गोरखापत्र अनलाइन
ललितपुर, असोज २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको सुरुमै राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो ।
एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो ।
“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।” अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गर्नुभयो । केन्द्रीय कमिटी बैठकमा अहिले अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले पार्टीको ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्नुपर्ने प्रस्ताव पनि राख्नुभएको छ ।
केन्द्रीय कमिटी बैठकमा सो प्रस्तावबारे ठोस निर्णय हुनेछ । बैठक असोज ३१ गतेसम्म सञ्चालन हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो।