैन । अन्यन्त्र रोजगारी गरेर मिडिया चलाउनु सामान्य कुरो होइन । पकेटको पैसाले मिडिया दिगो नहुने उहाँको प्रस्ट बुझाइ छ ।

गर्नुपर्ने काम

डायस्पोरामा सञ्चालित मिडियाको ठूलो रोग कपी पेस्ट पत्रकारिता हो । खबरदारी र खोजमूलक लेखन हुन नसक्नु अर्को समस्या छ । लहर र लहडमा मिडिया सञ्चालनमा ल्याउनु, पत्रकारिता पेसा र सेवाभन्दा ‘फुर्सदकारिता’मा रुमलिँदा प्रवासी समाज रूपान्तरणमा मिडियाको भूमिका कमजोर देखिएको छ । यसका लागि स्वयम जिम्मेवार बन्नुपर्ने देखिन्छ । साथै मिडिया सञ्चालन गर्नुपूर्व लिनुपर्ने कानुनी वैधताका विषयमा देशअनुसारका ऐन कानुन हुने गरेकाले नेपाली मिडियामाथि नियमनकारी निकायको भूमिकाबारे पनि आमपाठकले खबरदारी गर्नुपर्ने आवश्यकता देखिन्छ ।

त्यस्तै नेपाली समाजको हकहित र एकताको लागि कलम चलाउने र सम्बन्धित मुलुकको कानुन र परिधिभित्र रहेर पत्रकारिता गर्र्नुपर्ने दायित्व निर्वाह अनिवार्य ठान्नु जरुरी छ । पेसागत मापदण्ड, आचारसंहिता, उत्तरदायी भूमिका, सत्यतथ्य, निष्पक्ष लेखनले मात्र डायस्पोराका नेपालीको उन्नति र सञ्चार उपभोक्ताको न्याय हुनेछ । साथै मिडियालाई कानुनी दायरामा ल्याउन नसक्दा सिङ्गो नेपाली पत्रकारितामाथि प्रश्न उठिरहेको छ । सो भएका कारण कानुनी दायरामा आउनैपर्ने र सञ्चार मापदण्ड साथै पेसागत जिम्मेवारी बहन गरे मात्र मिडियाको दायित्व पूरा हुनेमा विश्वस्त रहन सकिन्छ । यसका लागि स्वंअनुशासित, जिम्मेवार र पेसागत इमानदारिताको खाँचो खड्किएको छ ।