फलफूल तथा फलजन्य तरकारी उत्पादन गर्ने कृषकलाई फल कुहाउने औँसा पार्ने झिँगा (फ्रुट फ्लाई) ले उत्पादनमा नोक्सानी पु¥याइरहेको छ । फलफूलको अन्तर्राष्ट्रियबजारीकरणमा यो किरा क्वारेन्टाइन महत्वको शत्रु जीव हो । नेपालमा सुन्तला जस्ता फल, आँप, अम्बा, नासपाति आदि फल साथै फल तरकारी बाली (काक्रो, करेला, घिँरौला, लौका, फर्सी साथै गोलभेँडा, अकबरे खुर्सानी आदि) भित्रैबाट कुहिने समस्या व्यापक बन्दै गएको छ । झिँगा किराले फलभित्र अन्डा पार्छ र त्यसबाट निस्केका औँसाले फललाई भित्रैबाट कुहाउदछ/सडाउँछन् । यसरी नष्ट भएका फलहरू न खानलायक रहन्छन् न त बजारमा बेच्न मिल्ने हुन्छन् । यस समस्याले कृषकको वर्ष दिनको मेहनत खेर गइरहेको छ । बाली उत्पादनको बेलामा यो किरा समयमै नियन्त्रण गरिएन भने, सम्पूर्ण उपज गुम्न सक्छ । कृषकले खेतबारी/बगैँचामा बालीको फूल फुल्नु अगावै वयस्क झिँगाको उपस्थिति अनुगमन गरी सजगता अपनाउनु पर्छ । फल कुहाउने झिँगा (फ्रुट फ्लाई) झिँगा (डिप्टेरा) वर्ग र टेफ्रिरिटिडी परिवारका सदस्य हुन् । नेपालमा यसका विभिन्न तिस प्रजाति रहेको वैज्ञानिक प्रतिवेदनमा उल्लेख छन् । यी झिँगाले फलफूल तथा फलजन्य तरकारी बालीमा क्षति गरेको पाइन्छ । आँप, अम्बा, नासपाति, आरुलगायतका फलफूलमा ‘ओरियन्टल फ्रुट फ्लाई,’ ‘पिच फ्रुट फ्लाई,’ सुन्तला जस्ता फलफूलमा चाइनिज ‘सिट्रस फ्लाई’ र तरकारी बालीमा ‘मेलन फ्लाई,’ ‘पम्पकिन फ्रुट फ्लाई’ साथै अकबरे खुर्सानीमा ‘सोलानम फ्रुट फ्लाई’ नामका प्रजातिले आक्रमण गरेको पाइएको छ । ‘ओरियन्टल फ्रुट फ्लाई,’ ‘पिच फ्रुट फ्लाई,’ ‘मेलन फ्लाई,’ ‘पम्पकिन फ्रुट फ्लाई’ र ‘सोलानम फ्रुट फ्लाई’ प्रजातिका झिँगाको जीवनचक्रि तीनदेखि चार हप्तामा पुरा हुने (छोटो अवधिको) हुने भएकाले यसको सङ्ख्या छिटै बढ्न सक्छ ।
गर्मी र ओसिलो मौसममा यी झिँगाहरू सक्रिय हुन्छन् र तीव्र गतिमा फैलिन्छन् । यद्यपि सुन्तला जस्ता फलफूलमा आक्रमण गर्ने ‘चाइनिज सिट्रस फ्लाई’ को आकार अन्य प्रजातिको झिँगा भन्दा ठुलो हुने, जीवनचक्र पुरा हुन एक वर्ष अवधि लाग्ने हुन्छ । ‘चाइनिज सिट्रस फ्लाई’ र ‘सोलानम फ्रुट फ्लाई’ प्रजातिका झिँगा पारा–फेरोमोन (मोहिनी पासो) मा आकर्षित नहुने हुन्छन् । अहिले धेरै जसो फलफूल उत्पादन गर्ने कृषकले एउटै समस्याको सामना गरिरहेका छन्ः फल कुहाउने झिँगाको प्रकोप । यो झिँगा सानो देखिन्छ, यसले पुरै बाली सखाप पार्न सक्छ । फलका बोक्राभित्र अन्डा पारेर लार्भा जन्माउँछ र फललाई भित्रैदेखि खान थाल्छन् । नतिजा फल कुहिन्छन्, झर्छन् र बजारसम्म जानै पाउँदैनन् । धेरै जसो किसानले त फल झरेपछि मात्रै थाहा पाउँछन् कि भित्रैदेखि औँसा पारेर झिँगाले नास गरिसकेको रहेछ ।
समस्याको समाधान
समस्या गम्भीर भए पनि समाधानका उपाय छन् । सबैभन्दा पहिलो काम सरसफाइ हो, औँसा किरा सङ्क्रमित फललाई सङ्कलन गरी गाडिदिने वा नष्ट गर्नु आवश्यक हुन्छ । यसो गर्दा झिँगाका औँसा र प्युपा माटोमै नष्ट हुन्छन्, जसरी हुन्छ लार्भालाई प्युपा अवस्थामा जान नदिनु र वयस्क झिँगा निस्कन नदिनु बुद्धिमानी हुन्छ । त्यसपछि वयस्क झिँगालाई आकर्षित गरी मार्ने पारा–फेरोमोन ट्रयाप (मोहिनी पासो) वा प्रोटिन चारोको प्रयोग गर्न सकिन्छ । जैविक तरिकाले प्राकृतिक रूपमा परजीवी बारुलो किराहरूले नियन्त्रण गरिरहेका हुन्छन्, जसले झिँगाको अन्डा तथा लार्भामा आक्रमण गर्छ । रसायनिक विषादीको प्रयोग सावधानीपूर्वक गर्नु पर्छ । बालीनालीमा यस्ता किराको व्यवस्थापन केवल व्यक्तिगत प्रयासले मात्र सम्भव छैन । कृषि प्रसार, अनुसन्धान संस्था, कृषक समूह र स्थानीय सरोकारवाला सबैले मिलेर सम्बन्धित झिँगा नियन्त्रण कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
साझा प्रयास आवश्यक
हाम्रो जस्तो छरिएका ससाना उत्पादन स्थल भएको परिवेशमा फल कुहाउने झिँगाको समस्यालाई केवल एक किसानले मात्र नियन्त्रण गर्न सक्दैनन् । यसका लागि समग्र गाउँ वा टोल मिलेर काम गर्नु पर्छ । किराको वयस्क अवस्थालाई अनुगमन तथा व्यवस्थापन गर्न एउटै बगैँचामा मात्र पासो राखियो भने छेउछाउँका खेतबारी/बगैँचाबाट त्यहाँ झिँगा आउन सक्छन् । त्यसै गरी खेतबारी/बगैँचामा औँसा किरा सङ्क्रमित भई झरेका फलहरूबाट किराको लार्भा/औँसा अवस्थालाई प्युपा/अचल अवस्थामा जान नदिन सरसफाइ गर्ने कार्य कुनै पनि स्थानको एक मात्र कृषकले आफ्नो मात्र खेतबारी/बगैँचामा गरेर किराको समूह व्यवस्थापन हुन सक्दैन । यसका लागि सो क्षेत्रका सबै कृषक मात्र नभएर फलफूल तथा फल तरकारी व्यापार गर्ने व्यापारी साथै उपभोक्ता सबैले किराको लार्भा अवस्थालाई प्युपा अवस्थामा जान नदिन सजगता अपनाउनु पर्छ । यो समस्याको सामना गर्न सबै सरोकारवालाको सजगता, नियमित अनुगमन तथा निगरानी, सरसफाइ साथै वैज्ञानिक उपायको प्रयोग गर्नु पर्छ । अहिलेको समयमा हामीसँग प्रविधि, अनुसन्धान र व्यावहारिक ज्ञानको कमी छैन, आवश्यकता छ त केवल जागरुकता, अनुसरण र समन्वय ।
औँसा किराको नियन्त्रण र व्यवस्थापनका लागि सङ्क्रमण हुनुपूर्व र सङ्क्रमण भइसकेपश्चात्को अवस्थामा विविध उपाय अपनाउनु अत्यावश्यक हुन्छ, जसले यस घातक किराको सङ्ख्यामा उल्लेखनीय न्यूनीकरण गर्न मद्दत पु¥याउँछ । यसका लागि सबैभन्दा आधारभूत र महत्वपूर्ण उपाय भनेको औँसा किरा सङ्क्रमित झरेका फलको नियमित सरसफाइ हो । हरेक दिन खेतबारी/बगैँचामाबाट यस्ता फलहरू सङ्कलन गरी कम्तीमा तिस सेन्टिमिटर गहिराइको खाडलमा गाड्नु पर्छ । पोखरीमा डुबाउनु पर्छ, वा प्लास्टिकको झोलामा राखी कस्सिएर बाँधेर, झिँगाको लार्भा (औँसा) प्युपा चरणमा पुग्न नपाउने बनाउनु पर्छ । यस्ता फललाई वायोग्यास उत्पादनका लागि पनि प्रयोग गर्न सकिन्छ, जसले किराको नियन्त्रणसँगै जैविक ऊर्जा उत्पादनमा योगदान पु¥याउँछ । औँसा किरा सङ्व्रmमित फललाई खाडलमा राख्दै जाने र त्यहाँ कीटनाशक विषादी प्रयोग गर्दा किरा नष्ट हुने हुन्छन् । त्यस्ता खाडल गैरलक्षित जनावरको पहुँचबाट सुरक्षित राख्न वरिपरि बार लगाई जालीले छेक्नु आवश्यक हुन्छ । फलको उत्पादन समाप्त भएपछि खाडललाई माटोले छोप्दा माटोमा बोटबिरुवालाई आवश्यक खाद्य तत्व (मलखाद) को उपलब्धतासमेत हुन्छ । औँसा किराले प्युपा अवस्थामा माटोभित्र बस्ने भएकाले, खेतीपछिको खनजोत गर्दा माटोभित्र रहेका लार्भा र प्युपा नष्ट हुन्छन् । यस्ता खनजोतले आउने वर्ष/मौसममा औँसा किरा सङ्क्रमण न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
झिँगाको सङ्ख्यात्मक नियन्त्रणका लागि प्रयोग गरिने भाले झिँगा किरा आकर्षित गरी मार्ने ‘मेल एनिहिलेसन टेक्निक’ अन्तर्गत मिथाइल युजेनोल वा क्युल्युर जस्ता पारा–फेरोमोन युक्त पाँसो प्रयोग गरी विशेष गरी भाले झिँगालाई आकर्षित गरिन्छ र नष्ट गरिन्छ । यसले प्रजनन चक्र नै तोड्न मद्दत गर्छ । अर्को महत्वपूर्ण उपायमा प्रोटिन बेट विधि पर्छ, जस अन्तर्गत प्रोटिन हाइड्रोलाइसेट र न्यून मात्रामा विषादी (जस्तै एबामेक्टिन ०.१ प्रतिशत) मिसाई चारो तयार पारिन्छ र यसलाई फलफूलका बोटहरूमा, विशेष गरी पातमुनि हप्तामा एक पटक छर्नु पर्छ । यो विधिबाट प्रोटिन चारो छर्दा पातको मुनिपट्टि ०.५ देखि १ वर्ग मिटर क्षेत्रफलमा स्पोट विधिबाट प्रयोग गर्नु पर्छ । यसले गर्दा प्रयोग गरेको प्रोटिन बेट घामले पगालिँदैन साथै पानीले पखालिँदैन । प्रोटिन बेट लेतो हुन्छ र एक भाग प्रोटिन बेटमा दुई भाग पानी मिसाउनु पर्छ । यस किसिमको प्रयोग झिँगाले फुल पार्न थाल्ने समयमा सुन्तलाजात फलफूलको ‘चाइनिज सिट्रस फ्लाई’ को हकमा वयस्क झिँगा निस्किएको करिब दशदेखि १५ दिनपछिबाट सुरु गरिन्छ साथै ख्याल गर्नुपर्ने कुरा के छ भने ‘चाइनिज सिट्रस फ्लाई’ को पोथी झिँगाले सुन्तलाजात फलफूलको आकार गुच्चादेखि सानो कागती आकारको हुँदा हरियो अवस्थामा फुल पार्छ । प्रोटिन बेटको प्रयोग र सरसफाइका उपायहरू एक बगैँचास्तरमा मात्र होइन, सामुदायिक तहमा एकै पटक लागु गर्दा अझ प्रभावकारी देखिएको छ, विशेषतः सुन्तलाजात फलफूलमा देखिने ‘चाइनिज सिट्रस फ्लाई’ व्यवस्थापनका लागि क्षेत्रगत नियन्त्रण कार्यक्रम ।
फल कुहाउने झिँगाको व्यवस्थापनका लागि बाली तथा बगैँचाको समुचित व्यवस्थापन अभ्यास आवश्यक छ । नियमित काँटछाँट, मलजल, उचित सिँचाइ व्यवस्थापन आदि जरुरी हुन्छ । किराको फैलावट रोक्न क्वारेन्टाइन उपाय पनि अत्यावश्यक हुन्छ । सङ्क्रमित फलहरू एक स्थानबाट अर्को स्थानमा लैजानु हुँदैन, तथा किरारहित क्षेत्रहरूमा सङ्क्रमित फलको ढुवानी कडाइका साथ रोक्नु पर्छ । यसका लागि कृषक, व्यापारी, र सर्वसाधारण उपभोक्ताले पनि सचेत रहन आवश्यक छ । फल लागेपछि, फूलको पात (पुष्पदल) झरेपछि, पत्रिकाको कागज वा मैनले लेप गरिएको कागजबाट झोला जस्तो बनाएर फललाई बेरिदिने (ब्यागिङ) विधिबाट पनि झिँगाको सङ्क्रमण रोक्न सकिन्छ । वयस्क झिँगा किराहरूलाई फलमा अन्डा पार्नबाट रोक्न जैविक विषादी, जस्तै निमको तेल वा एजाडिराक्टिनमा आधारित उत्पादनहरू प्रतिलिटर पानीमा तीनदेखि पाँच मिलि मिसाएर प्रयोग गर्न सकिन्छ ।
अन्ततः किराको अत्यधिक सङ्क्रमण भएका अवस्थामा रासायनिक विषादीहरूको प्रयोग गर्नु सकिन्छ । सिफारिस मात्रामा कीटनाशक विषादी ‘डाइमेथोएट’ वा ‘एबामेक्टिन’ प्रत्येक १५ दिनको अन्तरालमा स्प्रे गर्दा झिँगाको वयस्क अवस्थालाई नियन्त्रण गर्न सकिने उल्लिखित छ । माटोमा रहेका प्युपाहरूलाई नष्ट गर्न ५० देखि ६० किलो निमको पिना वा २० किलो मालाथियन पाँच प्रतिशत धुलो प्रति हेक्टरको दरले माटोमा छर्न सकिन्छ तर मालाथियन प्रयोग गरेपछि कम्तीमा दुई हप्ता कुखुरा वा अन्य जनावरलाई बगैँचामा चराउन दिनु हुँदैन । यसरी विभिन्न जैविक, यान्त्रिक, रासायनिक र सामुदायिक उपायको समुचित संयोजनबाट मात्र औँसा किराको दिगो व्यवस्थापन सम्भव हुन्छ । फलफूल तथा फलजन्य तरकारी बालीहरूको फल कुहाउने औँसा किराको वयस्क झिँगा अनुगमन तथा व्यवस्थापनका लागि खासगरी फलफूल बालीका लागि ‘मिथायल युजेनल’ र फल तरकारी बालीका लागि ‘क्यु–ल्युर’ को पारा–फेरोमोन (मोहिनी) पासोको प्रयोग गर्न सकिन्छ ।
झिँगा किराको व्यवस्थापनका लागि यो किराको प्रजाति अनुसार आनीबानी र जीवन चक्रको पद्धतिमा ख्याल गरी व्यवस्थापनका विधि एकीकृत एवं सामूहिक रूपमा अवलम्बन गर्नु पर्छ । किराको वयस्क अवस्था झिँगा उडेर एक स्थानबाट अर्को स्थानमा सजिलै पुग्न सक्ने र औँसा किरा सङ्क्रमित फलको ओसारपसार/बजारीकरणले किराको फैलावटमा सहयोग पु¥याइरहेको हुन्छ । किरा व्यवस्थापनका लागि उत्पादक कृषक, व्यापारी साथै उपभोक्ता वर्ग सजग भई किराको व्यवस्थापनमा लाग्नु पर्ने जरुरी छ । यसरी यो झिँगा किरा जस्तै बालीनालीमा आइपर्ने अन्य शत्रुजीव व्यवस्थापनका लागि हाम्रो नेपाल जस्तो देशको ससाना, छरिएका खेती स्थलमा उपलब्ध र सम्भव हुने विधि एकीकृत एवं सामूहिक रूपमा अपनाउनु सान्दर्भिक हुन्छ ।