• १३ असोज २०८१, आइतबार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : सभापति देउवा

blog

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा,रासस

गोरखापत्र अनलाइन 

काठमाडौं, पुस २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेकाले आवश्यक नीति र कानुन बनाउनुपर्ने पनि बताउनुभयो ।

उहाँले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । यसका लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छ ।’’

‘‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरूपको आवश्यक नीति कानुन बनाउनपर्छ । लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’’ पूर्व प्रधानमन्त्री देउवाले संसद्लाई सम्बोधन गर्दै भन्नुभयो ।

नेता देउवाले आगामी पाँच वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता पनि जनाउनु भयो । उहाँले नेपाली कांग्रेसले जनताको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यो पनि पढ्नुहोस

जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली

प्रतिनिधि सभाको पहिलो बैठक जारी

नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिनु हुँदै नेता देउवाले भन्नुभयो, ‘‘माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।’’