• २८ असोज २०८२, मङ्गलबार

अमेरिकी व्यापार युद्धमा ‘अन्त्यसम्म लड्ने’ चीनको चेतावनी

blog

बेइजिङ, असोज २८ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णय गत हप्तामा बेइजिङले दुर्लभ पृथ्वी (खनिज) तत्वको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा आएको हो । ती तत्वमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ, जसले उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने बताइन्छ । ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमार्फत नोभेम्बर १ देखि ‘कुनै पनि र सबै महत्वपूर्ण सफ्टवेयर’ निर्यातमा पनि नियन्त्रण लागू गरिने घोषणा गर्नु भएको छ । 

यस पछिल्लो कदमले अन्तर्राष्ट्रिय बजारमा ठूलो हलचल ल्याएको छ र दक्षिण कोरियामा हुने भनिएको राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको सम्भावित बैठकमाथिसमेत प्रश्न उठाएको छ । “भन्सार शुल्क युद्ध र व्यापार युद्धका विषयमा चीनको नीति अडिग छ । यदि तपाईं लड्न चाहनुहुन्छ भने, हामी अन्त्यसम्म लड्ने छौँ; तर यदि वार्ता गर्न चाहनुहुन्छ भने, हाम्रो ढोका सधैँ खुला रहने छ”, चीनको वाणिज्य मन्त्रालयका एक अज्ञात प्रवक्ताले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भने, “संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्धात्मक कदम चाल्दै एकैसाथ वार्ता खोज्नु चीनसँग संलग्न हुने उचित तरिका होइन ।”

यसैबिच राष्ट्रपति ट्रम्पले आइतबारको अर्को पोस्टमा चीनलाई ‘मद्दत गर्ने इच्छा’ रहेको बताउँदै ‘सबै ठीक हुनेछ’ भनेर आफ्नो केही आक्रामक टिप्पणी फिर्ता लिएको देखिन्छ । सोमबार प्रकाशित चीनका भर्खरका आधिकारिक तथ्याङ्कअनुसार अमेरिकी कर वृद्धिका बाबजुद सेप्टेम्बर महिनामा चीनको निर्यात लचिलो देखिएको छ । गत महिनाको निर्यात वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको छ । यो मार्चपछिको सबैभन्दा तीव्र वृद्धि हो र पूर्वानुमानभन्दा धेरै माथि पुगेको हो ।

संयुक्त राज्य अमेरिकातर्फ चीनको निर्यात ३४ अर्ब ३० करोड डलरमा पुगेको छ । यसले विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमा चिनियाँ सामानको माग अझै बलियो छ भन्ने देखाउँछ । हाल ट्रम्प प्रशासनले चिनियाँ वस्तुमा लगाएको करका कारण ती सामानले कम्तीमा ३० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेका छन् । चीनले यसको प्रत्युत्तरमा १० प्रतिशतको भन्सार शुल्क लगाएको छ ।

यस विषयले अहिले वासिङ्टनमा भइरहेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकको अर्धवार्षिक बैठकमा पनि व्यापक ध्यान आकर्षित गरेको छ । ट्रम्पको करनीति र व्यापार आक्रमणको विश्वव्यापी प्रभावबारे छलफल तीव्र बनेको छ । यद्यपि ह्वाइट हाउसले दीर्घकालीन रूपमा यी भन्सार शुल्कले अमेरिकाको अर्थतन्त्रलाई लाभदायक बनाउने दाबी गर्दै आएको छ । अधिकारीले अहिले देखिएको तुलनात्मक रूपमा सीमित आर्थिक प्रभावलाई उदाहरण दिँदै आफ्नो नीतिको समर्थन गरेका छन् । रासस/एएफपी