• १३ असोज २०८१, आइतबार

समृद्धिको बाटोमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल

blog

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन 

काठमाडौं, पुस २५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ ।  साथै उहाँले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले महँगी, कालाबजारी, कृत्रिम अभावदेखि युवाहरू बेरोजगारीको चक्रमा पर्ने लगायत देशको सिङ्गो अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको पनि बताउनुभएको छ ।

“पाँच वर्षको कार्यकालमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा र नेपालीको स्वाभिमानलाई माथि उठाउनुपर्नेछ । समावेशिताको नीतिलाई व्यवहारमा राम्ररी कार्यान्वयन गर्नुपर्नेछ । समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेछ”, अध्यक्ष नेपालले भन्नुभयो ।

प्रतिनिधि सभा सांसद एवम् समाजवादी अध्यक्ष नेपालले भन्नुभयो, “नेपालको राजनीतिको भनौँ या सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, अनियमितता, चरम ढिलासुस्ती, जिम्मेवारीको अभाव, अराजकताको समस्या छ । माननीय सदस्यहरूको जुन कुराहरूमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ, त्यस कुरामा सधैँ सजग बनाइरहनुहुने आशा र अपेक्षा गरेको छु ।”

देशमा राजनीतिक स्थायित्वका लागि विगतको अनुभवबाट शिक्षा ग्रहण गरेर वर्तमान सरकार संविधानको पालना गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

यो पनि पढ्नुहोस

संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : नेता यादव

जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली