• २९ असोज २०८२, बुधबार

मधेशमा नयाँ सत्ता समीकरण

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशमा सत्ता समीकरण फेरिँदै जाँदा दुई जना नेताले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएकाे छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का जितेन्द्र सोनार दुवैले आ–आफ्नो पक्षबाट सरकार गठनको दाबी बुधबार प्रदेश प्रमुखसमक्ष बुझाएका हुन् ।

बुधबार कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीको समर्थनमा यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको हो । यस गठबन्धनमा ५८ सांसदको समर्थन रहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।

त्यसैदिन लोसपा, जनता समाजवादी पार्टी (जसपा,) जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एस०) सहितका पाँच दलले जितेन्द्र सोनारलाई मुख्यमन्त्री बनाउन संयुक्त दाबी पेश गरेका थिए । उक्त गठबन्धनको समर्थन सङ्ख्या ५४ छ ।

जनमत पार्टीको भूमिकालाई यस राजनीतिक समीकरणमा निर्णायक मानिएको छ । पार्टीले कहिले लोसपालाई त कहिले कांग्रेस पक्षलाई समर्थन जनाउँदै आएकोले दुवै गठबन्धनमा त्यसको समर्थन निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ ।

मधेश प्रदेश सभामा सहभागी दस दलका १०७ जना प्रदेश सभासदस्यहरु छन् । एमालेको २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमतको १३, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको नौ-नौ जना छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक जना छन्।