• १ कात्तिक २०८२, शनिबार

‘पीर’ (कविता)

blog

सम्झन्छौँ अति गर्व लाग्छ मनमा यो देश जो सुन्दर 

हेर्दा नै पनि मिल्छ तुष्टि यसले होस् पेट भोको तर

यो सौन्दर्य छ दिव्य अव्यय यहाँ नेपालको प्राण जो

चिन्ता उठ्छ मभित्र घट्छ कि कतै सौन्दर्य यो देशको ।


पग्लन्छन् हिम–शैलका शिखरका सौन्दर्य जो वारिधि

तात्दैछिन् धरणी त तीव्र गतिले भो विश्वको नै क्षति

रक्षा गर्न उपाय के छ जन हे ! चिन्ता गरौँ सौ विधि 

हुन् यी दिव्य र भव्य सम्पति सदा नेपालका हुन् निधि ।


सुक्दैछन् नद ताल, शुष्क हुन गै ती शैलका माधुरी

पन्छी या पशु लोपको छ खतरा सिम्सार सुक्खासरी

मेरो प्राण मलीन भा’छ क्षयले सौन्दर्य यो देशको 

चिन्ता लाग्छ सदैव टुट्छ कि कतै यो दिव्यता देशको ।


मेरो एक यही छ विश्वजनमा मैले त देखाउने

यै सौन्दर्य पिएर विश्वभरमा नेपाल लेखाउने

छन् लालायित विश्वका जनहरू यो मृत्तिका स्पर्शको

चिन्ता–पीर भरिन्छ निभ्छ कि कतै सौन्दर्य यो देशको ।


मेरो बुद्धि उठोस्, विवेक चुलियोस्, धर्ती बचाईकन

यो चिन्ता अब फैलियोस् सब विषे जागेर बाँचुन् जन

मेरा हात नलम्कियुन् अब कतै धर्ती बिगार्ने गरी

यो सौन्दर्य सजेर विश्वजनले नेपाल लेख्ने गरी ।