• ३१ असोज २०८२, शुक्रबार

स्वास्थ्य सेवाको स्तर उच्च बनाउन निर्देशन

blog

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल पोखरास्थित सैनिक अस्पतालमा बिरामीसँग कुरा गर्दै । तस्बिर : नेपाली सेना

पोखरा, असोज ३१ गते । नेपाली सेनाका प्रधान सेनापति  अशोकराज सिग्देलले आज पोखरास्थित श्री पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा प्रधान सेनापतिले पृतना तथा सम्बन्धित युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभयो । 

उहाँले देशको शान्ति, सुरक्षा र आपतकालीन उद्धार कार्यमा सेनाको भूमिका अझ सशक्त बनाउन सुझाव दिनुभयो ।

स्वास्थ्य क्षेत्रप्रति विशेष ध्यान दिँदै प्रधान सेनापति सिग्देलले आजै पोखरा स्थित सैनिक अस्पतालको समेत निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालमा प्रदान भइरहेका स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिँदै सेवा प्रभावकारिता, बिरामीमैत्री वातावरण र उपकरणको आधुनिकिकरणमा जोड दिनुभयो ।

प्रधान सेनापतिले सैनिक अस्पताललाई गुणस्तरीय स्वास्थ्यसेवा प्रवाहको उत्कृष्ट केन्द्रका रूपमा विकसित गर्नुपर्नेमा जोड दिँदै चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलाई सेवा नै सर्वोच्च धर्मका रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।