• १४ वैशाख २०८१, शुक्रबार

विवाहको सिजनमा शृङ्गार

blog

काठमाडौँ, माघ १२ गते । माघ महिना विवाहको सिजनमा सुन्दर र व्यक्तित्वमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेकअप (शृङ्गार) अनिवार्य हुनुपर्छ। ब्युटिपार्लर जान सबै समर्थ हुँदैनन्। हामीले घरमै बसेर पनि पार्लरको जस्तै मेकअप गर्न सकिन्छ। मेकअप अनुहार, हाइट, शारीरिक बनावटका आधारमा गरिन्छ। घरमै मेकअप गर्नका लागि शृङ्गारका सामान जुटाउनुपर्छ, जुन बजारमा सजिलै उपलब्ध हुन्छ। 

मेकअपका लागि चाहिने साम्रगीमा क्लिनजर, सनब्लक, मोइस्राइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आइलाइनर, गाजल, मस्कारा, आइस्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आइल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपिस्टिक, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी आदि–इत्यादि चाहिन्छ। 

व्यक्तिले कस्तो मेकअप गर्ने हो, ध्यानमा राख्नुपर्छ। जस्तो लाइट, नेचुरल गर्दा राम्रो देखिन्छ तर इङ्गेजमेन्ट र स्वयम्बरमा भने हेभी मेकअप गर्दा राम्रो हुन्छ। जसमा लुगाको रङसँग मिल्दोजुल्दोखालको मेकअप गर्नुपर्छ। केहीले परम्परागत रूपमा मेकअप गर्छन् भने कसैले अहिलेको फेसनअनुसार गर्छन्। मेकअप चार किसिमबाट गर्न सकिन्छ। साधारण, कलर प्यालेट, पाउडर र स्प्रे गरेर। तर घरमा भने साधारण गर्नुपर्छ। सर्वप्रथम मेकअपका लागि क्लिनजरले आफ्नो अनुहारलाई सफा गर्नुपर्छ, त्यसपछि मोइस्राइजर र सनब्लक प्रयोग गर्नुपर्छ। वाटर प्रुफ मेकअप पनि गर्न सकिन्छ। यो बजारमा सजिलै उपलब्ध हुन्छ। यो पछि क्रमिक रूपमा प्राइमर, कन्सिलर लगाउनुपर्छ। 

ब्रल्सर (रोज, रुज) प्रयोग गर्नुपर्छ, ब्रल्सर प्रयोग गर्दा लुगाको रङसँग मिल्ने गर्नेगरी गर्नुपर्छ। जस्तै, रातो साडी छ भने रातो ब्रल्सर अथवा बैजनी (पिङ्क) साडी छ भने पिङ्क ब्रल्सर। यसले फेस (अनुहार)को कट पनि दिने भएकाले यो प्रयोग गर्नुपर्छ। स्ट्रेट लाइनमा गएर हल्का माथितिर फैलाउने, जसले लामो अनुहारलाई ब्यालेन्समा राख्छ। त्यस्तै गोलो वा चारपाटे अनुहार छ भने यु आकार (सेप) दिँदा राम्रो हुन्छ। 

ब्रल्सर प्रयोग सकिएपछि आँखाको मेकअप गर्नुपर्छ। आँखाले नै ‘अट्र्याक्टिभ लुक’ दिने भएकाले पहिरन र कलर सेड मिलाउनुपर्छ। अनुहारलाई कस्तो देखाउने  यसमा आइब्रोको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले अनुहारलाई ब्यालेन्समा राख्ने काम गर्छ। आँखाको बनावट राम्रो देखाउन कलर सेडको ठूलो भूमिका हुन्छ भने सिमर र ग्रिटरले झन् राम्रो देखाउँछ। आँखा ठूलो भएको वा राम्रो देखाउन लाइट कलरको स्याडो वा लाइट ब्राउन प्रयोग गर्ने र पातलो गरी लाइनर लगाउनुपर्छ। लाइट कलरले आँखाको लिडलाई हल्का बाहिर ल्याउँछ भने डार्कले भित्र पठाउँछ। 

सानो आँखा भएमा डार्क कलर प्रयोग गर्ने र बाक्लो लाइनर लगाउनुपर्छ। साधारण आँखाका लागि जुनसुकै कलर पनि राम्रो देखिन्छ तर सकेट्ट लाइन बनाएर, ब्राउन, ब्लु कलरको पनि प्रयोग गर्न सकिन्छ। त्यसैगरी लामो आँखामा लामो लाइनर राख्नुहुँदैन तर छोटो आँखालाई लामो लाइनर राख्नुपर्छ। आँखाको परेला सानो छ भने फल्स ल्यासेस पनि राख्न सकिन्छ। 

लिपिस्टिक लगाउँदा लुगाको कलर र ओठको सेपअनुसार प्रयोग गर्नुपर्छ। लिपब्रस प्रयोगले लिपिस्टिक लगाउँदा राम्रो देखिनुका साथै सजिलो पनि हुन्छ। यदि ओठको माथिको भाग पातलो र तल मोटो छ भने लाइनरबाट साइज मिलाउनुपर्छ। सानो ओठ छ भने आउटलाइन बढाउने तर ठूलो छ भने आउटलाइन पातलो गरी लगाउनुपर्छ। लिपिस्टिक र लाइनरको कलर उस्तै हुनुपर्छ। हामीले अनुहारको मेकअप गरिसकेपछि धाँटी, कान र हातलाई छोड्नुहुँदैन। यसमा पनि फाउन्डेसन प्रयोग गर्नुपर्छ। त्यसपछि मेकअप स्प्रेले छर्किनुपर्छ। जसले गर्दा लामो समयसम्म टिकिरहन्छ। नाकको सेप राम्रो देखाउन हाइलाइट र स्याडो दिनुपर्ने हुन्छ, लामो र उठेको नाकलाई नोज लाइनमा डार्क स्याडो कलर दिने। छोटो र चेप्टोलाई हाइलाइट, लाइट कलर दिने। 

(सौन्दर्यविज्ञ मञ्जु कार्की पाण्डेसँगको कुराकानीमा आधारित।)