• ६ वैशाख २०८१, बिहिबार

बौद्धिक क्षमता विकासका लागि 'राष्ट्रिय बाल नाटक महोत्सव'

blog

काठमाडौं, पुस १८ गते । शैली थिएटरले १४ औँ राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्ने भएको छ । नाट्य क्षेत्रमार्फत बालबालिकाको विकास, लुकेका प्रतिभा उजागर गर्न, बौद्धिक क्षमताको विकास गर्ने, सानैदेखि नेपालको कला संस्कृतिसँग बालबालिकालाई जोड्न थिएटरले १३ वर्षदेखि राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको हो ।

थिएटर संयोजक सविन न्यौपानेका अनुसार महोत्सवमा सहभागिता जनाउन प्रतियोगी र अप्रतियोगी दुई किसिमले सहभागी हुन सक्नेछन् । नाटक एकल वा समूहमा देखाउने सकिने तर नाटक बालबालिकासँग सम्बन्धित हुनुपर्नेछ ।

एउटा नाटक वा समूहमा पर्दा अगाडि र पछाडि गरी बढीमा १५ जना समूहको सहभागी हुन पाइनेछ । यस्तै, महोत्सवमा जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने र नाटक कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्ने संयोजक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार शैली थिएटर स्थापना भएको एक वर्षको अवसरमा पहिलो बाल नाटक महोत्सव गरिएको थियो । र चौथो राष्ट्रिय बाल नाटक महोत्सवदेखि राष्ट्रिय स्तरमा हुँदै आएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्ष अर्थात् १२ र १३ औँ राष्ट्रिय बाल महोत्सव भर्चुअल माध्यमबाट गरिएको थियो । यसपालि भने भौतिक उपस्थितिमै महोत्सव गरिने थिएटरले जनाएको छ । 

शैलीको छनोट समितिले अन्तिम मितिसम्म प्राप्त भएका नाटकका आलेखहरू प्रतियोगी र अप्रतियोगी गरी दुई भागमा विभाजन गरेर पाँचदेखि दश दिन भित्र सार्वजनिक गर्नेछ । यसका साथै नाटकका मञ्चनका लागि आवश्यक मञ्च, उपकरण र आयोजकसँग उपलब्ध नाट्य सामग्रीहरू निःशुल्क उपलब्ध गराउने भएको छ ।

नाटक महोत्सवमा सहभागिता जनाउनका लागि भौतिक रूपमा शैली थिएटर तथा शैलीको आधिकारिक इमेलमा वा अनलाइन माध्यमबाट नाटकको आलेख पठाउन सकिने बताइएको छ । पुस १० देखि २५ गतेसम्म नाटकको आलेख बुझाउनु पर्नेछ । 

यसपालिको नाटक महोत्सवमा वाल्मीकि, बालबालिकाले कोरेका चित्रकलालाई पनि समावेश गराइनेछ । 

महोत्सव समापनसँगै उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता (महिला, पुरुष), उत्कृष्ट निर्देशक, प्रोत्साहन, पब्लिक च्वाँइस, अनुशासित नाटक गरी ७ वटा विधामा सम्मानपत्रसहित क्रमशः १०, ७ र ५ हजार रुपियाँ नगद प्रदान गरिनेछ।