• १६ चैत २०८०, शुक्रबार

नेपाली चलचित्रको खस्कदो बजार

blog

काठमाडौं, माघ ६ गते। केही महिना अघि नेपाली चलचित्र तुलनात्मक रुपमा सफल भएका थिए। तर अहिले फेरि नेपाली चलचित्रको अवस्था पुरानै ढर्रामा फर्किने क्रममा छ। केही चलचित्रलाई आफ्नो लगानी जोगाई राख्न खासै गाह्रो भएन भने केहीलाई लगानी उठाउन हम्मेहम्मे नै पर्यो। रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ सिरिज अर्थात् ‘कबड्डी-४’, ‘द फाइनल म्याच’ दर्शकको मनमा केही हदसम्म बस्न सफल भयो। 

यसपछि बक्सअफिसमा केही चलचित्रले राम्रो व्यापार गर्न थाले। सन्तोष सेनको ‘प्रेम गीत-३’, दीपेन्द्र लामाको ‘दुई नम्बरी’, दीपेन्द्र के खनालको ‘के घर के डेरा’, ‘चिसो मान्छे’, ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ ले भने आफ्नो लगानी सुरक्षित गरेका छन्। त्यस्तै प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ ले पनि बक्स अफिसमा धेरै नै राम्रो ग्रस कलेक्सन गरेको छ। यी केही चलचित्रले गर्दा केही महिना नेपाली चलचित्र धान्न सकिने अवस्थामा थिए। 

चल्ने चलचित्रका चलचित्र नायक-नायिका नै निर्माताको पहिलो रोजाइमा पर्छन्। चलचित्रमा उनीहरुलाई राखे चलचित्र हिट हुने विश्वास धेरै निर्माता, निर्देशकमा हुन्छ। कतिपय कलाकारको अभिनय राम्रो भए पनि चलचित्रको कथा उत्कृष्ट नहुँदा ठूला लगानीका चलचित्रहरु खासै चल्न सकेनन्। आर्यन सिक्देलको कमब्याक चलचित्र ‘डिसेम्बर फल्स’ माथि धेरैको आशा थियो। तर चलचित्रले खासै दर्शक तान्न सकेन। धेरैले कलाकार आर्यनको अभिनयले गर्दा चलचित्र चल्ने अपेक्षा गरेका थिए। 

हरर जानरामा बनेको चलचित्र ‘चि मुसी चि’ प्रर्दशन त भयो तर चलचित्र हेर्ने दर्शकका उपस्थिति सिनेमाघरमा हेर्दा विजोग नै देखिन्थ्यो।  नाम चलेका कलाकार प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्रले दर्शकको मन जित्न सकेन। कतिपय सिनेमाहलमा त चलचित्रलाई दुई दिन मात्र प्रदर्शन गरिएको थियो। भद्दा किसिमको कथा रहेको यस चलचित्रका कलाकारले आफनो चलचित्र चलाउन अनेकन फण्डा अपनाए। तर उनीहरुको फण्डालाई दर्शकले विश्वास गरेनन्। 

चलचित्र ‘दोख’, ‘पानी फोटो’, राधा’, ‘प्रकाश’, लगायतका चलचित्र भने औसत रुपमा चले र समीक्षकबाट राम्रो प्रशंसा बटुल्न सफल भए। त्यस्तै चलचित्र ‘मिलन’, ‘हिजो आजका कुरा’, ‘लक्का जवान’, ‘पासो’ ‘डेसान’, ‘सोल अफ द कमाण्डो’, ‘मिलन’, लगाएतका चलचित्र भने कहिले आए कहिले गए दर्शकले पत्तै पाएनन्। 

पुस २९ गते प्रदर्शनमा आएका चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ को पनि अहिले हालत छ। यी दुबै चलचित्र प्रचार गरे अनुसारको दर्शक पाउन सकेनन्। दुबै चलचित्रको कथा फरक भएपनि दर्शकले भने यसमा खासै रुची देखाएनन्। 

माघ २० गते प्रदर्शन हुने जितु नेपाल र साम्राज्ञी शाहको ‘ह्यारी कि प्यारी’, फागुन ५ गते प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’, हेमराज बिसी निर्देशित तथा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा-४’ या निगम श्रेष्ठ निर्देशित ‘छड्के-२’ ले हल संचालकलाई राहतको श्वास फेर्ने मौका देला ? त्यसका लागि भने कुर्नुपर्ने हुन्छ।