• १ कात्तिक २०८२, शनिबार

सन्तुलित जीवनको आधार

blog

जीवन भनेको केवल श्वासप्रश्वासको निरन्तरता होइन, यो शरीर, मन, भावना र परिवेशको सन्तुलित सहअस्तित्व हो । जब हाम्रो शरीर स्वस्थ हुन्छ, हामी त्यसलाई ‘शारीरिक स्वास्थ्य’ भन्छौँ । जब हाम्रो भावना, सोच र सम्बन्धहरू सन्तुलित हुन्छन्, त्यसलाई ‘प्रेम’ भन्छौँ । जब हाम्रो वरिपरि स्वस्थ वातावरण, सकारात्मक सम्बन्ध र सहयोगी समाज हुन्छ, त्यसलाई ‘सफलता’ भनिन्छ । यिनै तीन आयाम–शरीर, मन (भावना) र समाज (परिवेश) बिचको सन्तुलन नै वास्तवमा पूर्ण जीवनको रहस्य हो ।

शारीरिक स्वास्थ्य जीवनको आधार

शरीर हाम्रो जीवनको मन्दिर हो । शरीर स्वस्थ नभए कुनै पनि उपलब्धि स्थायी हुँदैन । जब शरीर ऊर्जावान्, सक्रिय र तन्दुरुस्त हुन्छ, त्यसलाई ‘साउन्ड हेल्थ’ भनिन्छ । साउन्ड हेल्थ भनेको केवल रोगको अभाव होइन बरु ऊर्जाको उपस्थिति हो । हाम्रो शरीर स्वस्थ राख्न दैनिक रूपमा ध्यान दिनुपर्ने केही पक्ष छन्–

सन्तुलित आहार : ताजा र पौष्टिक खाना शरीरको इन्धन हो । जस्तै–फलफूल, हरियो सागसब्जी, पर्याप्त पानी र प्रोटिनयुक्त आहार । हाम्रो आहार त्यस्तो होस्, जसले सकारात्मक ऊर्जा वृद्धि गरोस्, शरीरमा स्फूर्ति प्रदान गरोस् र मनलाई प्रफुल्लित गराओस् । खाएपछि आलस्य हुने आहार स्वस्थ आहार होइन । समग्रमा भन्नुपर्दा सात्विक आहार हाम्रो शारीरिक स्वास्थ्यको महत्वपूर्ण आधार हो । 

नियमित व्यायाम : हिँडाइ, योग, ध्यान वा कुनै पनि शारीरिक क्रियाकलापले शरीरलाई सक्रिय राख्छ । यसलाई नियमितता दिनु स्वास्थ्यको ख्याल गर्नु हो । 

आराम र निद्रा : शरीरलाई पुनः ऊर्जा प्राप्त गर्न पर्याप्त निद्रा र आराम अत्यावश्यक हुन्छ । यसलाई हमेसा ख्याल गर्नुपर्ने हुन्छ । 

सकारात्मक सोच : शरीर र मनबिच गहिरो सम्बन्ध छ । नकारात्मक सोचले शरीरमा विष झैँ असर पार्छ, जबकि सकारात्मक सोचले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शान्ति र आनन्दको अवस्थामा जीवनशैली चल्छ । समग्रमा शरीर स्वस्थ हुँदा आत्मविश्वास, रौनकता र स्फूर्ति स्वाभाविक रूपमा प्रकट हुन्छ । शारीरिक स्वास्थ्य जीवनको पहिलो सफलता हो ।

भावनात्मक स्वास्थ्य 

जब हामीभित्रैदेखि सन्तुलित, दयालु, र शान्त हुन्छौँ, त्यसलाई भावनात्मक स्वास्थ्य भनिन्छ । यस्तो अवस्था नै प्रेम हो–आफूप्रति, अरूप्रति र सम्पूर्ण अस्तित्वप्रति । प्रेम केवल सम्बन्धमा होइन, व्यवहार, दृष्टिकोण र सोचमा पनि झल्किन्छ । भावनात्मक रूपमा स्वस्थ व्यक्ति आफू र अरूबिच कुनै भिन्नता देख्दैन । उनीहरूमा क्षमाशीलता, सहानुभूति र समर्पण हुन्छ । 

भावनात्मक स्वास्थ्य थाहा पाउने केही सङ्केतहरू– आत्मस्वीकृति र आत्ममूल्यको अनुभव । असफलता वा आलोचनालाई सहज रूपमा स्विकार्ने क्षमता । अरूको सफलतामा खुसी महसुस गर्ने मनोवृत्ति । द्वेष वा ईष्र्याभन्दा सहयोग र सद्भावको भावना । भावनात्मक असन्तुलनले तनाव, डर र आत्मघृणा जन्माउँछ । त्यसैले ध्यानको नियमित अभ्यास, लयात्मक लामो गहिरो श्वास, जनात्मक कला, लेखन वा प्रकृतिसँग समय बिताउनाले भावनात्मक सन्तुलन पुनस्र्थापित गर्न मद्दत गर्छ । अन्ततः, जब हाम्रो भावना स्वस्थ हुन्छ, प्रेम स्वाभाविक रूपमा बहन्छ । त्यसबेला हामी प्रेम खोज्दैनौँ, बरु प्रेम नै हाम्रो अस्तित्व बन्छ ।

सफलता र समृद्धिको सङ्केत

मानव केवल व्यक्तिगत प्राणी होइन, सामाजिक प्राणी पनि हो । हाम्रो वरिपरि रहेको वातावरण–घर, समुदाय, समाज, प्रकृति सबैले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्ध राख्छन् । जब हाम्रो परिवेश स्वच्छ, शान्त र सहयोगी हुन्छ, हामी स्वतः ऊर्जावान् र उत्पादक हुन्छौँ । यस अवस्थालाई नै सफलता भनिन्छ । सफलता केवल धन, पद वा किर्तिमा सीमित हुँदैन; सफलता त त्यो हो जब घरमा शान्ति हुन्छ, सम्बन्धमा प्रेम हुन्छ, समाजमा सहयोगी भावना हुन्छ र प्रकृतिसँग सामञ्जस्यता हुन्छ । सफलता तब मात्र टिकाउ हुन्छ जब यो स्वास्थ्य र सद्भावमा आधारित हुन्छ । शरीर थकित, मन असन्तुलित र समाज अव्यवस्थित छ भने, कुनै पनि उपलब्धि असली सफलता होइन ।

सामाजिक स्वास्थ्यका लागि केही व्यावहारिक अभ्यास आवश्यक पर्छन्– सरसफाइ र वरपरको हरियाली वातावरणमा ध्यान दिनु । समुदायमा सहकार्य र सहजीवन प्रवर्धन गर्नु, समानता, समावेशिता र न्यायमा विश्वास गर्नु, महिला, बालबालिका, अशक्त र सहयोगको जरुरत भएका समूहप्रति सम्मान र अवसर प्रदान गर्नु । सफाइ, वातावरणीय सचेतना र सामाजिक एकता नै सफलता र दीर्घकालीन समृद्धिका आधार हुन् ।

समग्र दृष्टिकोण

स्वास्थ्य, प्रेम र सफलता यी तीन शब्द फरक लागे पनि, तिनीहरूको जड एउटै हो– समग्र सन्तुलन । शरीर स्वस्थ भयो भने ऊर्जावान् भइन्छ । भावना स्वस्थ भयो भने सबैप्रति प्रेम रहन्छ । परिवेश स्वस्थ भयो भने सफलता मिल्छ । यीमध्ये कुनै एक पक्ष कमजोर भयो भने पनि जीवनको लय असन्तुलित हुन्छ । किनकि शरीर स्वस्थ तर भावना असन्तुलित भए, तनाव र आक्रोश बढ्छ । भावना स्वस्थ तर शरीर कमजोर भए कार्यक्षमता घट्छ । शरीर र भावना स्वस्थ भए पनि वातावरण अस्वस्थ भए जीवनमा असुरक्षा र असन्तुष्टि रहन्छ । जीवनको वास्तविक सफलता भनेको यी तिनै पक्षको समरसता र सन्तुलनमा छ ।

आत्मसजगता र ध्यानको भूमिका

समग्र स्वास्थ्य प्राप्त गर्ने पहिलो र सर्वाधिक आवश्यक कदम हो– आत्मसजगता । आत्मसजगता भन्नाले केवल आफूलाई हेर्ने होइन, आफूलाई बुझ्ने, स्वीकार्ने र नियाल्ने चेतन अवस्था हो । यो अवस्था तब आउँछ जब हामी बाहिरी संसारको हलचलभन्दा भित्रको मौनलाई सुन्न सक्ने हुन्छौँ । मानव जीवनका धेरै समस्या– तनाव, असन्तोष, असफलता वा भ्रम त्यसबेला उत्पन्न हुन्छन् जब हामी आफ्नै शरीर, भावना र विचारसँग असम्बन्धित भइदिन्छौँ । हामी बाहिरको संसारमा रमाउँछौँ तर भित्र के भइरहेको छ भन्नेबारे अनभिज्ञ रहन्छौँ । यही विस्मरण नै असन्तुलनको सुरुवात हो । जब मानिस आत्मसजग हुन्छ, ऊ आफ्नो शरीरका सङ्केत बुझ्न थाल्छ । शरीर थकित छ कि ऊर्जावान्, मन उदास छ कि शान्त, ऊ महसुस गर्न थाल्छ । यो बुझाइ नै सजगताको सुरुवात हो । आफ्नो भावना, विचार र प्रतिक्रिया बुझ्न सक्ने मानिस कुनै पनि परिस्थितिमा स्थिर रहन सक्छ । आत्मसजगताबिना ध्यान सम्भव हुँदैन र ध्यानबिना आत्मसजगता पूर्ण हुँदैन । यी दुई एउटै सिक्काका दुई पाटा हुन्–आत्मसजगता चेतनताको ढोका हो, ध्यान त्यस ढोकाबाट प्रवेश गर्ने मार्ग हो । ध्यान मनको औषधी हो । ध्यान कुनै धार्मिक कर्मकाण्ड होइन, यो त आत्मसाक्षात्कारको विज्ञान हो । जब हामी ध्यानमा बस्छौँ, शरीर स्थिर, श्वास लयबद्ध, र मन क्रमशः शान्त हुन थाल्छ । सोचका बादल हट्दै जान्छन् र भित्रबाट स्पष्टता प्रकट हुन्छ । त्यस क्षणमा हामी आफ्नो वास्तविक अस्तित्वको सम्पर्कमा पुग्छौँ । ध्यानको नियमित अभ्यासले शरीरलाई विश्राम दिन्छ र तनावग्रस्त स्नायुलाई आराम दिलाउँछ । भावनालाई शुद्ध पार्छ, रिस, ईष्र्या, डर जस्ता नकारात्मक भाव हटाउँछ । सोचलाई स्पष्ट बनाउँछ, निर्णयमा सन्तुलन ल्याउँछ र चेतनतालाई गहिरो बनाउँछ । ध्यानको अभ्यासले मानिसलाई वर्तमान क्षणमा ल्याउँछ । वर्तमानमा मानिस पछुतो र भयबाट स्वतन्त्र हुन्छ र त्यसकै परिणाम हो आन्तरिक शान्तिको वृद्धि ।

योग, प्राणायाम र मौन साधना

ध्यान मात्र होइन, योग र प्राणायाम पनि आत्मसजगताको अभ्यासका महत्वपूर्ण माध्यम हुन् । योग शरीर र मनबिचको पुल हो । यसले शरीरलाई लचकदार र सन्तुलित बनाउँछ, जसले ध्यानमा बस्न सहज बनाउँछ । प्राणायाम भनेको श्वासको नियन्त्रण हो । जब श्वास स्थिर हुन्छ, मन पनि स्थिर हुन्छ । मौन साधनाले शब्द र विचारको भिडबाट मुक्त गराउँछ, जसले चेतनालाई गहिरो स्तरमा लैजान मद्दत गर्छ । यी सबै अभ्यासले मानिसलाई भित्रको शान्त केन्द्रसँग पुनः जोड्न सहयोग गर्छन् । 

प्रेम र सम्मानको स्रोत

जब मानिस आत्मसजग हुन्छ, ऊ आफ्नो अपूर्णता, कमजोरी, र भावनात्मक घाउलाई पनि प्रेमपूर्वक स्विकार्छ । त्यो स्वीकृति नै सजगता हो । आफूलाई प्रेम गर्न सिक्ने मानिस अरूलाई पनि प्रेम गर्न सक्षम हुन्छ । आफूलाई क्षमा गर्न सक्ने व्यक्ति अरूलाई पनि क्षमा गर्न सक्छ । आत्मसजग व्यक्ति समाजमा प्रेम, सम्मान र सकारात्मक ऊर्जा फैलाउने केन्द्र बन्छ । उसको उपस्थिति नै शान्तिको कम्पन हो–जहाँ ऊ हुन्छ, त्यहाँ तर्क होइन तर अनुभूति र सद्भाव हुन्छ । निष्कर्षमा भन्नुपर्दा आत्मसजगता समग्र स्वास्थ्यको आधार हो । शरीर, भावना र परिवेश सन्तुलित राख्ने सबै अभ्यासको जरो आत्मसजगतामा छ । जब मानिसले आफैँलाई चिन्ने, बुझ्ने र सम्मान गर्ने कला सिक्छ त्यसको असर उसको हरेक पक्षमा पर्छ–शरीरमा ऊर्जा वृद्धि हुन्छ, मनमा शान्ति स्थापना हुन्छ, सम्बन्धमा सद्भाव बढ्छ र परिवेशमा सफलताको अनुभूति हुन्छ । यसरी हेर्दा आत्मसजगता केवल ध्यानको अभ्यास होइन–यो त जीवनको कला हो, बाहिर होइन, भित्र फर्केर आफूलाई भेट्ने यात्रा हो ।

स्वास्थ्य नै सफलता

जीवनको वास्तविक सफलता भनेको बाहिरी उपलब्धि होइन, त्यो त शरीर, भावना र वातावरणको सामञ्जस्य हो । जब हाम्रो शरीर स्वस्थ हुन्छ, हामी सशक्त महसुस गर्छौं । जब हाम्रो भावना प्रेममय हुन्छ, हामी आत्मीय महसुस गर्छौं । 

जब हाम्रो परिवेश स्वस्थ र सकारात्मक हुन्छ, हामी सफलता महसुस गर्छौं । त्यसैले, स्वास्थ्य प्रेम हो, प्रेम सफलता हो र सफलता समग्र स्वास्थ्य हो । यही चक्र जीवनको सुन्दर रहस्य हो–शरीरमा शक्ति, मनमा शान्ति र समाजमा सद्भाव । जब यी तीन कुरा एकै साथ चल्छन्, तब मात्र जीवन साँच्चै अर्थपूर्ण र सम्पूर्ण बन्छ ।