• ४ वैशाख २०८१, मङ्गलबार

बेजोड छायाङ्कन ‘अवतार–द वे अफ वाटर’

blog

काठमाडौँ, पुस २ गते । निर्देशक जेम्स क्यामरुनले आफ्ना चलचित्रहमा अद्भुत शैलीको वर्णन गर्दै अनौठो कथाको सिर्जना गर्नुभएको कुरालाई हत्तपत्त कसैले पनि चलचित्र यस्तै बन्छ भनेर अनुमान गर्न सक्दैन। चलचित्र ‘अवतार–द वे अफ वाटर’ एउटा यस्तो चलचित्र हो, जसले तपाईंको आँखा एक पटक अवश्य नै रसाउँछ। निर्देशक क्यामरुनले १३ वर्षअघि आफ्नै चलचित्र ‘अवतार’मार्फत पन्डोराको अनुपम संसारलाई फेरि चलचित्रको अर्को सिक्वेललाई फरक ढङ्गले देखाउने प्रयत्न गर्नुभएको छ तर यस पटकको चलचित्रभित्र पानीमुनि युद्ध लडेको दृश्य देखाइएको छ, जुन एकदमै फरक ढङ्गको छ।

चलचित्रको हरेक दृश्यलाई यति सुन्दरताका साथ सिर्जना गरिएको छ कि दर्शक अवश्य नै चलचित्रबाट प्रफुल्लित बन्नुहुनेछ। दर्शकको दिमागमा यो अवश्य आउँछ कि निर्देशक जेम्सले फेरि एक पटक सोचेका, लेखेका र पन्डोरा भन्ने संसारलाई वास्तविकतामा कसरी ल्याएका थिए।

चलचित्रको नामबाटै थाहा हुन्छ कि चलचित्रको कथा पानीको बीचमा र पानीमुनि छायाङ्कन गरिएको छ। यद्यपि यहाँ धेरै हलिउड चलचित्र छन् जसमा यस्ता दृश्य नभएका भने होइनन् तर यो चलचित्र भने केही भिन्न छ। चलचित्रभित्र देखाइएको अन्डरवाटर र सबै एक्सन सिक्वेन्स गजबका छन्, जसलाई पर्दामा निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।

चलचित्रमा पान्डोरामा बस्ने विद्रोहीको कथामा मानवीय भावनालाई पनि धेरै महत्वका साथ प्रस्तुत गरिएको छ। यदि हेर्ने हो भने पूरै चलचित्र ज्याक सुली र उहाँको परिवारको वरिपरि घुम्छ, जसलाई निर्देशक क्यामरुनले धेरै जोसका साथ वर्णन गर्नुभएको छ।

१३ वर्षपछि प्रदर्शनमा आएको चलचित्र ‘अवतार’को सिक्वेल ‘अवतार–द वे अफ वाटर’ अद्भुत कल्पनाशक्ति र आधुनिक प्रविधिको यस्तो सुन्दर सङ्गम हो कि यसलाई सिनेमाको ठूलो पर्दामा र सम्भव भएसम्म हेर्नैपर्ने हुन्छ। त्यो पनि थ्रीडी ढाँचामा। तीन घण्टा लामो यस चलचित्रले कतिपय ठाउँमा निराशाको अनुभूति पनि गराउँछ। समग्रमा भन्ने हो भने यो चलचित्र निर्देशक क्यामरुनको यस्तो सिनेम्याटिक उपलब्धि हो जुन लामो समयसम्म स्मरणीय रहनेछ।

अघिल्लो चलचित्रको अन्त्यमा ज्याकको अवतार उनको मौलिक मानव शरीरबाट अलग हुन्छ र उहाँ पान्डोराका बासिन्दा अर्थात् नाभीको संसारको हिस्सा बन्नुहुन्छ। ज्याकले नेतिरिकासँग विवाह गर्नुभएको हुन्छ र उहाँको परिवारमा चार सदस्य हुन्छन्। अर्कोतर्फ पृथ्वी अब मानव बसोबासका लागि उपयुक्त छैन र मानव बस्ती स्थापना गर्न सक्ने ग्रहको खोजी भइरहेको छ। ज्याक र उहाँकी प्रेमिका नेतिरिकाको परिवारलाई कर्नल माइल्सका रूपमा धम्की दिइन्छ जुन अघिल्लो चलचित्रमा मरेको हुन सक्छ तर पनि उहाँहरूको सम्झना र डीएनएबाट उहाँहरूको पुनर्जन्म भएको चलचित्रमा देखिन्छ।