• ८ वैशाख २०८१, शनिबार

पूर्वाधार पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, माघ ११ गते । काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइए पनि अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । 

२०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको मेथिनकोट अस्पताल २०६६ फागुन ५ गते १५ शय्या हुँदै आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकार मातहत आएको थियो । 

प्रदेश सरकारले अस्पताललाई आफू मातहत ल्याएर ५० शय्यााको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरे पनि पर्याप्त भौतिक पूर्वाधार नहुँदा सेवा प्रदान गर्न समस्या भएको अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तमराज सेढाईंले भन्नुभयो, “प्रादेशिक अस्पतालमा स्तरोन्नतिसहित विशेषज्ञ चिकित्सकको व्यवस्था गरिए पनि अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।” 

उहाँले भन्नुभयो, “अस्पताल सञ्चालनका साथै स्वास्थ्यकर्मी कर्मचारी बस्ने आवास भवन नहुँदा धेरै समस्या भएको थियो, केही दिनअघि मात्रै अस्पताल व्यवस्थापन समितिले आवासका लागि भाडाको घरमा आवासको व्यवस्था गरेको छ ।” 

अस्पतालका लागि पाँच शय्याको डायलासिस मेसिन प्राप्त हुने चरणमा रहेकाले भौतिक पूर्वाधार नभएका कारण डायलासिस मेसिन राख्नका लागि समस्या देखिएपछि नगरपालिकालाई भवन व्यवस्था गरिदिन आग्रह गरिएको छ । 

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएमा शव राख्नका लागि शवगृहसमेत नहुँदा शवलाई तुरुन्त धुलिखेल तथा बनेपा पठाउनुपर्ने बाध्यता रहेको छ । प्रदेश सरकारले अस्पताल भवन निर्माणका लागि चालू आर्थिक वर्षका लागि तीन करोड रुपियाँ विनियोजन गरेको र भवन निर्माणका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । 

“अस्पताल भवन निर्माणका लागि हालसम्म जग्गा प्राप्त गर्न सकेको छैनौँ, नगरपालिकाले करिब २७ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेकाले उक्त जग्गालाई चाँडोभन्दा चाँडो अस्पतालको नाममा ल्याउन सिफारिस गरिदिन जिल्ला प्रशासन र नगरपालिकालाई आग्रह गरेका छौँ,” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले भन्नुभयो । 

उहाँले प्रादेशिक अस्पताल भएसँगै सेवा प्रवाह, कर्मचारी र उपकरणमा प्रगति भएको बताउँदै हाल अस्पताल रहेको स्थानमा भवन निर्माण गर्ने जग्गा नभएका कारण भएकै भवनमा प्रिफ्याबको भवन बनाएर सेवा प्रदान गर्दै आएको बताउनुभयो । ५० शय्याको अस्पताल भए पनि हाल अस्पतालमा ३१ शय्या सञ्चालनमा रहेको छ । 

प्रदेश सरकारका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले मेथिनकोट अस्पतालको भवन निर्माणका लागि प्रदेश सरकारले यस वर्ष तीन करोड रुपियाँ बजेट विनियोजन गरेकाले छिटोभन्दा छिटो जग्गा व्यवस्था गरेर अस्पताल निर्माण सुरु गर्न आग्रह गर्नुभयो । 

उहाँले यस वर्ष भवन निर्माण सुरु भएको खण्डमा आगामी दुई÷तीन वर्षमा भवन निर्माणको काम सम्पन्न भई सेवा प्रवाहमा सहजता आउने बताउनुभयो । मेथिनकोट अस्पतालमा हाल ६३ जना जनशक्ति रहेको छ । अस्पतालबाट जनरल मेडिसिन, ओपीडी, डेन्टल, भिडियो एक्स–रेलगायतका सेवा उपलब्ध हुँदै आएको छ । मेथिनकोट अस्पतालको स्तरोन्नति भएपछि पूर्वी पहाडी तथा पूर्वी तराईका जिल्लामा जाने बीपी राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेले समयमा नै उपचार सेवा पाएका छन् ।