काठमाडौँ, असोज २९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गोरखापत्र संस्थानबिच चार करोड ६० लाखको अनुदान सम्झौता भएको छ।
बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा समावेशी लेख रचना प्रकाशनतर्फ चार करोड ५० लाख र पुराना प्रकाशनको अर्काइभिङ्गका लागि १० लाख गरेर चार करोड ६० लाखको अनुदान सम्झौता भएको हो। गोरखापत्रले ४५ वटा राष्ट्रिय भाषामा ‘नयाँ नेपाल’ पृष्ठ अन्तर्गत हरेक दिन समाचार सामग्री प्रकाशन गर्दै आएको छ।
यसैगरी १२५ वर्ष पुरानो गोरखापत्रको इतिहासलाई डिजिटलाइजेसन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
अनुदान सम्झौता पत्रमा संस्थानका तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरी र मन्त्रालयका तर्फबाट उपसचिव रामकृष्ण अर्यालले हस्ताक्षर गर्नुभएको छ।
सम्झौतामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७, मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली २०७८, अर्थ मन्त्रालयको बजेट मार्गदर्शनलगायत निर्धारित कार्यविधि, मापदण्ड बमोजिम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा संस्थानका प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल, योजना विभागका निमित्त निर्देशक ताराबहादुर बस्याल, योजना शाखाका प्रमुख राम शाह, मन्त्रालयका शाखा अधिकृत नविन पोखरेल र लेखा अधिकृत प्रकाश आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।