काठमाडौँ, कात्तिक १ गते । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आइटी कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई सबै किसिमका साइबर रिसेक्युरिटीको क्षेत्रमा सःशुल्क इण्टर्नसिप गर्न पाउने भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन भोलानाथ घिमिरे र अमेरिकाको लस एन्जल्सस्थित रिसेक्युरिटी कम्पनीका बिजिनेस हेड राजन राज पन्तबिच पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आइटी कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई रिसेक्युरिटी कम्पनीमा सबै किसिमका साइबर सेक्युरिटीको क्षेत्रमा सःशुल्क इण्टर्नसिप गराउनेगरी सम्झौता भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, विश्वविद्यालयका अन्य पदाधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई कम्प्युटर इन्जिनियरिङ तथा बिआइटी अध्यापन गराइरहेको हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेको उपस्थितिमा सम्झौता भएको हो ।
उक्त अवसरमा रिसेक्युरिटीका बिजिनेस हेड राजन राज पन्तले आफूलाई निकै धेरै सङ्ख्यामा आइटी जनशक्ति चाहिने र आइटी पढ्ने विद्यार्थीले काम गर्दै पढ्न पाउने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन भइ आइटीको विश्व बजारमा बिकाउन सकिने भन्दै सेक्युरिटी कम्पनीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्झौता (एमओयु) गरेको प्रष्ट पार्नुभयो ।
उहाँले रिसेक्युरिटी कम्पनीले फ्याकल्टीहरुलाई तालीम दिने, विद्यार्थीहरुलाई साइबर सेक्युरिटीको बारेमा विकसित भएका नवप्रविधिको बारेमा ज्ञान दिने लगायत विश्वविद्यालयको हित हुने विषयमा सहयोग हुने भएकोले आइटी पढ्ने विद्यार्थी र अभिभावकको लागि यो एउटा अवसर थप भएको बताउनुभयो ।
इन्जिनियरिङ सङ्कायका डीन भोला घिमिरेले इन्जिनियरिङ मात्रै नभएर विज्ञान तथा प्रविधिको क्षेत्र तथा साइबर कानुनको क्षेत्र समेत समेट्ने गरी पूर्वाञ्चल विश्वविद्यालयले आइटीसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि पाठ्यक्रम तयार गरेको बताउनुभयो । उहाँले पाठ्यक्रम कार्यान्वयनको लागि यो समझदारीपत्र कोसेढुङ्गा साबित हुने भन्दै जुनसुकै कार्यक्रममा अध्ययन गरेपनि आइटीको सामान्य ज्ञान हुनैपर्ने बताउनुभयो । उहाँले आजको स्थितिमा डाटा सेक्युरिटीका लागि युएसएको प्रतिष्ठित कम्पनी रिसेक्युरिटीसँग समझदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो अवसर उपयोग गर्न चाहाने विद्यार्थीले सम्बन्धित आइटी अध्यापन गराइरहेका कलेजहरुमा सम्पर्क गर्न सकिने गरी सहजता प्रदान गरिएको बताउनुभयो ।