• २९ असोज २०८२, बुधबार

नौ वर्षपछि बन्यो दुधखोला पुल

blog

नासोँ गाउँपालिकाको थोँचे र तिल्चे जोड्ने गरी दुधखोलामाथि बनेको पक्की पुल ।

मनाङ समाचारदाता

मनाङ, असोज २९ गते । मनाङको नासोँ गाउँपालिका–६ र ७ जोड्ने दुधखोलामा नौ वर्षपछि पक्की पुल निर्माण भएर सञ्चालनमा आएको छ । नासोँ गाउँपालिकाको थोँचे र तिल्चे जाने दुधखोलामाथि पक्की पुल बन्दा स्थानीयको आवागमन सहज भएको छ ।

पालिका तथा वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राही र विशेष गरी बिरामी भएर स्वास्थ्य चौकीसम्म जाने र विद्यालयका बालबालिकालाई पुलले ठुलो राहत दिएको हो । सो पुल निर्माण गर्न २०७३ असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र दी क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेका थिए । २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा ३० प्रतिशत हाराहारी मात्र काम सकाएर बेपत्ता भएका ठेकेदार नौ वर्षपछि सम्पर्कमा आएर पुल निर्माण सम्पन्न भएको छ ।

साबिक जिल्ला विकास समितिले चार करोड एक लाख रुपियाँमा बोलपत्र आह्वान गरेकामा उक्त कम्पनीले पटक पटक म्याद थप गर्दा पनि पुल निर्माण गरेको थिएन । सङ्घीयता लागु भएपछि पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको थियो । सम्झौता अनुसारको मितिमा पुल नबनेपछि २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप भयो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रो पटक म्याद थप भएको थियो । त्यसपछि म्याद थप नभएको र ठेकेदारले दुईतिर पिल्लर मात्र ठड्याएर करिब दुई करोड रुपियाँ निकासा लगिसकेको थियो । अन्तिम पटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले गत असारमा पुल बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही अनुसार लगातार काम गर्दा यही असार मसान्तभित्र पुल निर्माण सकेको र दसैँलगत्तै सञ्चालनमा आएको थकालीले बताउनुभयो ।

पुल निर्माण भएपछि नासोँ गाउँपालिकाका विद्यार्थीले जोखिम मोलेर फड्के तर्ने बाध्यताबाट मुक्ति पाएका छन् । पुल निर्माण भएपछि नासोँ–५ मा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत करिब तीन सय विद्यार्थीलाई राहत भएको छ । विद्यार्थीलाई मात्रै नभएर वडा नं. ६ थोचे र वडा नं. ७ तिल्चेका स्थानीयलाई सुविधा पुगेको छ । नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले दुधखोलामाथि बनेको पुलले समग्र मनाङी तथा पर्यटक र स्थानीयलाई राहत मिलेको बताउनुभयो । उहाँले दसैँलगत्तै पुल सञ्चालनमा आएको बताउनुभयो । 

प्रकाश ज्योति माविकी विद्यार्थी सुस्मिता गुरुङले दुधखोलामा बनेको पुल सञ्चालनले आफूहरूलाई राहत भएको बताउनुभएको छ । यहाँ सुस्मिता जस्तै सयौँ विद्यार्थीलाई पुल सञ्चालनले राहत मिलेको छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले काङ्ला पास जाने पर्यटकलाई समेत सुविधा पुगेको छ ।