• १३ असोज २०८१, आइतबार

संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : नेता यादव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादवले सङ्घीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र समावेशीलाई संस्थागत गरेर कार्यान्वयन गर्नु अहिलेको संसद्को जिम्मेवारी भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट सम्बोधन गर्नुहुँदै संसदीय दलका नेता यादवले सो कुरा बताउनुभएको हो । संविधान जारी भएको सात वर्ष भइसक्दा पनि संविधानमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनुभयो । प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकिएको उहाँले बताउनुभयो । 

प्रदेशलाई कमजोर बनाउने काम भइरहेको टिप्पणी गर्नुहुँदै नेता यादवले केन्द्रीकृत शासनलाई फर्काउने सोच धेरैमा पलाइरहेको आरोप लगाउनुभयो । वर्तमान सरकारले ती प्रतिबद्धताहरू पूरा गरोस् भन्ने उहाँले आग्रह गर्नुभयो । 

सङ्घीयताको मूल मर्म र मान्यता अनुरूप प्रदेश सरकारको एक जना कर्मचारी र प्रहरी प्रदेश सरकारको मातहत नरहेको बताउँदै संसदीय दलका नेता यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । अधिकांश नेपाली नागरिक अनागरिक भएर बस्न बाध्य भएको चर्चा गर्दै नेता यादवले नेपाली नागरिकका सन्तानले जन्मसिद्ध अधिकार प्राप्त गर्नुपर्ने बताउनुभयो । नागरिकता विधेयक पारित गरेर अनागरिकलाई नागरिकलाई नेपाली नागरिक बनाउनमा ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो ।