लमजुङ समाचारदाता
लमजुङ, असोज २९ गते । सुरक्षाका कारण कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएका लमजुङका १०८ कैदीबन्दीमध्ये जेनजी समूहको आन्दोलनका क्रममा भागेका २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् ।
गत साउनमा लमजुङ जिल्ला कारागार भत्किएपछि यहाँका १०८ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । फरार हुनेमा कास्की कारागारबाट २६ जना र तनहुँ कारागारबाट तीन जना रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । आन्दोलनका क्रममा कारागारबाट फरार भएकामध्ये ४२ जनालाई लमजुङ प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको थियो ।
लमजुङ कारागारको पर्खाल भत्केपछि तनहुँमा ३० जना र कास्कीमा ७८ जना कैदीबन्दी स्थानान्तरण गरिएको थियो । कास्की र तनहुँको कारागारबाट आन्दोलनको फाइदा उठाउँदै उनीहरू भागेका थिए । फरार रहेका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेसम बोहोराले बताउनुभयो ।
“फरार कैदीबन्दीको खोजी भइरहेको छ,” प्रहरी प्रमुख बोहोराले भन्नुभयो, “उनीहरूको घर र आफन्तकहाँ निगरानी गरिरहेका छौँ ।” यसअघि पक्राउ परेकामध्ये अधिकांश घरमा र आफन्तकहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएका थिए । कतिपय भने आफैँ कारागारको सम्पर्कमा पुगेको बोहोराले बताउनुभयो ।
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको मुख्य गेटनजिकैको पर्खाल भत्किएको थियो । कारागार मर्मत हुन नसक्दा तनहुँ र कास्की कारागारमा स्थानान्तरण गरिएका कैदीबन्दी अझै लमजुङ फर्काउन नसकिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो । जिल्ला कारागार असुरक्षित भएकाले केन्द्रीय कारागार विभागको निर्देशन अनुसार कैदीबन्दीलाई अझै पनि तनहुँ र कास्की कारागारमा राखिएको छ ।