भ्रष्टाचार, बेथिति, सुशासन तथा पारदर्शिताका लागि जेनजीले आन्दोलन गर्दा सरकारले घुँडा टेक्नु पर्यो । राष्ट्रले विभिन्न आन्दोलन देखेको छ तर अहिलेको जस्तो बीभत्स पक्कै देखेको थिएन होला । दुई दिनको प्रदर्शनमा ७६ जनाको मृत्यु भयो र धेरै सरकारी तथा निजी संरचनामाथि तोडफोड र आगजनीसमेत भयो । कम उमेरका भनिएका जेनजीको आन्दोलनले देशमा मात्र नभएर विश्वलाई नै झस्काएको छ । यद्यपि यो आन्दोलन वा विद्रोह वा तवाही के हो भन्ने बारेमा मतान्तर पक्कै छ । पहिलो दिनको सुरुवात आन्दोलनका रूपमा भएको थियो ।
बेला बखतमा हुने आन्दोलनले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दाको सुनुवाइ भएको पाइन्छ । जब कुनै विषयले धेरै मानिसमा प्रभाव पारेको हुन्छ तर सत्ताले त्यसको बारेमा कुनै उचित कदम उठाउँदैन, सरकार वा सम्बन्धित निकायले बेवास्ता गर्छ तब तब विरोध, आन्दोलन र विद्रोहका कार्यक्रम हुने गर्छन् ।
इतिहासको पाना पल्टाउने हो भने पहिलो विद्यार्थी आन्दोलन, ‘जयतु संस्कृतम आन्दोलन’ (असार १, २००४) (१५ जुन १९४७) हो । ‘जयतु संस्कृतम्’ अर्थात् संस्कृतको जय होस् । अहिले पूजापाठ र कर्मकाण्डमा मात्र सीमित रहेको संस्कृत भाषा कुनै बेला, नेपालको बोलीचालीको भाषा नै थियो । धेरै घरपरिवारमा संस्कृतमा नै संवाद हुने गर्दथे । देशका विभिन्न स्थानमा भएका पाठशाला वा गुरुकुलहरूमा संस्कृत भाषाकै पढाइ हुन्थ्यो । व्याकरण, साहित्य, ज्योतिष शास्त्र, आयुर्वेदलगायत विविध विषयमा संस्कृतकै माध्यमबाट अध्ययन अध्यापन हुने गर्दथ्यो ।
नेपालमा राणाशासनको चरम दमनमा पनि संस्कृत पाठशालाका विद्यार्थीले सङ्गठित रूपमा आन्दोलन सुरु गरेका थिए । यसका प्रमुख आन्दोलनकारी पर्शुराम पोखरेल, पुर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, कमलराज रेग्मी, रामप्रसाद न्यौपाने, राजेश्वर देवकोटा, गोकर्ण शास्त्रीलगायत थिए । विद्यार्थीको आन्दोलन १५ दिनसम्म चलेको थियो । नेपालको शैक्षिक तथा राजनीतिक आन्दोलनमा यस आन्दोलनलाई कोसेढुङ्गा मानिन्छ । ब्राह्मणको काम भनेको आचार्य हुनु थियो । त्यसैले राणाहरूले ब्राह्मणलाई पढ्न दिएर आफूहरूलाई ब्रह्म पापबाट बचाउने कोसिसका साथ तीनधारा पक्षशाला संस्कृत विद्यालयको स्थापना गरेका थिए ।
राणा शासनकालमा संस्कृत, धर्म र कर्मकाण्डको मात्र पढाइ हुन्थ्यो, जसको कारण विद्यार्थीको भविष्य सीमित भएको थियो । राणाका परिवारका सदस्यको दरबार हाइस्कुलमार्फत आधुनिक शिक्षामा पहुँच थियो । उनीहरूले शैक्षिक अवसर पाए र उच्च दर्जा हासिल गरे । सर्वसाधारणका सन्तानलाई दरबार हाइस्कुल नियन्त्रित थियो । संस्कृत पाठशालामा विषय सीमित भएकाले यस आन्दोलनको मुख्य उद्देश्य भनेको संस्कृतसहित अरू विषय पनि पढाइनुपर्ने भन्ने थियो ।
शैक्षिक असमानताविरुद्ध उठेको आवाजको सुरुवात त्यही तीनधारा पक्षशाला संस्कृत विद्यालयका विद्यार्थीले गरेका थिए भने यस आन्दोलनमा पछि रानीपोखरी नजिकको राजकीय संस्कृत विद्यालयका विद्यार्थी पनि सामेल भए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले ‘संस्कृत भाषा मृत भाषा भइसकेको’ अभिव्यक्ति दिएकैले आन्दोलन भएको थियो । शिक्षामा समान पहुँचका लागि विद्यार्थी राणाको अत्याचार र अन्यायको विरुद्ध एकजुट भए । राणा शासकले स्थापित गरेको शैक्षिक संस्थाबाट नै उनीहरूविरुद्ध सङ्गठित आवाज सुरु भयो ।
ब्रिटिस शासनले बनारसमा वाराणसेय संस्कृत विश्वविद्यालय (हाल सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय) को स्थापना गरे, जहाँ कैँयौँ नेपाली संस्कृत अध्ययन गर्ने प्रचलन थियो । बेलायती सत्ताको कारण नै त्यहाँको संस्कृत क्याम्पस तथा अन्य कलेजमा अङ्ग्रेजी तथा आधुनिक विषयको पठनपाठन हुन्थ्यो । नेपालीले त्यहाँलगायत सम्पूर्ण क्षेत्रमा ब्रिटिस सरकारले गरेको शैक्षिक विकासको बारेमा प्रत्यक्ष रूपमा देख्न र जान्न सुवर्ण अवसर पाए । त्यसैले ‘न्याय नपाए गोरखा जानु र विद्या नपाए बनारस जान’ भन्ने उखान एकबेला चलनचल्तीमा थियो ।
पाठ्यक्रममा अङ्ग्रेजी, गणित, भूगोल, इतिहास, अर्थशास्त्र हुन प¥यो भनेर विद्यार्थीले प्रधानमन्त्री पद्मशमशेरलाई मागपत्र बुझाएका थिए । सरकारले वास्ता गरेन र फलस्वरूप इतिहासको पानामा पहिलो विद्यार्थी आन्दोलन भयो । शैक्षिक तथा सामाजिक समानतासँगै राणाशासनविरुद्ध पनि नारा लाग्न थाल्यो । आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद्मशमशेरले माग पूरा गर्ने आश्वासन दिएकाले आन्दोलन रोकियो । प्रधान सेनापति मोहनशमशेर जङ्गबहादुर राणाले आन्दोलनमा संलग्न विद्यार्थीलाई पक्राउ तथा जेल चलान गरे । कैयौँ विद्यार्थीलाई देश निकाला गरे । ब्राह्मणलाई मृत्यु दण्ड दिनु धर्मविपरीत हुने भएकाले आन्दोलनरत विद्यार्थीले मृत्युदण्ड भोग्नु परेन ।
सामान्यता आन्दोलनभन्दा हामीले नारा जुलुस, तोडफोड बुझ्छौँ तर त्यस बेला विद्यार्थीले अध्यात्मको प्रयोग गरेर आन्दोलन गरे । श्रीमद् भागवत सप्ताह गरे, जसले गर्दा समुदायमा पुग्न र जनचेतना फैलाउन सहज र प्रभावकारी भयो । धार्मिक स्थानलाई सामाजिक रूपान्तरण ल्याउन प्रयोग गरे । संस्कृतलाई प्रोत्साहन गर्दै, शान्त तरिकाले शासन सत्तालाई चुनौती दिए । धर्म र शिक्षाको प्रयोग गरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने कुरा देखाए ।
छिमेकी राष्ट्र भारतमा बेलायती शासनविरुद्धको आवाज चर्किरहेको अवस्था थियो र भारत स्वतन्त्र हुने स्पष्ट थियो । बेलायती साम्राज्यको सहायताले टिकेको नेपालको राणा शासनमाथि प्रश्न खडा हुन थालेको थियो । छिमेकी राष्ट्रमा भएको राजनीतिक परिवर्तनले गर्दा नेपालीमा राजनीतिक चेतनाको विकास भयो । यस कारण जयतु संस्कृतम आन्दोलनमा, भारतमा तत्कालीन समयमा भइरहेको आन्दोलनको प्रभाव थियो भन्न सकिन्छ ।
विसं १९९७ मा चार सहिद (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ) लाई दिइएको फाँसीले, नेपाली जनतामा राणा विरोधी भावना उकुसमुकस भइरहेको थियो । त्यसबेला पनि युवा उच्च शिक्षाका लागि बनारस, पटना जान्थे । त्यहाँ उनीहरूले प्रजातन्त्र, आफ्नो अधिकारको लडाइँको बारेमा बुझेँ, जसले गर्दा उनीहरूलाई नेपालमा भइरहेको निरङ्कुश शासनबारेमा ज्ञान भयो । चीनमा माओत्सेतुङ को नेतृत्वमा कम्युनिस्ट क्रान्ति हुँदै थियो । राणा शासन अन्त्य भएको अवस्थामा नेपालमा चीनको प्रभाव पर्न सक्ने अवस्था सिर्जना हुन सक्ने र आफ्नो सुरक्षामा खतरा महसुस गरेको कारणले पनि भारतले नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गरेको थियो ।
नेपालमा बस्न, काम गर्न, पढ्न प्रतिबन्ध लगाए पछि निर्वासित आन्दोलनकारी बनारस गए । त्यसबेला निर्वासित भएका विश्वेश्वरप्रसाद कोइरालालगायतका नेतासँग उनीहरूको भेट भयो । भारत सन् १९४७को अगस्त १५ मा स्वतन्त्र भयो । त्यहाँको वातावरणले पनि निर्वासित विद्यार्थी तथा नेतालाई थप बल पुग्यो । नेपालमा प्रजातन्त्र ल्याउने आन्दोलनमा सक्रिय रूपमा लागे, फलस्वरूप १९५१ को क्रान्ति सम्भव भयो र राणा शासन अन्त्य ।
लोपोन्मुख हुँदै गइरहेको संस्कृत भाषाले नै स्वतन्त्रताको लडाइको बिउ रोपेको थियो । त्यसले नेपाली समाजमा राजनीतिक चेतना फैलायो । राणा शासनमा संस्कृतका विद्यार्थीले देखाएको साहस अतुलनीय छ । शैक्षिक सुधार ल्याएर समाजमा समानता ल्याउन खोजेका उनीहरूले सयौँ वर्ष पुरानो राणा शासनको जग मात्र हल्लाएनन्, देशमा प्रजातन्त्र नै ल्याए । जेनजी पुस्ताले गरेको आन्दोलनका मागलाई बेवास्ता गरियो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ ।